2026 April 17/ 04:36: 53am

    त्रिभुवन विश्वविद्यालयले लामो समय पछि आफ्ना आंगिक क्याम्पसहरुमा विद्यार्थीहरुको साझा संगठन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउँदै छ । २०७९ चैत्र ५ गते हुने निर्वाचनका लागि विद्यार्थी संगठनहरुले आन्तरिक तयारी गरे पनि विद्यार्थीमा उत्साह भने छैन । विद्यार्थीहरुको हक हितका लागि क्याम्पसमा निर्वाचित हुने विद्यार्थी नेताहरु दल विशेषका भातृ संगठन हुन भएकाले उनिहरुले आफु निकटका विद्यार्थीहरुको पक्षमा मात्रै वकालत गर्ने गरेका कारण विद्यार्थी संगठनहरु प्रतिको विश्वास कमजोर हुँदै गएको छ । नेपालका क्याम्पसमा विद्यार्थीहरु अध्ययन गर्ने भन्दा पनि विदेशका क्याम्पसहरुमा जाने विद्यार्थीहरुको संख्या बढ्न थालेको छ । आजकाल क्याम्पसका कक्षा कोठामा हुनु पर्ने विद्यार्थीहरु कन्सल्टेन्सीमा भाषा सिकेरहेका हुन्छन् । नेपालमा अध्ययन गरेर भन्दा नेपालबाट अध्ययन गर्न बाहिर जानेहरुको संख्या बढ्दा पनि नेपालका राजनीतिक दल, विद्यार्थी संगठन र सरकार मुकदर्शक बनिरहेको छ । 
    काभ्रेपलाञ्चोक जिल्लामा विद्यार्थी संगठनहरु पराजयको डरले निर्वाचनको प्रतिस्पर्धामा समेत जान चाहेनन् । विशेषगरी सत्ता निकट दलका संगठनहरु नेपाल विद्यार्थी संघ र नेकपा एकिकृत समाजबादी निकट अनेरास्ववियुले जिल्लाका विभिन्न क्याम्पसमा लगाएको तालाका कारण उम्मेदवारी दर्ताको कार्यक्रम नै प्रभावित बनेको छ । जसका कारण हिजोसम्म उम्मेदवारी दर्ता हुन सकेको छैन । चैत्र ५ गते हुने निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने, उम्मेदवार विरुद्ध दावी विरोध गर्ने लगायतका कार्यहरु गर्न सकेका छैनन । नेपाल विद्यार्थी संगठन देशभर दुईवटा छ । काभ्रेमा पनि दुई जना सभापति छन् । आफु निकट उम्मेदवार उठाउने भएकाले नेविसंघको विवादका कारण काभ्रे बहुमुखी क्याम्पस प्रशासनले राजनीति गर्दै शुरुमा नै निर्वाचन समितिलाई राजिनामा दिन लगायो । शुरुमा आफै फर्जि विद्यार्थी भर्ना गरेर नेविसंघलाई जिताउने प्रपञ्च थाहा पाएर अन्य संगठनहरुले तालाबन्दी गरे । त्यसका बारेमा क्याम्पस प्रशासन छानविन गर्न तयार छैन र देखिएन । त्यहि कारण देखाउँदै नेविसंघले विभिन्न क्याम्पसमा लगाएको ताला अझै खुलाएको छैन । अखिल क्रान्तिकारीले प्रभा क्याम्पसमा प्रहरी र कर्मचारी नै भित्र राखेर लगाएको ताला अझै खुलेको छैन । यद्यपी प्रहरी र कर्मचारीलाई भने पछि निकालेर ताला लगाईएको छ । 
    अनेरास्वयिुले बनेपाको चैतन्यमा लगाएको ताला खोलेको छ । तर पनि निर्वाचनको कार्यक्रम सार्वजनिक हुन सकेको छैन । एकातिर क्याम्पस प्रशासन आफै स्ववियु निर्वाचन गराउन चाहँदैन भने अर्कोतिर विद्यार्थी संगठनहरु आफै निर्वाचन चाहिरहेका छैनन । भित्र भित्रै तयारी गरेर बाहिर ताला लगाउने योजनामा रहेका संगठनहरुको विवाद आन्तरिक हो । आन्तरिक विवाद मिलाउन नसक्दा काभ्रेमा स्ववियु निर्वाचन अनिश्चित बनिरहेको छ । राजनीतिक दल र प्रशासनले पनि स्ववियु निर्वाचन गराउने भन्दा टार्ने तर्फ केन्द्रित गरेर छलफल र बैठकहरु आयोजना गरेका छन् । विद्यार्थी हकहितका लागि यस अघि भएका थुप्रै निर्णयको कार्यान्वयन सम्भव भएको छैन । एमाले निकट विद्यार्थी संगठनले शुरु गरेको आन्दोलनबाट विद्यार्थीहरुले सार्वजनिक सवारी साधनमा ४० प्रतिशत छुट पाउने गरेका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतको ऋण प्राप्त गरेका छन् तर प्रभावकारी हुन सकेको छैन । युवाहरु +२ का प्रमाणपत्र बोकेर विदेश पठाउन कन्सल्टेन्सीमा धाईरहेका छन् । विद्यार्थी नेताहरु क्याम्पसमा नियमित अध्ययन गर्न आउने वातावरण बनाउन तथा नेपालमै विद्यार्थीहरुलाई रोकेर आत्मनिर्भर बनाउने आन्दोलनबाट विस्तारै स्खलित हुन थालेका छन् । विद्यार्थीहरु जो भविश्यका कर्णधार हुन् उनिहरु नै विदेशिन थाले पछि नेपालमा बस्ने चाँहि को हो ? क्षमतावान बाहिरिने, मजदुर बाहिरिने ? अनि मुलुकमा बस्ने को ? मुलुकको विकास कसले किन र कसका लागि गर्ने ? यस्ता तमाम प्रश्नका घेरा भित्र विद्यार्थी संगठनहरु र क्याम्पसमा हुने स्ववियु निर्वाचनको एजेण्डा बन्नु पर्छ ।