2026 November 20/ 02:57: 40am

   धुलिखेल/काभ्रेको पाँचखालबाट शंकास्पद गतिविधिमा संलग्न ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । । पाँचखालमा मात्र नभई धुलिखेलको देवीस्थानमा रहेको गन्तव्य रिसोर्ट, पनौती र बल्थली माउन्टेन रिसोर्टलगायतका रिसोर्टहरूमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।
    पाँचखालमा केहि नागरिक पक्राउ लगत्तै जिल्लाका अन्य स्थानबाट चिनियाँ नागरिक भागेको बताईएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट छापा हानेको थियो । जिल्ला प्रशासन कार्यालयको नेतृत्व प्रशासकीय अधिकृत सुनिता थापाले गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयको नेतृत्व डीएसपी रविन विष्टले गरेका थिए ।
    सो क्रममा शंकास्पद गतिविधिमा संलग्न ३१ पुरुष र ५ महिला गरी ३६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रबिन विष्टले जानकारी दिए । उनका अनुसार उक्त रिसोर्टका २ वटा कोठाबाट केहि थान ल्यापटप र मोवाइल पनि नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञ सहितको टोली माग गरिएको छ  ।