2026 May 26/ 01:51: 11am

    धुलिखेल/नयाँ वर्षको पहिलो महिनामै जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउदेखि सवारी कारवाहीसम्मका क्षेत्रमा सक्रियता बढाएको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको मासिक विवरणअनुसार चालु मुद्दाका ६७ जना प्रतिवादी पक्राउ परेका छन् । विभिन्न घटनामा ४२ जनाले ज्यान गुमाएका छन् । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेमा उक्त अवधिमा १ सय वटा मुद्दा दर्ता भएका छन् भने ३१ वटा मुद्दा फछ्र्योट गरिएको प्रहरीले जनाएको छ । हालसम्म ६९ वटा मुद्दा अनुसन्धान तथा कारवाही प्रक्रियामै रहेका छन् । प्रहरीको तथ्यांकअनुसार जिल्लामा विभिन्न कारणले ४२ जनाको मृत्यु भएको छ । जसमा सवारी दुर्घटनाबाट १ जना, झुण्डिएर १२ जना, विष सेवनबाट ३ जना, कारण नखुलेका १४ जना, बेवारिसे अवस्थामा ७ जना, रुखबाट लडेर १ जना, बाटोमा लडेर ३ जना तथा पहिरोका कारण १ जनाको मृत्यु भएको उल्लेख छ । 
    फैसला कार्यान्वयनतर्फ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट तोकिएको ७ वर्ष ११ महिना २५ दिन कैद सजाय कार्यान्वयन गरिएको तथा ५ हजार रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ । ट्राफिक व्यवस्थापन तथा सवारी कारवाहीअन्तर्गत जिल्लामा ७ वटा सवारी दुर्घटना भएका छन् । नियम उल्लंघन गर्ने १ हजार १ सय ३२ वटा सवारी साधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ । उक्त कारवाहीबाट १० लाख ३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रविन विष्टले सार्वजनिक गरेको विवरणमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रहेको उल्लेख गरिएको छ । साथै सचेतनामुलक अभियानमा पनि प्रहरीले सक्रियता बढाएको छ ।