2026 April 17/ 02:50: 13am

    आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता निकट दलहरुको गठबन्धन बनिरहेको छ। गठबन्धन बनाएर होमिएका दलहरु एजेण्डा विहिन छन्। सर्वाेच्च अदालतको परमादेशबाट बनेको सरकारले पछिल्लो डेढ वर्ष मुलुकको हितका लागि केहि गरेन। बरु नागरिकहरुका लागि मुल्यबृद्धि, अभावमा डुबाईरहेको छ। विकासको शुरुवात गरेका कयौं योजनाहरु अलपत्र पारेका छन्। काभ्रेपलाञ्चोक जिल्लामा मात्रै २९ वटा सडकमा विनियोजन भएको बजेट कटौती भएको छ। यसले पनि सत्ता गठबन्धन मुलुकको बृहत्तर विकासका लागि भन्दा पनि भाग शान्ति गर्न बनेको भन्ने प्रष्ट हुन्छ। गठबन्धन विशुद्ध सत्तामा कसलाई पु¥याउने, कसलाई राजदूत वा अन्य राजनीतिक नियुक्ति गर्ने र कार्यकर्ताहरुलाई योजनाका नाममा पोस्ने योजनाका साथ बनेको हो। यसले मुलुक र मुलुकको हितका लागि भन्दा केवल आफु र आफ्ना लागि मात्रै हित गर्छ भन्ने आम ब्यक्तिको निश्कर्ष छ। 
    जिल्ला स्तरीय गठबन्धनले पनि जिल्लाको विकासको खाका कोर्न सकेको छैन। जिल्लामा गठबन्धनको औचित्य र आवश्यकताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्लाका गठबन्धनका दलहरु र उम्मेदवारहरुले समेत खाका प्रस्तुत गर्न सकेनन्। विकासका एजेण्डा र योजना भन्दा पनि गाली, कुण्ठा र पीडा देखिन्थ्यो। गठबन्धनको तर्फबाट प्रेस नोट जारी गरिएको छ। प्रेस नोटमा समावेश भएका विषयमा स्वयं गठबन्धनका नेताहरु नाजवाफ भए। गठबन्धन भित्रको ‘गलित’ अर्थात प्रश्नमा अनुत्तरित भए सँगै गठबन्धन भित्र रहेका दलका कार्यकर्ताहरु निराश भए। सामाजिक सञ्जालमा समेत गठबन्धनका दलहरुसँग मतदाताहरुले खोजिरहेको जिल्लाको एजेण्डा र योजना प्रस्तुत हुन सकेको छैन। प्रेस नोटमा ‘ओलीले राजनीतिक चातुर्यता देखाएर पार्टीमा नेतृत्व लिन पाए’ उल्लेख गरिएको छ। केपी ओलीले नेकपा एमालेको नेतृत्व लिन पाएको विषय गठबन्धनको चुनावी एजेण्डा हो ? उक्त पार्टीको नेतृत्व ओली बाहेक गठबन्धनका दलहरुले लिनु पर्दथ्यो वा त्यहि दलका अरु नेताले ? चासो र चिन्ता जिल्लाको गठबन्धनलाई ओलीले एमालेको नेतृत्व गरेकोमा छ। प्रेस नोटमा भनिएको छ –‘ओली प्रतिगमनसँगै लगातार ओरालो यात्रामा रहेको एमाले पहिलो पार्टी हुने कल्पनातीत दम्भमा अझै छ।’ एमालेले पहिलो पार्टी हुने उद्घोष दम्भ हुने तर गठबन्धन गरी गरी बहुमत ल्याउने सिण्डिेकट सहितको परमादेश राजनीति चाँहि कस्तो खालको संस्कृति हो? त्यसलाई गठबन्धनका दलहरुको दम्भ भनिदैन? ‘एमालेसँग जनताबीच जाने औपचारिक एजेण्डा र मुद्दा समेत छैन’–प्रेस नोटमा उल्लेख गरिएको छ। एमालेलाई एजेण्डा र मुद्दा छैन भन्ने गठबन्धनका चार दल र उम्मेदवारले पत्रकार अन्र्तक्रियामा काभ्रेपलाञ्चोक जिल्लाको विकास र समृद्धिको कुनै एजेण्डा प्रस्तुत गर्न सकेनन्। र गरेनन् पनि। 
    गठबन्धनका दलहरु भित्रको कुण्ठा छरपस्ट भयो। गठबन्धन किन? भन्ने प्रश्न राखेर आफैले उत्तर दिएको प्रेस नोटमा निर्वाचन पछि संयुक्त सरकार, सरकारका लागि हुने अनावस्यक तानातान र छिनाझप्टीको श्रृंखला बन्द गर्ने भनिएको छ। निर्वाचन पनि एकल सरकार कसको नेतृत्वमा बन्छ ? प्रधानमन्त्री कुन दलको हुने हो ? एकल सरकार बन्छ ? प्रश्न र उत्तर बीचको तालमेल र मतदातालाई भ्रम पार्न खोजिएको छ। निर्वाचनमा संयुक्त जाने अनि सरकार एकल बनाउने ? गठबन्धनमा रहेका दल मध्ये कुनै एकले बहुमत प्राप्त गर्ने आधार समेत छैन। तत्कालिन शेरबहादुर देउवा र गिरिजाप्रसाद कोईरालाले संसद विघटन गरेर प्रतिगमन गरेको, प्रजातन्त्र र लोकतन्त्र दरबारमा लगेर बुझाएको, २०६२÷०६३ सालको जनआन्दोलनबाट संसद् पुर्नस्थापना गरिएको विर्सदै केपी ओलीले ताजा जनादेशमा जान गरिएको संसद विघटनलाई प्रतिगमन देख्ने जिल्लाका राजनीतिक दलहरुले ओली नेतृत्वको सरकारले ताजा जनादेशमा जान गरेको निर्णयलाई प्रतिगमन देखेर एजेण्डा बनाएका छन्।