आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल तथा स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारको योग्यता, उम्मेदवार विरुद्ध पर्ने दावी विरोध तथा निर्वाचन चिन्ह समेत प्रदान गरेर निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । समानुपातिक तर्फको मतपत्र छपाई सकेर प्रत्यक्ष तर्फको मतपत्र छाप्ने कार्य प्रारम्भ भएको छ । केहि जिल्लामा समानुपातिक तर्फको मतपत्र ढुवानीको कार्य प्रारम्भ भएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि परिचालन गरिने कर्मचारी छनौटको कार्य शुरु गरेको छ भने सुरक्षा निकायले सुरक्षाका कार्यलाई अघि बढाएको छ । म्यादी प्रहरी छनौट, तालिम तथा मतदान स्थल र केन्द्रको सुरक्षाको कार्य योजना तयार गरेको छ । तर दलहरु भित्र टिकट लेनदेनमा देखिएको असहिष्णुताले पार्टी भित्रको लोकतान्त्रिक संस्कार, चरम अवसरवाद, गुटगत प्रवृत्ति र पार्टीको विधान तथा अनुशासन हिन कार्यले कार्यकर्ताहरुमा निराशा छाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा ६४ उम्मेदवार कायम भएका छन् । नेकपा समाजबादीका जिल्ला अध्यक्ष समेत रहेका मन्त्री बसुन्धरा हुमागाईलाई गठबन्धनका नाममा दर्ता भएको उम्मेदवारी अन्तिम समयमा जर्बजस्ति फिर्ता गर्न बाध्य पारियो । एमालेसँग चोईटिएको उक्त पार्टीले जिल्लाका ६ वटा सिटमा एउटा क्षेत्रमा मात्रै उम्मेदवार उठाएको छ । काभ्रेमा भएका ६ वटा सिट मध्ये एक सिटमा प्रतिस्पर्धा गर्ने अवस्थामा खुम्चिएको उक्त दलले आफु एमालेसँग फुटेर मुलुकमा अस्थिरता निम्त्याउन गरेको सहयोग र नेतृत्वका सन्र्दभमा गलत सावित गर्न सक्यो त ? केवल मन्त्री पद, सत्ताको नेतृत्व र आफु निकटका कार्यकर्ताहरुलाई अवसर प्रदान गर्ने बाहेक पछिल्ला दुई वर्ष सरकारमा रहेका दलहरुले के गरे ? विकास निर्माण शुरु गरेको कयौ योजनाहरुमा विनियोजित रकम कटौती गरे । किसानहरुलाई रासायानिक मल उपलब्ध गराउन सकेनन् । डेँगु जस्ता महामारीमा मुकदर्शक भएर बसे । महङ्गी, अभाव र भ्रष्टाचारमा जरो गाड्ने अभियानलाई मलजल गरे । अझै ति दलहरु आगामी पाँच वर्ष त्यसरी नै लुटने योजनामा सत्ता गठवन्धन गरेका छन् ।
नेपाली का“ग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामाको टिकट खोसेर अन्तिम समयमा शिव हुमागाई र तिर्थ लामाले ल्याए पछि का“ग्रेस भित्रको असन्तुष्टी चुलिएको छ । माओवादी भित्र पनि पूर्व गाउ“पालिका अध्यक्ष दिनानाथ गौतमले टिकट नपाए पछि असन्तुष्ट सामाजिक सञ्जालमा छरपस्ट भएको छ । बसुन्धरा हुमागाईको टिकट खोसिए पछि शुरु भएको चरम असन्तुष्टिले पार्टी भित्र विग्रह शुरु गरेको छ । काँग्रेसमा टिकट पाउनु पर्ने मधु आचार्य र गणेश लामाले हो । उनिहरुको टिकट खोसेर पार्टी एकीकरणको भावना र मर्म विपरीत कार्य भएको भन्दै कार्यकर्तामा चुलिएको असन्तुष्टि सम्हाल्न कठिन छ । दलहरु भित्रको टिकट खोसाखोसको असहिष्णु चरित्रले इमान्दार नेता कार्यकर्ताको मान मर्दन भएको छ । एमाले भित्र पनि युवाहरुले अवसर नपाएको गुनासो छ । सबै दलले टिकट वितरण तथा समान अवसरका लागि गरेको विभेद त्रुटिपूर्ण छ ।





