2026 April 17/ 04:37: 15am

    देशभर नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान शुरु गरेको छ । पार्टी सुदृढिकरण तथा बिस्तारका लागि ‘मिसन ग्रासरुट’ महत्वपूर्ण मानिएको छ । भत्कँदै गएको एमाले भित्रको अनुशासन, भर्भराउँदो संगठन, लोभलाग्दा कार्यकर्तालाई पहिलाकै लयमा फर्काउन एमालेले देशभर तालिका, जिम्मेवारी र परिणाम सहित ल्याउने गरी अभियान शुरु गरेको छ । काभ्रेका १३ वटै पालिकामा शुरु भएको अभियानमा अझै नेताहरु सुविधाभोगी देखिएका छन् । पार्टीले दिएको जिम्मेवारीलाई सामान्य र हल्का रुपले लिएर कार्यकर्ताहरु माझ एमाले नेताहरु जान सकेका छैनन् । टोल टोलमा पुगेर एमालेले अभियान शुरु गरिरहँदा कमजोरी र सुधार्नु पर्ने क्षेत्रका बारेमा टिपोट गरेको छ । अभियानबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने हो भने आगामी दिनमा एमालेलाई जित्न अन्य दललाई हम्मेहम्मे पर्नेछ । 
    अहिले पनि समानुपातिक मतका हिसाबले एमाले नेपालको पहिलो दल हो । सिटका हिसाबले एमाले दोश्रो छ । सबै दल एकातिर हुँदा समेत एमालेले आफुलाई पहिलो दलका रुपमा स्थापित गर्न सफल भयो । एमालेलाई धुजा धुजा बनाएको बेला, एमाले विरुद्ध देश भित्र र बाहिर शक्ति सक्रिय भएका बेला एमालेले प्राप्त गरेको जनमत लोभलाग्दो छ । यसलाई अझै बढाउन र अन्य दलका सामु उत्कृष्ट बन्न एमालेका कार्यकर्ता अनुशासित हुनु पर्छ । आत्मनिर्भर हुनु पर्छ । सबैका सामु वाहु एमाले नेता कायकर्ता भन्ने बन्नु पर्छ । त्यसका लागि पनि एमालेको यो अभियान सफल हुनु पर्छ । तालिका बोकेर एमाले काभ्रे आफ्नो हैसियत खोज्न टोल टोलमा पुगेको छ । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह र मसिंरमा सम्पन्न प्रदेश तथा संघीय निर्वाचनमा एमाले विरुद्ध बनेको मोर्चाका कारण अपेक्षित सफलता हासिल गर्न सकेन । २०७४ सालमा एमाले र अन्य दल एक्ला एक्लै प्रतिस्पर्धा गर्दा एमाले जनप्रतिनिधि निर्वाचितका हिसाबले पहिलो पार्टी थियो । अहिले पनि समानुपातिक मतका आधारमा एमाले पहिलो पार्टी हो तर पनि स्थानीय तहका जनप्रतिनिधि र नेतृत्वका हिसाबले एमाले जिल्लामा दोश्रो पार्टी भएको छ । 
    अभियानबाट पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभुत तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्याङ्क, उनीहरुको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभूत तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त हुनेछ । पार्टीको आधारभतू पंक्ति पार्टीका आधारभतू सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित हुनेछन् । स्थानीय तहमा उत्पन्न हुन सक्ने या भएका अन्तर विरोधको पहिचान र तिनको समाधानका ठोस विकल्पबारे सिफारिस गर्नेछन् । पार्टी कमिटी र जनप्रतिनिधिहरुबीचको सम्बन्धबारे वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हासिल हुनेछ । स्थानीय तहका जनप्रतिनिधिहरुको भमिूका थप प्रभावकारी हुनेछ । पार्टी संभावनायुक्त नयाँ पुस्ताको पहिचान हुनेछ । पार्टीलाई जनसरोकारका विषय लगायत समाजका विभिन्न क्षेत्रका रचनात्मक सझावहरु हासिल हुनेछन । नेता र कार्यकर्ताबीच एवं पार्टी र जनताबीचको सम्बन्ध थप घनिष्ट हुनेछ । अभियान पश्चात पार्टीको प्रभाव विस्तार हुनेछ । पार्टी अनुशासित र एकताबद्ध हुनेछ र पार्टीको सङ्गठनात्मक अवस्था सदृढ हुनेछ । तयार गरिएका कार्यक्रमित योजनाहरुलाई पालिका, वडा र टोल कमिटीका बैठकहरु मार्फत प्रभावकारीरुपमा कार्यान्वयन गर्न जिल्ला कमिटीको बैठकले निर्देश गरेको छ । अभियान संचालन भईरहँदा देशभर एमालेमय वातावरण बनेको छ ।