2026 April 17/ 02:48: 38am

    देशभर निर्वाचनको माहोल छ । मुलुक संचालनका लागि आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्दै समृद्ध मुलुक निर्माण गर्ने संकल्प बोकेका राजनीतिक दल तथा तिनै दलबाट प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार, स्वतन्त्र उम्मेदवारहरुको अग्नी परीक्षा मंसिर ४ गते मतदाताले गर्दैछन् । एकातिर मुलुकमा सशस्त्र युद्ध शुरु गरी १७ हजार नागरिकको ज्यान लिएको तत्कालिन नेकपा माओवादी र तिनै माओवादीका नेता तथा कार्यकर्ताको टाउकोको मुल्य तोक्ने नेकपा माओवादी, नेकपा एमालेबाट चोईटिएको एउटा समुह र मधेशवादी राजनीतिक दलहरुको गठवन्धन निर्वाचनमा प्रतिस्पर्धामा होमिएको छ भने अर्काेतिर नेकपा एमाले प्रतिस्पर्धामा छ । कतै कतै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको पनि प्रभाव देखिन्छ । अन्ततः प्रतिस्पर्धामा एमाले विरुद्ध ५ दलीय मोर्चाको गठबन्धन छ । नेकपा एमालेलाई २०७४ को निर्वाचनमा बहुमत नजिकै मत दिएका मतदाताहरुले यो पटक थप विश्वास दिदै बहुमत दिने एमालेको अपेक्षा छ भने गठबन्धन दलहरुमा एमालेलाई थोरै सिटमा खुम्च्याएर ५ वर्ष सत्ताको नेतृत्व गर्ने उत्कट चाहना छ । दुवै तर्फको चाहनामा मतदाता निर्णायक हुनेछन् । 
    एमालेले सरकार संचालन गर्दा नेपाल र नेपालीका लागि धेरै आशा र भरोसा देखायो । विकास हाम्रै पालामा सम्भव छ भन्ने दरिलो साहस दियो । तर एमाले नेतृत्वको सरकार हटे लगत्तै मुलुकमा देखिएको राजनीतिक अस्थिरता, न्यायालयमा देखिएको विकृति, विसंगति, महङ्गी, अभाव, मूल्य बृद्धि, मुलुकमा आर्थिक संकटको सम्भावना लगायतका विषयहरु गहिरिदै गएका छन् । सुरुङ युगको शुरुवात गर्ने तत्कालिन नेकपा एमाले नेतृत्वको सरकार र त्यसको नेतृत्वकर्ता केपी ओलीको साहस, दृढ विश्वास र मुलुक विकास गर्ने हुटहुटीलाई नेपाली जनताले एक पटक निर्णायक मत दिएर बहुमत उपलब्ध गराउने एमालेको विश्वास छ । एमालेलाई विपक्षीले लगाउने आरोप संसद् विघटन हो । संसद् विघटन ताजा जनादेशका लागि थियो । ताजा जनादेश लिएर सरकार संचालन गर्छु, हार भए प्रतिपक्षमा बस्छु भन्नु लोकतन्त्रमा जायज हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेर प्रजातन्त्र दरबारमा बुझाए जस्तो केपी ओलीको संसद विघटन होईन र थिएन पनि । केपी ओलीको ताजा जनादेशमा जाने निर्णयमा देशी विदेशी शक्तिहरुले घण्टा तोकेर सरकार बनाउन जारी गराएको परमादेश, एमसीसी प्रकरणमा दलहरुले देखाएको द्वेध चरित्रका बारेमा आम नागरिक सचेत छन् । केपी ओली सरकारबाट हटेपछि मुलुकमा कुनै नयाँ परियोजना शुरु भयो ? विनियोजन भएका योजनाहरुले निरन्तरता पाए ? बजेटको सुनिश्चितता भयो ? काभ्रेमा मात्रै २९ वटा त सडकमा विनियोजन भएका योजना काटिएका थिए भने देशभर कयौ योजनाको रकम काटिएको थियो । विकासलाई अवरोध गर्ने, केवल सत्ता र शक्तिका लागि मात्रै गठबन्धन गरेका दलहरुलाई मत दिनु आवश्यक छ ? 
    काभ्रेपलाञ्चोक जिल्लामा विकासका बादशाह भनेर चिनिने गोकुल बास्कोटा लगायतका अन्य एमालेबाट उम्मेदारी दिएका उम्मेदवारहरुले एमाले काभ्रेले सार्वजनिक गरेको रोडम्यापलाई कार्यान्वयन गर्ने बताएका छन् । जिल्लाको विकास र समृद्धिका लागि एमालेले राष्ट्र निर्माणका लागि लिएको रोडम्याप सँगै जिल्ला निर्माणको रोडम्याप महत्वपूर्ण हुनेछ । गठवन्धनमा रहेका दलहरुले जिल्लाको रोडम्याप नै सार्वजनिक नगरी निर्वाचनमा केवल पदका लागि मात्रै होमिएका छन् । मसिंर ४ जनताको निर्णय गर्ने निर्णायक दिन हो । ब्यक्ति, दल र क्षेत्रको आवश्यकता, भूमिकाका आधारमा मतदाताहरुले गर्ने निर्णय गलत नहोस् । सचेत मतदाताहरुले मतदानाको समयमा ध्यान दिनुपर्ने यिनै विषयलाई ख्याल पु¥याउन आवश्यक छ ।