2026 April 17/ 04:36: 53am

प्रहरीले समाजमा विभिन्न माध्यमबाट अशान्ति फैलाउने समूह तथा ब्यक्तिहरुलाई अनुसन्धानमा सहज हुने गरी अभद्र ब्यवहार सम्वन्धी मुद्दा दर्ता गर्ने गरेको छ । देशभरका प्रहरी कार्यालयले दर्ता गरेको मुद्दामा प्रहरी कार्यालय मार्फत जिल्ला न्यायाधिबक्ताको कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने र प्रमुख जिल्ला अधिकारीले आदेश र अनुसन्धान पछि फैसला गर्ने अधिकार छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले समुदायमा उच्छृंखल गतिविधि गरेको अभियोगमा तह लगाउने वा नियन्त्रणमा लिने सहज माध्यम भनेकै अभद्र ब्यवहार हो । काभ्रेपलाञ्चोक जिल्लामा पनि अभद्र ब्यवहार सम्बन्धी मुद्दा वर्षेनी बढिरहेका छन् । दर्ता धेरै भए पनि फैसला गर्ने क्रम भने न्यून छ । जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भए पनि फैसलाको संख्या कम देखिन्छ । 
    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अन्तर्गत प्रहरीले मुद्दा दर्ता गर्दछ । घटनामा संलग्न अभियुक्तलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ (२) बमोजिम कैद वा जरिवाना तथा दुबै सजाय हुन सक्छ । अधिकांश मुद्दामा प्रमुख जिल्ला अधिकारीले जरिवाना तोक्ने गरी धरौटीमा छाड्ने गरेका छन् । घटना अनुसार अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (१) र (२) वमोजिमको क्षतिपूर्ती समेत उपलब्ध गराउन पर्ने भए पनि अधिकांश मुद्दामा त्यस्तो हुँदैन । उपदफा ३ वमोजिम प्रतिवादीवाट क्षतिपूर्ति भराई उपदफा ५ बमोजिम पीडित राहत कोषमा जम्मा गर्ने घटना अनुसार फरक फरक हुन सक्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ (१) मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने व्यवस्था रहेको छ । विशेषगरी यो घटनामा संलग्नलाई प्रहरीले सहज हुने गरी अभद्र ब्यवहारमा मुद्दा दर्ता गर्ने गरेको छ । 
    काभ्रेपलाञ्चोक जिल्लामा अभद्र ब्यवहार सम्वन्धी मुद्दामा ३० महिनामा १ सय ३६ घटना दर्ता हुँदा १ सय ७० जना पक्राउ परेका छन् । ५ जना अझै फरार छन् । महाभारत गाउँपालिकाको एउटा पनि घटना दर्ता भएन । सबैभन्दा धेरै बनेपामा ३० वटा अभद्र ब्यवहारका घटना दर्ता भएका छन् । विकट क्षेत्रका फाईदा र बेफाईदा दुबै छन् । महाभारतमा आत्महत्या गर्नेहरुको संख्या पनि छैन । विकटका असुविधा धेरै छन् । तर मानव सुचकांकमा यस्ता तथ्याङ्कहरुले फरक पार्ने स्वभाविक छ । जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ अर्थात २०७७ साउन १ गते देखि २०७९ असार मसान्तसम्मको ३० महिनामा जिल्लामा १ सय ३६ वटा अभद्र ब्यवहार सम्वन्धी मुद्दा दर्ता भएका छन् । जसमा १ सय ७० जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ९ जना महिला छन् । ५ जना अझै फरार छन् । जिल्लाका १३ पालिका मध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकामा ३० वटा अभद्र ब्यवहार सम्वन्धी घटना दर्ता भएका छन् । समाजमा विभिन्न घटना मार्फत अराजकता फैलाउने, शान्ति सुब्यव्वस्था खल्बल्याउने समुह तथा ब्यक्तिलाई राज्यले अभद्र ब्यवहारमा जाहेरी लिएर मुद्दा दर्ता गर्ने गर्दछ । न्यूनतम २४ दिनसम्म हिरासतमा राखेर धरौटी अर्थात साधारण तारेखमा छाड्न सकिने उक्त मुद्दा प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउँछ । जिल्लामा यस्ता मुद्दाहरुको चाङ बढिरहेको छ । यसलाई कम गराउँदै समाजमा शान्ति स्थापनार्थ सबै पक्षको योजना बन्न आवश्यक छ ।