धुलिखेल/जीवित देवताको रूपमा पुजिने नवदुर्गा जात्रा सकिएको छ । जात्रा ब्यवस्थापनका लागि नवदुर्गा देवगण जात्राका अध्यक्ष बाल गोपाल वनमाला र स्थानीय नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्था बीच समन्वय भई जात्राको तयारी गरिएको थियो ।
धुलिखेल नगरपालिकाले जात्राको अवसरमा मंगलबार २०८१ फागुन २७ गते विदा दिईएको थियो । स्थानीय पर्वका रुपमा उक्त जात्रा मनाउँदै आएको छ । देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) धुलिखेलमा मनाईएको छ । धुलिखेलमा जात्रा सकिए लगत्तै नवदुर्गा श्रीखण्डपुर र चौकोट गएका थिए । तत्कालिन श्री ५ को सरकारद्वारा धुलिखेल गाविसलाई धुलिखेल नगरपालिका घोषणा गरेको वर्षमा धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठूलो भोजन ग्रहण) गराईएको थियो । धुलिखेलवासीहरू नवदुर्गा देवगणलाई आफ्नो कुल देवताको रूपमा पुज्दै आएका छन् ।
धुलिखेलको मुख्य पर्व र जात्राको रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइन्छ । धुलिखेलवासीहरूबाट नयाँ घर वा निवास निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय खोल्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घर शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास रहेको छ । युवा–विद्यार्थीहरू स्वास्थ्य लाभ र ज्ञान लाभको लागि नवदुर्गा देवगणहरूको आशीर्वाद लिन र सेवा गर्न ङालाकेगु जात्रामा उपस्थित हुने गर्दछन । धुलिखेलवासीहरू नवदुर्गा देवगणहरूबाट मुख्य प्रसाद गोका पञ्चरङ्गी धागो, मोहनी कालो टीका, पासुका तीनरङ्गी धागो ग्रहण गरी आफ्नो क्षमता अनुसार दक्षिणा चढाएर देवगणहरूको सेवा गर्ने परम्परा रहेको छ ।
धुलिखेल नगरपालिकामा ङालाकेगु जात्रा हुँदा भक्तजनहरूको भौतिक र आर्थिक सहयोगका कारण देवगणहरूको ऋण चुक्ता हुने गरेको देवगणहरूको भनाइ छ । धुलिखेलमा हुने ङालाकेगु जात्रामा नवदुर्गा देवगणहरूलाई नगरपालिकाबाट हरेक वर्ष पञ्चबली दिने, पोशाक चढाउने, भाले कुखुरा चढाउने, अण्डा खुवाउने, किस्ली चढाउने र मुःबाहाँ सुँगुर बलि दिने गरिएको छ । ऐतिहासिक नवदुर्गा देवगणको ङालाकेगु जात्रालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न, जात्रालाई सभ्य र सुरक्षित तरिकाले सञ्चालन गर्न देवगणहरूको समस्या समाधान गर्न, कला र संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले समन्वय गरिरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले तयार गरेको तालिका अनुसार जात्रा ब्यवस्थापन भईरहेको छ ।