2026 April 17/ 02:32: 54am

    एमाले काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाको मुहार फेर्ने योजना तय गरेको छ । यस अघिका अधिबेशनहरुमा पनि एमाले काभ्रेले जिल्लालाई सबल, समृद्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि तय गरेका योजनाहरुका आधारमा अहिले गौरवका आयोजनाहरु संचालन भईरहेका छन्। फिल्म सिटी होस् वा सुरक्षण मुद्रण प्रेस। प्रतिरक्षा विश्वविद्यालय होस् पाँचखालको मदन भण्डारी विश्वविद्यालय। योजनाको भण्डार रहेको एमाले काभ्रेले सत्ताको नेतृत्व गरिरहेका बेला काभ्रेपलाञ्चोक जिल्लालाई विकासको नयाँ आयाम थपिदियो। त्यहि योजनाको भण्डारलाई विस्तार गर्दै एमालेले भर्खरै सम्पन्न १० औं जिल्ला अधिबेशनबाट सार्वजनिक गरेका योजनाहरुले एमाले  काभ्रेको विकास र समृद्धिका लागि अतुलनीय भूमिका खेलेको पुष्टि हुन्छ। 
    नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिबेशनले सबल, समृद्ध, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना पास गरेको छ। समृद्ध काभ्रेली नमूना काभ्रेको अवधारणालाई मूर्तरुप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरुलाई निरन्तरतादिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरेको छ। छैटांै जिल्ला अधिबेशनले पास गरेका योजनाहरुलाई हामी सत्तामा पुग्दा कार्यान्वयन गरेका छौं जसका कारण काभ्रेमा अरबांै बजेट तिनै योजनाहरुमा विनियोजन भएको छ। जिल्लामा आगामी ५ वर्ष भित्र १००० किमी सडक कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रकोरुपमा विकास गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने,भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिका भित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाब्य करिडोर क्षेत्रमा ब्यवस्थित पूर्वाधार सहितको बस्ति ब्यवस्थापन गर्ने, डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पूर्वाधारको विकास गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरुको सर्भे गरी निर्माण गर्न, जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजना बनाएको छ। 
    एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने। पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवसायिक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, नमोबुद्धलाई धार्मिक साँस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भुम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषि अनुसन्धान केन्द्र, तेमाललाई साँस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन साँस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडिबुटी र फलफुल उत्पादन तथा पशुपालन केन्द्र, खानीखोलालाई जडिबुटी कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिक श्रोत अध्ययन तथा पशुपालन केन्द्रको रुपमा विकास गर्न गरुयोजना तर्जुमा गर्ने निर्णय गरेको छ। थुप्रै योजनाहरुलाई बैंकका रुपमा विकास गरी एमालेले जिल्लाको मुहार फेर्ने अठोट गरेकोमा बधाई छ।