बनेपा÷/समाजवादी प्रेस संगठन काभ्रे शाखाद्धारा प्रकाशित मुखपत्र संकल्प लोकार्पण गरिएको छ ।
समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला शाखा अध्यक्ष दिनेशराज खरेलको सभापतित्व रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पत्रकारिता पेशा प्रति इमान्दार बन्नुपर्ने बताए । उनले भने, ‘कलम चलाउन जाने सिंगो देश समाजलाई सकारात्मक दिशामा डोहोर्याउँछ, नजाने अर्थात कलमको दुरुपयोग गरे त्यसले देश र समाजलाई धवस्त बनाउँछ ।’
अहिले परिवेश फेरिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अनलाइन मिडिया, युट्युब च्यानल लगायतको कारण पाठक दर्शकको रोजाई बढेको बताए । यद्यपि पत्रकारिता मर्यादित हुनुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य, जिल्ला इन्चार्ज एवं मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले समाजवाद स्थापनाको आधार र औचित्यका बारेमा प्रस्ट पारेका थिए । उनले हाम्रा समस्या, सम्भावना र उपलब्ध स्रोतसाधनलाई प्रभावकारी बनाउँदै भावी राजनीतिक, सामाजिक तथा भौतिक विकासका साथै मानविय सचेतनाको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले यातायात क्षेत्रलाई व्यवस्थित गर्न आफ्नो कार्यकालमा भएका कार्य र आगामी योजनाबारे धारणा राखेका थिए । पूर्वमन्त्री तथा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाँईले समाजवादको यात्रालाई थप अघि बढाउन सबै तहका सरकारले आफ्नो जिम्मेवारीमा संवेदनशील भई सहकार्य गर्नुपर्ने बताए । विकासका योजना र कार्यक्रमलाई विकेन्द्रिकरणको माध्यमबाट काभ्रेलाई समृद्ध बनाउन सकिने उनको भनाई छ । जनताको दैनिकी सहज बनाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, समाजवादी प्रेस संगठनका सल्लाहकार भोजराज त्रिपाठी, नेता एवं साहित्यकार तुयुकाजी ताम्राकार, पत्रकार महासंघ काभ्रेका कार्यवाहक अध्यक्ष कपिल कोइराला, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष इन्द्र बहादुर थापा, फोटो पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष केशवराज पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन समाजवादी प्रस संगठनका केन्द्रिय उपाध्यक्ष धु्रव रायमाझीले गरेका थिए ।