2026 April 17/ 04:36: 53am

    निर्वाचन सकिएको एक महिना नपुग्दै नेपाली काँग्रेस काभ्रेले पार्टीबाट अन्र्तघात गर्नेहरु मध्ये केहि नेतालाई कारवाहीको सिफारिस गरेको छ । एमालेले पनि अन्र्तघात गर्नेहरुको खोजी गरिरहेको छ भने माओवादी र अन्य दल मौन छन् । काँग्रेस केन्द्रीय र महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई कारवाहीको सिफारिस गरेर तल्लो तहका कार्यकर्ताहरुलाई तसाउँदै छ । नाङ्गलो ठटाएर हात्ति तर्साउने काँग्रेसको जिल्ला तहको नेतृत्वलाई आम कार्यकर्ताहरुले भने गलत भनेका छन् । टुप्पाबाट पलाएका नेताहरुले जीवन नै काँग्रेसमा बिताउने सादगी नेताहरुलाई कारवाहीको सिफारिस गर्नु हास्यास्पद भएको टिप्पणी गरिएको छ । अझ कारवाहीको सिफारिस गर्दै गर्दा नेताहरुको तस्विरमा गरिएका अपमानजनक ब्यवहारले काँग्रेस भित्र झनै ठुलो संकट भित्रदै गरेको तथ्यहरु देखिएका छन् । 
    माओवादीले उम्मेदवारी दिएको दुईवटै क्षेत्र र समाजवादीको एउटा क्षेत्रमा बालबाल विजयी भए पछि अन्र्तघातको प्रश्न भित्रभित्रै उठे पनि सार्वजनिक हुन सकेको छैन । तर समाजवादीका नेताहरु आधाजसो एमालेमै फर्किएको र समाजवादीमै रहेर पनि एमालेका उम्मेदवारहरुलाई मतदान गरेको स्रूचना नेतृत्वलाई प्राप्त भए पनि कारवाही गर्ने र स्पस्टिकरण लिने सोचमा पार्टी छैन । कारण हो कारवाही चलाउँदा बाँकी कार्यकता लाखापाखा लागेर पार्टी नै सकिन्छ कि भन्ने डर ? अहिले काँग्रेसमा पनि अर्काे डर देखिएको छ । प्रमुख भनिएका केन्द्रीय सदस्यद्धयलाई कारवाही गरेर तल्लो तहका कार्यकर्ता तर्साउने रणनीति बनाएको छ । त्यो सफल नहुने नेताहरुले घोषणा गरिसकेका छन् । माओवादीमा पनि अर्काे रोग बल्झिएको छ । माओवादीकै नेताहरु माओवादीका उम्मेदवारहरुलाई हराउन लागिरहेको सूचना पनि पार्टीमा पुगेको छ । अहिले सबै दलहरु भित्र निर्वाचनको समिक्षा र नेताहरुको बद्ख्वाई शुरु भएको छ । एमाले उपाध्यक्ष समेत रहेका चन्द्र लामा तीन मतले पराजित भए । उनका क्षेत्रका एमाले कार्यकर्ताहरुले असहयोग गरेको, अन्य उम्मेदवारहरुलाई जिताउन भूमिका खेलेको भन्दै मौखिक उजुरी परेको छ । अर्का उम्मेदवार कुमार खकुरेल हराउन एमालेका नेता कार्यकर्ताहरु सक्रिय भएको आरोप लगाईएको छ । अहिले एमालेका गाउँ, नगर, वडा र क्षेत्रीय कमिटीहरुमा समीक्षा भईरहेको छ । 
    नेपाली काँग्रेसमा भने २०५१ साल देखि अन्र्तघातको रोग शुरु भएको थियो । नेकपा एमालेका उम्मेदवार केशव बडाललाई जिताउन भूमिका खेलेको आरोप लागेका तत्कालीन जिल्ला नेतृत्व अहिले आफैलाई अन्र्तघात गरे पछि कारवाहीको डण्डा चलाउँदै छ । पटक–पटक यस्ता खेल भएको काँग्रेस भित्रको कारवाही प्रकृया र अन्र्तघातको श्रृखंला भने नयाँ होईन । आगामी  निर्वाचन अघि नै सबै दल भित्रको विवाद, टिकट वितरणको प्रकृयामा गुटबन्दी कायम रहँदासम्म यस्ता घटना दोहोरिरहन्छन् । यस्ता विषयमा पार्टी भित्र कार्यकर्तामुखी ब्यवहार नहुँदासम्म हुने यस्ता घटना पार्टी भित्र सामान्य हुन थालेका छन् । अहिलेका सबै कारवाही र प्रकृया देखावटी मात्रै हुन् ।