2026 April 17/ 02:32: 58am

    संक्रमण बढिरहेको छ। सरकार सिटामोल अभाव छैन भन्छ बजारमा सिटामोला किन्ने ठाउँ छैन। कहाँ किनौं सरकार सिटामोल ? मेडिकलमा कि ? मन्त्री निवासमा ? दैनिक हजारौं ब्यक्ति संक्तमित हुँदा समेत खाने सिटामोलको जोहो गर्न नसक्ने सरकारले मुलुक निर्माणका लागि समय दिन सक्छ? महामारीले छुन नसकेको सरकार र सरकारमा रहेका दलका नेताहरुले भन्न छाड्दैनन् विगतको ओली सरकार भन्दा गठबन्धन ठिक ? नागरिकहरु सिटामोल सिटामोल भनेर चिच्याईरहँदा सरकारका मन्त्री नागरिक मार्ने खुलेआम धम्की दिईरहेका छन्। प्रदेशका मन्त्रीहरु चोकतिर बग्रेल्ती छन्। तर मेडिकलमा सिटामोल छैन। अघिल्लो चरणको कोरोनामा नागरिकहरुले निःशुल्क पिसिआर परिक्षण गराएका थिए। अहिले सरकारले पैसा लिएर मात्रै परिक्षण गराउने गरेको छ। महामारीमा नागरिकहरुको ज्यान जोगाउन सरकारको दायित्व भए पनि सरकार आफ्नो दायित्वबाट पन्छिरहेको छ।
    बैशाखमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भए पनि त्यसलाई अनेक बाहना बनाएर टार्ने प्रयास भईरहेको छ। सरकार नागरिकहरुका दैनिक जीवनसँग भन्दा पनि राजनीतिक अभिस्टमा आफ्नो स्वार्थ पूरा गर्ने कोसिसमा छ। सवारी साधनमा जोर विजोर गरिएको छ। स्थानीय सरकारका केहि कार्यालयहरु बन्द छन्। जिल्ला प्रशासन, अदालत लगायतका सेवाहरु ठप्प प्रायः भएका छन्। अस्पतालमा विरामी भरिएका छन्। तर पनि सरकारलाई नागरिकहरुको चासो छैन। नागरिकहरुको चासोलाई भन्दा सरकार अन्यत्र ध्यान मोड्न लागिरहेको छ। लिपुलेकमा सडक विस्तार भएको छ सरकार बोल्दैन। संसद् अवरोध छ खुलाउने प्रयास गर्दैन। प्रमुख प्रतिपक्ष दलका कुरा सुन्नै नचाहने गठबन्धन दलका नेताहरु हिजो केपी ओलीलाई प्रतिगमन ग¥यो भन्दै आज त्यहि पथमा अघि बढेका छन्। तीन तहकै निर्वाचन एकै पटक गर्न नमिल्ने कानूनी ब्यवस्थाका विरुद्ध निर्वाचनमा पराजय ब्यहोर्नु डरले माओवादी र नेकपा एस चुनाव पछाडि धकेल्न थालेका छन्।
    जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था तथा खोप व्यवस्थापनका लागि तयारी गरिएको छ। कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन प्रभावकारी बनाउन नेपाल सरकारद्वारा जारी गरिएको स्मार्ट लकडाउन कार्यविधि, २०७८ बमोजिमको व्यवस्थाहरु कार्यान्वयन शुरु भए पनि संक्रमण दर बढेको बढ्यै छ। सार्वजनिक यातायात सञ्चालन गर्दा सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुलाई मास्क अनिवार्य गर्ने, कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढिमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने, सवारी साधनको ढोका र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था मिलाउने, चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको भए पनि कसैले टेरेका छैनन्। संक्रमण पनि कानून पालाना गराउनेका लागि मात्रै हो कि भन्ने नागरिकहरुलाई परेको छ। अतः यसका बाबजुत नागरिकहरुलाई तत्कालका लागि आवश्यक भएको सिटामोल जस्तो सामान्य औषधी ब्यवस्थापन गर्नु जरुरी छ। सिटामोल नै अभाव भए पछि अन्य रोगका औषधीहरु कसरी उपलब्ध गराउन सक्छ सरकारले ???