धुलिखेल/नेकपा माओवादी विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्न गाउँ गाउँ प्रहरी परिचालन गरी परिवारलाई त्रसित बनाएको भन्दै नेकपा माओवादी विप्लव निकट दलित मुक्ति मोर्चाले आपत्ति प्रकट गरेको छ ।
प्रहरीले २०७५ बैशाख १ गतेको विहान राती नमोेबुद्धमा रहेको कुन्साङ्ग लामाको क्रसरमा आगलागी गरेको अभियोगमा केन्द्रिय नेता सहित जिल्ला नेताहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले दर्ता गरेको अभियोग अन्र्तगत केहि नेताहरु पक्राउ पर्दै धरौटीमा रिहा हुँदै गरेका छन् । नेकपा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष रमेश नेपाली लगायतलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोहि पुर्जी बुझाउन प्रहरी नेताहरुको घर घर पुगेको छ । खानीखोला गाउँपालिका वडा नम्वर ५ मा रहेको नेपालीको घरमा साउन ९ गतेको मितिको पक्राउ पुर्जी टाँस्न पुगेको प्रहरीले परिवारका सदस्यलाई धम्क्याउँदै त्रसित बनाएको आरोप दलित मुक्ति मोर्चाले लगाएको छ । ‘आफुहरुकोे राज्यसँग असहमति रही संर्घषरत रहेकाले ब्यक्तिका बारेमा कुनै दुरासय राखेका छैनौं’–जिल्ला अध्यक्ष नेपालीले भने–‘प्रहरी र राज्यका निकायहरु नसच्चिए जस्तोसुकै आन्दोलन र बलिदान दिन तयार छौं ।’ विप्लब माओवादीले शुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न माग गर्दै स्थानीय सरकारका विभिन्न वडाहरुमा तालाबन्दी गरेको थियो । प्रहरीले राज्यले प्रतिवन्ध लगाएको अवस्थामा राजनीतिक गतिविधि संचालन गरेको भन्दै धमाधम विप्लब समुहका नेता तथा कार्यकर्ताहरु पक्राउ र्दै आएको छ । केहिले विज्ञप्ती प्रकाशन गरी पार्टीमा भन्दा स्वतन्त्र जीवन विताउने बताउन थालेका छन् ।





