2025 March 20/ 10:46: 09am

    धुलिखेल/विपद् जोखिम न्यूनीकरण र विपद् ब्यवस्थापनमा सिकाई तथा कार्ययोजना विषयक कार्यशाला गोष्ठीको दोश्रो दिन गत विहिबार जिल्लाका विभिन्न पालिका र विषयगत क्लस्टरहरुको प्रस्तुती सँगै उपलब्धी विश्लेषण पछि समापन गरिएको छ । 
    पौष ३ गते बुधबार पालिकाहरुले विपद् जोखिम न्यूनीकरण र विपद् ब्यवस्थापनको सिकाई र विपद् ब्यवस्थापनका सन्दर्भमा भएका उपलब्धता र आवश्यकता बीचको रिक्तताका विषयमा प्रस्तुती गरेका थिए । पौष ४ गते विहिबार बाँकी प्रस्तुतीसँगै गोष्ठी समापन गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले सहजीकरण गरेका थिए । विपद पश्चात सम्पन्न गरिएका कृयाकलापहरुको क्षेत्रगत प्रस्तुतीका सन्दर्भमा जिल्लाका विषयगत क्लस्टरहरुको प्रस्तुती पछि जिल्लामा विपद् जोखिम न्यूनिकरण र विपद् ब्यवस्थापनमा काम गर्ने संघ संस्थाहरुको प्रस्तुती गरिएको थियो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार गोष्ठीमा उठेका हरेक सवालहरुलाई प्रतिवेदनका रुपमा तयार गरिएको छ । जिल्लामा विपद् जोखिम न्यूनिकरण र विपद् ब्यवस्थापनमा उठेका सवालहरुको कार्यान्वयनमा सहजिकरण हुने अपेक्षा गरिएको छ । कार्यशाला गोष्ठीको उद्घाटन खानेपानी मन्त्री प्रदीप यादवले गरेका थिए । असोज १०–१२ मा परेको अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा मात्रै ७९ जनाले ज्यान गुमाएका छन् । ६ जना वेपत्ता छन् । अरबौंको भौतिक पूर्वाधार लगायतका संरचनामा क्षति पुगेको छ । विपत्तिका कारण अझै धुलिखेल सदरमुकाम लगायतका क्षेत्रमा खानेपानीको हाहाकार छ ।