2026 August 15/ 12:17: 02am

    वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको छ भने अर्कोतर्फ हजारौं नागरिकले यसैका कारण अनगिन्ती पीडा, ठगी र मानसिक तनावसमेत भोग्दै आएका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र अधिकारमुखी बनाउने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम पछिल्लो समय यस क्षेत्रका नागरिकका लागि भरपर्दो सहारा बन्दै गएको छ । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको साझेदारी तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित यो कार्यक्रमले एक वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरू निकै उत्साहजनक र अनुकरणीय छन् ।
    जिल्लाको धुलिखेल नगरपालिकाको सहजीकरणमा काभ्रेका ९ वटै स्थानीय तहमा विस्तारित यस कार्यक्रममार्फत एक वर्षमा १० हजारभन्दा बढीले सूचना तथा परामर्श सेवा लिनुले वैदेशिक रोजगारीमा जानेहरूमा सचेतना बढ्दै गएको प्रस्ट्याउँछ । आप्रवासी स्रोत केन्द्रको सेवा मात्र नभई गाउँटोलमै रिटर्नी स्वयंसेवक परिचालन गरी ६ हजार ७०० भन्दा बढीलाई सचेत गराउनुले यो कार्यक्रम जनस्तरसम्म पुगेको पुष्टि हुन्छ । सूचनाको पहुँचले मात्रै पनि धेरै सम्भावित ठगी र जोखिमहरूबाट नागरिकलाई बचाउन सकिन्छ भन्ने यो बलियो उदाहरण हो । यस कार्यक्रमको सबैभन्दा ठूलो सब पक्ष भनेको पीडितहरूलाई प्रदान गरिएको कानुनी र प्रशासनिक सहजीकरण हो । वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका नागरिकका लागि कानुनी सहायता जुटाउँदै पीडितहरूलाई १ करोड ८० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाउन सफल हुनु महत्वपूर्ण उपलब्धी हो । यसले कानुनी राज्यको प्रत्याभूति दिलाउन र न्यायको पहुँचबाट टाढा रहेका दूरदराजका नागरिकलाई राहत दिन स्थानीय तह र प्रशासनको समन्वय कति प्रभावकारी हुनसक्छ भन्ने देखाएको छ ।
    वैदेशिक रोजगारीले केवल आर्थिक क्षति मात्र होइन, गम्भीर किसिमका मानसिक तनाव र पारिवारिक विखण्डनसमेत निम्त्याउने गरेको छ । यो यथार्थलाई आत्मसात् गर्दै सामी कार्यक्रमले सञ्चालन गरेको सामूहिक तथा व्यक्तिगत मनोसामाजिक परामर्श सेवा हजारौं नागरिकका लागि मानसिक राहतको स्रोत बनेको छ । त्यसैगरी, विदेशबाट आर्जन गरेर फर्किएका वा जान लाचो युवाहरूका लागि २१ हप्ते वित्तीय साक्षरता र विभिन्न अभिमुखीकरण कक्षाहरू सञ्चालन गरी पुँजीको सही सदुपयोग गर्न सिकाइनु अर्को दूरदर्शी कदम हो । यसले आर्जित धनको सही व्यवस्थापन गर्न मात्र सिकाएको छैन, भविष्यमा आत्मनिर्भर बन्नसमेत प्रेरित गरेको छ ।
    सुरक्षित आप्रवासनसम्बन्धी सूचना, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालाई एकीकृत रूपमा अगाडि बढाउँदा यसले नागरिकको जीवनस्तरमा कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने काभ्रेको यो अभ्यासले प्रस्ट्याएको छ । अबका दिनमा यस कार्यक्रमलाई थप सुदृढ बनाउँदै जिल्लाका कुनै पनि नागरिक वैदेशिक रोजगारीका नाममा ठगिनु नपर्ने र अप्ठ्यारोमा पर्दा राज्य साथमा छ भन्ने अनुभूति दिलाउन सबै स्थानीय तहहरूबीच अझ बलियो सहकार्यको खाँचो छ ।