2026 April 17/ 04:36: 53am

    काभ्रेपलाञ्चोक जिल्लामा मात्रै नभई देशभर लैङ्गिक हिंसा तथा महिला हिंसाका घटनामा बृद्धि भएको छ । घटनामा मात्रै होईन घटना भए पछि उजुरी गर्ने क्रममा पनि बृद्धि भएको छ । उजुरी र कारवाही बढेसँगै समाजमा अपराधका घटनामा बृद्धि भएको पुष्टि हुन्छ । घटनामा आफन्त र छिमेकीको संलग्नताका कारण जर्बजस्ती करणी, शरीर बन्धक लिई जर्बजस्ती करणी, बाल यौन दुब्र्यबहार, जर्बजस्ती करणी उद्योग, हाडनाता करणी सम्बन्धी मुद्दा थपिएका छन् । चालु वर्षको मंसिर मसान्तसम्ममा ३३ वटा घटना अदालतमा दर्ता भएका छन् । दर्ता भएका घटनाका आफन्तहरुको बयान र पीडितहरुको चित्कारले समाज कता जाँदै छ ? नागरिकहरु को सँग सुरक्षित हुने प्रश्न जन्मेको छ । 
    निर्मला पन्त, भागिरथी लगायतका दर्जनौ बालबालिकाहरुको अपराधमा संलग्नहरु फरार छन् । घटनामा संलग्नहरुको पत्ता समेत लाग्न सकेको छैन । अझ बालबालिकाहरु विद्यालय र घरबाट नै असुरक्षित भए पछि अभिभावकहरु चिन्तित बन्न थालेका छन् । महाभारत गाउँपालिकाका वडा नम्बर ३ सिद्धेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देवीन्द्रकुमार विष्ट प्रतिनिधि पात्र हुन् । २०७८ फागुन १२ गते कक्षा चलिरहेको बेला शिक्षक विष्टले कक्षामा बालबालिकाहरुलाई मोबाईल मार्फत यौनजन्य अश्लील श्रब्यदृश्यहरु देखाएको अभियोगमा २७ जना छात्रछात्राहरुले प्रहरीलाई उजुरी गरेका थिए । कक्षा ८ मा अध्ययन गर्ने बालबालिकाहरुको उजुरीका आधारमा शिक्षक विष्ट पक्राउ परेका थिए । पक्राउ परेका शिक्षक विरुद्ध बाल यौन दुब्र्यबहार सम्बन्धी मुद्दा दर्ता भएको छ । ४२ बर्षिय शिक्षक विष्टको मुद्दा फैसला भएको छैन । बालबालिकाहरुका लागि बालमैत्री इजलाश निर्माण नहुँदा अर्काे समस्या देखिएको छ । 
    आफन्त र अभिभावकबाट असुरक्षित अर्काे क्षेत्र भनेको अपाङ्गता भएका महिलाहरु हुन् । ३९ बर्षिय माईला भन्ने इन्द्रबहादुर कामीले तेमाल ८ भोज्याङ्गबेशी घर भएकी बोल्न नसक्ने महिलालाई साँझको समय पारी घर जाँदै गरेकी जर्बजस्ती करणीको प्रयास गरेका थिए । महिला चिच्याउन सक्दिन थिईन तर उनले आफुलाई करणी गर्ने प्रयास गरेको ठानेर उसँग पौठाजोरी खेलिन् । केहि समयको रस्साकस्सी पछि उसले छाडने प्रयास त गरेन तर संयोग त्यो बाटो हुँदै केहि स्थानीय आएकाले महिलालाई छाडेर इन्द्रबहादुर फरार भए । २०७९ कार्तिक २ गते प्रहरीले जिल्ला अदालतमा अभियोग दर्ता ग¥यो । अहिले माईला पुर्पक्षका लागि कारागार चलान भएका छन् । केहि समयका लागि भए पनि महिलाले न्यायको राहत महसुस गरेकी छिन् । तर फेरी जेलबाट छुटेपछि उसका हर्कत कायम रहने हुन् कि ? चिन्तित छन् । यस्ता प्रतिनिधिमुलक घटनाले समाजमा अपराध र अपराधीहरुको दायरा फराकिलो हुँदै गएको प्रमाणित हुन्छ । अनुसन्धान, कारवाही र रोकथाममा हरेक नागरिक सचेत हुनु आवश्यक छ ।