2026 April 17/ 02:32: 59am

राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला कृषिमा आत्मनिर्भर हुँदैछ । पर्यटन क्षेत्रको विकास मार्फत नागरिकहरुलाई थप समृद्ध बनाउन सरकारी तथा नीजि क्षेत्रबाट भएका प्रयासले संस्थागत रुप लिदैछ । राजधानीका नागरिकहरुलाई बैकल्पिक शहरका रुपमा काभ्रे उपत्यका भ्यालीले आकर्षक गराउँदै छ भने त्यसका लागि पूर्वाधारहरु निर्माणमा सरोकारवालाहरुले प्रयास थालेका छन् । संघ, प्रदेश र स्थानीय सरकारको पहलमा जिल्लामा भएका प्रयासले आगामी केहि वर्षमा जिल्लाले पर्यटन क्षेत्रबाट समेत समृद्ध बन्ने रेखा कोर्नेछ । धुलिखेल नगरपालिकाले लिएको एक वडा पाँचवटा पार्कका नीतिले अहिले ५७ वटा पार्क निर्माण भईसकेका छन् भने पर्यटन विकासका लागि आगामी आर्थिक वर्षमा झनै प्राथमिकतामा राखिएको छ । पर्यटकहरुको बसाई लम्याउन धुलिखेलले त्यसको प्याकेज बनाउने बजेटको प्राथमिकतामा परेको छ ।
    पाँच वर्षमा धुलिखेलले पर्यटन विकासको दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । पर्यटन परिषद् गठन गरी थप योजना निर्माण गरेको छ । पर्यटन प्रर्वद्धनका लागि धुलिखेल नगरपालिकाले ५७ वटा पार्क निर्माण गरेको छ । पर्यटनसँगै शहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै पुराना शहरहरुको संरक्षण गरी पुर्नजीवन दिने परियोजना शुरु गरेको छ । एक वडा एक होमस्टेको योजना निर्माण गरी कार्यान्वयन शुरु गरेको छ । संस्कृति, ऐतिहासिकता, प्राचीनताको संरक्षण गर्ने गरी योजना बढाएको छ । धुलिखेल नगरपालिकाले एशिया प्यासिफिक रिजनको सदस्यता लिएको छ भने स्थानीय, प्रदेश, केन्द्र हुँदै अन्र्तराष्ट्रिय स्तरमा धुलिखेलको प्रचार प्रसार र पर्यटन सम्बन्धी गतिविधि तिब्र बनाईएको छ । ट्रिटमेन्ट प्लान्ट निर्माण, फोहोरमैला ब्यवस्थापनमा लगानी भएको छ । कोभिडको समयको कर छुट, फोहोरमैलामा कर छुट, स्थानीयलाई रोजगार दिएको अवस्थामा १० प्रतिशत कर छुट दिने गरेको छ ।
    धुलिखेलमा ४९ वटा होटल निर्माण भएका छन् । होटलमा ९ सय ७२ वटा कोठामा १ हजार ७ सय ४५ वटा वेड रहेका छन् । जसमा ८ अर्ब २२ करोड ५३ लाख लगानी भएको छ भने २ अर्ब ४८ करोड ९० लाख ७२ हजार बंैकले लगानी गरेको छ । धुलिखेलमा होटलहरुमा ९ सय ९२ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । धुलिखेल नगरपालिका भित्रका ५ सय ९५ जनालले रोजगार पाएका छन् । जिल्ला भित्रका ८ सय १ जना रोजगारीमा छन् । धुलिखेलमा भएका होटलहरुमा कार्यरत जनशक्तिका लागि बार्षिक १८ करोड ४५ लाख खर्च हुने गरेको छ भने होटल ब्यवसायीहरुले राज्यलाई १३ करोड ३५ लाख र नगरपालिकालाई ३२ लाख ७५ हजार तिरेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा १ सय २४ वटा होटल छन् । ४२ वटा नगरकोटमा छन् भने बनेपामा १०, पनौतीमा ७, नमोबुद्धमा ५, पाँचखाल ३, दोलालघाटमा ८ वटा छन् । जिल्लामा होटलहरुको स्थापनासँगै पर्यटकहरुको बसाई लम्याउन भएका प्रयास उदाहरणीय छन् । धुलिखेलले त्यसको अगुवाई गरिरहेको छ ।