2026 April 17/ 02:32: 55am

    सरकारले महङ्गी नियन्त्रण गर्न नसकेका कारण मूल्य बृद्धि दिनदिनै बढिरहेको छ । मुल्यबृद्धिका कारण सर्वसाधारण संकटमा पर्न थालेका छन् । आयआर्जन हुनेहरुका लागि पनि महङ्गी चर्काे भएको छ नै आयआर्जन नहुनेहरुका लागि मुल्यबृद्धिले जनजीवन कष्टकर बन्दै गएको छ । भएका सामानहरुको कालोबजारी गर्ने, मुल्य बृद्धि गर्न नपर्ने र आवश्यक नभएको अवस्थामा पनि ब्यवसायीहरुले मूल्य बृद्धि गर्ने गरेका कारण सर्वसाधारण त्यसको मार ब्यहोर्न बाध्य भएका छन् । सरकारले त्यस्तो अवस्थामा बजार अनुगमन, सहुलियत बजारको ब्यवस्थापन, मुल्य नियन्त्रण तथा सर्वसाधारणलाई राहत दिनु पर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई चर्काउँदै लगेको छ । यसका कारण नीजि तथा सार्वजनिक यातायातको ढुवानी महङ्गो हुन गएको छ । महङ्गीकै कारण नागरिकहरुले सहज जीवनयापन गर्न सकिरहेका छैनन् ।
    पछिल्लो तीन महिना बजार मूल्य आकाशिएको छ । मुल्य बृृद्धिको दोष सरकारले युक्रेन र रुसको युद्दलाई देखाएर पन्छन खोजेको छ । तीन महिनाको अवधीमा उपभोक्ता दररेट अनुसार चामल बासमती प्रति केजी १ सय ३५ रुपैयाँ कायम गरेको थियो । एक महिनाको अवधीमा यो मूल्य बढेर १ सय ४५ पुगेको छ । सरकारले तीन महिनाको बीचमा १० पटक मुल्य बृद्धि गरिसकेको छ । निर्वाचन लगत्तै १० दिनको अवधीमा पेट्रोलियम पदार्थमा बढेको मूल्यका कारण थप बजार महङ्गो भएको छ । बजेटका कारण बजार झनै महङ्गो भएको छ । लोकल पोखरेली चामल प्रति केजी १ सय १० रुपैयाबाट १ सय ५० पुगेको छ । चिउरा तराई टाईचिन ७० रुपैया प्रति केजीबाट ७५ पुगेको छ । दाल मुसुरो ठुलो १ सय ६० रुपैया प्रति केजीबाट १ सय ६५ रुपैयाँ पुगेको छ । रहर दाल १ सय ७५ बाट १ सय ८० पुगेको छ । उद्योग वाणिज्य संघले तोकेको भन्दा धेरै मूल्य तिर्नु परिरहेको सर्वसाधारणले बताएका छन् । मुगी खोस्टा दाल १ सय ५५ बाट १ सय ८५ पुगेको छ । गेडागुडीमा केरा सेतो १ सय १० रुपैयाँबाट १ सय २५ पुगेको छ भने हरियो केराउ १ सय ४५ बाट १ सय ४० मा आएको छ । बोडी १ सय ५० बाट १ सय ७० पुगेको छ । राजमा सिमी १ सय ८० रुपैयाँबाट २ सय रुपैया पुगेको छ । भटमास सेतो १ सय २० बाट २ सय रुपैया पुगेको छ । गेडागुडीमा प्रति केजी ८० रुपैयाँसम्म महङ्गो भएको छ । गेडागुडी पछि धेरै महङ्गो भएको मसला र तेलजन्य सामाग्रीको मुल्य बढेको छ । भटमास तेल २ सय ४५ बाट ३ सय २५ रुपैयाँ पुगेको छ । तोरी तेल प्रति लिटर २ सय ५० बाट ३ सय ४० पुगेको छ । सुर्यमुखी तेल २ सय ५५ बाट ३ सय ५० र बनस्पति घ्युको मूल्य २ सय ४० बाट ३ सय ५० पुगेको छ । मैदा ५५ बाट ६०, आटा ५५ बाट ७०, चिनी ९० बाट १ सय, जिरा ४ सय १० बाट ४ सय ८०, धनियाँ २ सय २० बाट २ सय ५० र मरिच ८ सय ५० बाट १ हजार रुपैयाँ पुगेको छ । यसमा ब्यवसायीहरुले स्थान अनुसार फरक–फरक मुल्य लिन सक्नेछन् ।
    कृषकहरुले उत्पादन गरेको आलु सस्तो भएको छ । अन्य तरकारी तथा उत्पादन भएका कृषि उपजहरुले बजार पाउन सकेका छैनन् । खेति गर्ने रासायनिक मल छैन । मल विना उत्पादन नहुने अवस्थामा हाम्रा खेतियोग्य जमिन छन् । विषादी, मल अभावका कारण उत्पादनमा हस आउने छ नै अर्काेतिर आयात कम गर्ने सरकारकै लक्ष्यलाई धक्का पुग्न थालेको छ । बालबालिकाहरुलाई पुस्तक छैन । कृषकलाई मल छैन । अभाव नै अभावका बीच गठबन्धन सरकार मस्ति छ । उसलाई नागरिकको अभावमा सरोकार छैन । बरु गठबन्धन कसरी टिकाउने र आगामी निर्वाचनमा धेरै सिट ल्याएर सत्तामा अडिरहने भन्ने बाहेक अरु कुनै सरोकार सरकारमा रहेका दलहरुले देखाएका छैनन् । सत्ता बाहिर रहेको प्रतिपक्षी दलले पनि यसमा चासो राख्न सकेको छैन । नागरिकहरु यस्तो ब्यवहारबाट अवाक्क भएका छन् । नागरिकहरुको एउटै आवाज छ तत्काल मुल्य नियन्त्रण गरी महङ्गी रोक ।