कुशादेवी, डिहिगाउँ/घ्याल्कू डिहिगाउँदेखि लप्सीबोट हुँदै बन्चरेफाँटसम्म सञ्चालित सिँचाइ आयोजना लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासुदेव सापकोटाको परिवार संकटमा परेका छन् । सिँचाइ आयोजना निर्माण भएको तर अलपत्र हुँदा थप समस्या देखिएको हो ।
आयोजना निर्माणका क्रममा गरिएको लार्पवाही तथा वर्षात्का कारण बिग्रिएका संरचनाहरूको मर्मतसम्भार पनि हुन सकेको छैन । सिँचाइको नाममा निर्माण गरिएका संरचनाहरू जिर्ण बन्दै गएपछि स्थानीय बासुदेव सापकोटाको परिवारले संकट ब्यहोर्नु परेको हो । थोरै पानी पर्दा पनि सोहि स्थानमा पानीको जम्मा हुने र चुहिने समस्याका कारण घर लगायतको संरचना जोखिममा परेको हो ।
सिँचाइ कुलोको अव्यवस्थित संरचना र पानी चुहिने समस्याका कारण सोहि घरमा बसोबास गर्दै आएका वृद्धवृद्धा उच्च जोखिममा परेको पीडित बासुदेव सापकोटाले बताए । आयोजना शुरु गर्दाका बखत पर्खाल (वाल) लगाइदिने भन्दै जबर्जस्ती संरचना बनाएर अहिले पानीको उचित निकास नगरिदिँदा संरचना भत्किने अवस्थामा पुग्दा बस्ती धरापमा परेको उनले बताए । सोही संरचनाका कारण उक्त क्षेत्रको अवस्था दयनीय र बिजोग बनेको छ । सिंचाई डिभिजन कार्यालय, स्थानीय तह र उपभोक्ता समितिले समेत उक्त संकट समाधानमा चासो नदेखाएको पीडित सापकोटाले बताए ।
पटक–पटक गुनासो गर्दा पनि उपभोक्ता समितिले यस विषयमा कुनै चासो नदिएको र समस्या समाधानका लागि पहल नगरेको पीडितहरूले दुखेसो पोखेका छन् । स्थानीय बासिन्दा तथा पीडित परिवारले तत्काल जिर्ण बनेको सिँचाइ संरचनाको मर्मतसम्भार गर्न, पानीको उचित निकासको व्यवस्था मिलाउन र जोखिममा परेका घरहरूको सुरक्षाको लागि सम्बन्धित निकायसँगमाग गरेका छन् ।









