संघीयताको गलत फाईदा उठाउँदै स्थानीय तहमा सहकारीहरु हस्तान्तरण गरिएसँगै सहकारी क्षेत्रमा भित्रिएको विकृति प्रकट हुन थालेका छन् । सहकारीहरु पारिवारीक रुपमा कम्पनीका आधारमा संचालन गर्ने, बचतकर्ताहरु प्रलोभनमा परेर धेरै ब्याज प्राप्त हुने सहकारीमा रकम सुम्पने र सहकारी संचालकहरुले अनुत्पादक क्षेत्रमा लगानी गरी आयआर्जन भन्दा पनि वित्तिय मन्दीका कारण डुब्ने स्थितिमा पुगे पछि बचतकर्ताहरु संकटमा परेका छन् । सहकारीका नाममा ठगी गर्ने गिरोहलाई कारवाही हुन नसक्दा त्यस्तो मनोवृत्ति र संस्कृति मौलाएको छ । सहकारी नियमन गर्ने विभाग, मन्त्रालय, स्थानीय तहलाई थप अधिकार नहुँदा प्रहरी प्रशासन समेत निरिह देखिएको छ ।
पछिल्लो समय जिल्लाका १७ वटा सहकारी संकटमा देखिएका छन् । जसमा आवद्ध हजारौ सदस्यहरु विचल्लीमा परेका छन् । केहि सहकारीका सदस्यहरु आत्महत्या उन्मुख भएका छन् । मानसिक समस्यामा परेका छन् । जीवनभर कमाएको, जीवनभर कमाउँदा पनि तिर्न नसक्ने अवस्थाको ऋण समेत बोकाएर फरार भएका सहकारीका कर्मचारी र संचालकहरुलाई कारवाही हुन नसक्दा अपराध गर्ने मनसाय भएकाहरु उल्टो मुद्दा बोकेर अदालत पुगेका छन् । बचतकर्ताहरु पनि विचल्लीमा भएको अवस्थामा न्यायका लागि धाउँदा न्याय पाउन सकेका छैनन् । पछिल्लो समय जिल्लामा तीनवटा केन्द्र राखेर कारोवार गरिरहेका पुण्यश्वर सहकारीका ब्यवस्थापक कुमार गौतम फरार भएका छन् । उनले हजारांै बचतकर्ताको रकम हिनामिना गरेका छन् । उल्टो उनकै बाबु अध्यक्ष भएर गरिएको कारोवार समेत नभएको भन्दै अदालतमा बचतकर्ता माथी मुद्दा दर्ता गरेका छन् । सहकारी भित्र फैलिएको र मौलाएको यस्तो विकृत अपराधलाई कुनै निकायले कारवाही गरिरहेका छैनन् ।
विनायक, अखण्ड, मालश्री, पुण्यश्वर, द्रौपदा, सत्कार, एशियन स्टार, स्वर्णिम सहकारीका संचालक भागिसकेका छन् । मुकुल, युनिटी लगायतका सहकारी संकटग्रस्त छन् । विभागमा जिल्लामा रहेका १७ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको उजुरी दर्ता भएको छ । बनेपाको मुटु जस्तै मध्यभागको केन्द्र चारदोबाटो वडा नम्वर ७ मा भब्य डेकोरेसन सहित कार्यालय राखिएको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ बर्षिय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर चार महिना देखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम सम्पर्क विहिन छन् । उनका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानिआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुबै संस्थाको लेखापालका रुपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाई प्रदिप गौतम ऋण संयोजक छन् । भाई बुहारी गंगा श्रेष्ठ गौतम र भाई उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोहि सहकारीको रकमबाट अष्ट्रेलिया पठाईएको छ । द्रौपदा सहकारीको करिव ५ करोड रकम अपचलन भएको छ । संचालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवी गौतमको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । कुमार र डम्बर लगायतका ब्यक्तिहरुलाई कारवाही नहूँदासम्म सहकारीमा बचत गर्ने बचतकर्ताहरुका लागि न्याय हुँदैन । अन्य सहकारी पनि त्यस्तै हुन कि ? भन्ने आशंका उत्पन्न हुन सक्छ । अझै पनि सामुहिकतामा आधारित भएर संचालन भएका सहकारीमा समस्या छैन । त्यसैले अभियान जोगाउन त्यस्ता ब्यक्तिहरुलाई कारावही गर्नु आवश्यक छ ।





