2026 April 17/ 04:36: 53am

२०७९ मंसिर २७ गते काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका वडा नम्वर ४ स्थित चलाल गणेस्थानमा रिजर्भ गएको बस फर्कने क्रममा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको तथा २२ जना घाईते भएको घटनाको निश्कर्ष छानविन समितिले चालकको चरम लार्पवाहि रहेको पुष्टि गरेको छ । जिल्लाका विभिन्न स्थानमा हुने यस्ता घटनामा अधिकांश स्थानमा चालकको लार्पवाहि पहिलो कारण बन्न पुगेको छ भने कच्ची तथा अब्यवस्थित सडक, पुराना सवारी साधन र यात्रुहरुको दवाब थप कारण बन्न पुगेको छ । चालक विश्वासिलो हुन नसक्दा, चालकले बस तथा सडकका बारेमा पुर्ण जानकारी पाउन नसक्दा ठुलो जनधनको क्षति हुने गरेको छ । कोशिपारीको विर्तादेउरालीमा भएको बस दुर्घटना होस् वा बेथान्चोक गाउँपालिकामा भएको बस दुर्घटनामा चालक नै दोषि भएको पुष्टि भएको छ । चालकको हतारोपना, रिसाउने प्रवृत्ति र यात्रुहरु प्रति कम संवेदनशिल हुँदा स्वंय आफै पनि मृत्युवरण गर्नु परेको दुखद तथ्याङ्क छ । 
    बेथान्चोक घटनाको तथ्यगत निश्कर्ष सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको टोलीले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई बुझाएको छ । ढिलो गरी प्रतिवेदन बुझाएको समितिले दिएको सुझावलाई कार्यान्वयनमा ध्यान दिन सकियो भने केहि हदसम्म दुर्घटना न्यूनिकरण गर्न सम्भव छ । बस मात्रै होईन अन्य सवारी साधन चलाउँदा पनि चालकले ध्यान नदिएको र बेवास्ता गरेका कारण दुर्घटना हुने गरेको छ । समितिले घटनामा संलग्न विभिन्न पक्षहरुसँग लिएको बयानका आधारमा फर्कनु पर्ने समयमा यात्रुहरु नफर्की ढिला भएका कारण चालकले गन्तब्यमा पुग्नका लागि तिब्र गतिमा सवारी चलाउँदा ओरालो घुमाउरो सडक खण्डमा सवारी नियन्त्रण गर्न नसकी दुर्घटना भएको निश्र्कष छ । दुर्घटना भएको बसको यान्त्रिक परिक्षण गर्दा बसको पछाडीको दाँया तर्फको टायर रिसोलिङ गरिएको र बाँकीको रिसोलिङ नगरिएको फेला परेको छ । तिब्र गति र चालकको लार्पवाही दुर्घटनाको मुख्य कारण हो । समितिले आगामी दिनमा थप दुर्घटना हुन नदिन ८ बुँदे सुझाव दिएको छ ।  दुर्घटना भएको बसका चालकले बस चलाउने अनुमति पाएको केहि महिना मात्रै भएको थियो । सार्वजनिक सवारी साधन चलाउनका लागि ब्यवसायीक चालक अनुमति पत्र प्राप्त गरेको ब्यक्तिलाई मात्र सवारी साधन चलाउन दिनु पर्ने समितिको निश्कर्ष छ । ३० सिटे बसको चालक अनुमति पत्र लिएर २२÷२४ चक्के सवारी साधन समेत चलाउने गरेकाले चालक अनुमति पत्र वितरणमा विशेष ध्यान दिन समितिले सुझाव दिएको छ । 
    सवारी साधनको पुर्ण ज्ञान नहुँदै जिम्मेवारी लिएर सवारी चलाउँदा थप दुर्घटना हुने गरेको निश्कर्ष छ । ग्रामिण सडकमा सवारी चलाउँदा लार्पवाही धेरै हुने गरेकाले क्षमता भन्दा धेरै यात्रु राख्ने, तिब्र गतिमा सवारी चलाउने क्रम निरुत्साहित गर्न ट्राफिक प्रहरी र यातायात ब्यवसायी तथा स्वंय यात्रु पनि सचेत रहन आवश्यक छ । यान्त्रिक परिक्षण तथा टाईम कार्ड लागु गर्ने गरी सवारी साधन चलाउन सकिएको अवस्थामा दुर्घटना न्यूनिकरणमा सुधार आउन सक्छ कि ? दुर्घटनाका लागि धेरै जिम्मेवार बस ब्यवसायीहरु, बसका मालिकहरु र स्वयं यात्रुहरु पनि हुन् । यात्रुहरुको प्रेसरका कारण चालकलाई पर्न गएको दबाब बेथान्चोक घटनाको उदाहरण हो । तसर्थ दुर्घटना न्यूनिकरण गर्न सबै पक्ष चनाखो र सजग हुन आवश्यक छ ।