लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ। जिल्ला समन्वय समितिको अगुवाईमा जिल्लालाई लैङ्गिक हिंसा विरुद्ध एकता गराउने उद्घोष गरिएको छ। काभ्रेपलाञ्चोक घोषणापत्र जारी गर्दै लैङ्गिक हिंसा न्यूनीकरण अभियानमा गरिएको प्रतिबद्धता कार्यान्वयनमा चासो र चनाखो हुनु जरुरी छ। हिंसा विरुद्ध १६ दिने अभियानमा हिंसा न्यूनीकरणका प्रयास, हिंसाका कारण, विगतका अनुभव र रोकथामका उपायका बारेमा छलफल, अन्तक्र्रिया, बहस तथा पैरवी भएका छन्। हरेक क्षेत्रले महिला हिंसा न्युनीकरणका लागि घर भित्रबाटै सचेतना जरुरी भएको निष्कर्ष निकालेका छन्। जिल्लाको तथ्यांकले महिला हिंसाको प्रमुख कारण घर भित्रका सदस्य, आफन्त, नातेदार तथा चिनेजानेको ब्यक्ति र कार्यक्षेत्रमा सँगै काम गरेका ब्यक्तिबाट हिंसा हुने गरेको छ। उजुरी, घटना विवरण तथा तथ्याङ्कले लैङ्गिक विभेदका घटनामा न्यूनीकरण भएका छैनन्। उजुरी गर्न आउने तथा ब्यक्ति खुल्ने क्रम बढेकाले पनि संख्या थपिएको हो।
काभ्रेपलाञ्चोक जिल्लामा २०७९ साउन देखि मंसिर १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएका १२ वटा जर्बजस्ती करणी सम्बन्धी घटनामा १२ जना बालिका आफन्तबाटै बलात्कृत भएका छन्। भदौ देखि मंसिरसम्म दर्ता भएका अधिकांश घटनामा ६ वर्ष देखि १६ वर्षसम्मका बालिका बलात्कृत भएका छन्। बलात्कृत मध्ये अधिकांश अपाङ्गता भएका छन्। कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरुलाई घर भित्रकै सदस्य र आफन्तले ललाई फकाई बलात्कृत गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २९ थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा ३० थियो। जर्बजस्ति करणी उद्योगमा चालु वर्षको ७ महिनामा २ वटा उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्ष ३ वटा जाहेरी दर्ता भएका थिए। न्यायिक समितिमा उजुरी लिएर गए पनि न्यायको महसुस नहुने भएकाले प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने क्रम बढेको हो। राजनीतिक दल प्रति आस्था राख्ने जनप्रतिनिधिहरुले दिने न्यायमा विश्वास गर्ने वातावरण भएको छैन। महिलाका समस्या लिएर न्यायिक समिमिता पुग्दा पुरुष नै पुरुष भएकाले भन्न नसकेर प्रहरीकोमा आएको महिलाहरुले बताएका छन्। प्रहरी कार्यालयमा दर्ता भएका मध्ये अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् भने केहि अदालतमा गएका छन्। अदालतमा गएका मध्ये अधिकांशको सम्बन्ध विच्छेद भएको छ। बहुविवाह, बाल विवाह, आत्महत्या दुरुत्साहन, मानव बेचबिखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, झुण्डिएर आत्महत्या, विष सेवन, बाल यौन दुराचार लगायतका घटनामा महिलाहरु पीडित भएका छन्। २०७७÷०७८ मा ३१ जना महिलाले झुण्डिएर र १८ जना विष सेवनबाट आत्महत्या गरेका थिए भने २०७८÷०७९ मा ४० जना झुण्डिएर र ६ जनाले विष सेवनबाट आत्महत्या गरेका थिए। सोहि वर्ष आत्महत्या दुरुत्साहनमा ५ वटा उजुरी दर्ता भएका थिए।
महिलाका कारण पुरुष र पुरुषका कारण महिला पीडित हुने क्रमलाई न्यूनीकरण गर्नू पर्छ। पछिल्लो समय बैदेशिक रोजगार, सामाजिक सञ्जालका कारण हिंसाका घटना धेरै हुन थालेका छन्। विकृति, विसंगति कम गर्दै हिंसाका घटना न्यूनकरण गरी असल समाज निर्माण गर्नु पर्छ।





