2026 October 08/ 04:41: 26pm

   बनेपा/जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका १३ वटै स्थानीय तहले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै विभिन्न विधामा सम्मान गरेको छ ।
    वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पालिकाहरूलाई कामका आधारमा सम्मान गरिएको हो । धुलिखेल नगरपालिकालाई अधिकतम् विशेष स्वास्थ्य शिविर सञ्चालन गरेकोमा सम्मान गरिएको छ । बनेपा नगरपालिका सबै स्वास्थ्य संस्थामा न्यूनतम् सेवा मापदण्ड एमएसएस पूर्ण कार्यान्वयन तथा मूल्याङ्कन गरेकोमा सम्मानित भएको छ । पनौती नगरपालिका एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था अवधारणा कार्यान्वयन गरेकोमा सम्मानित भएको छ । नमोबुद्ध नगरपालिका सबै स्वास्थ्य संस्थामा सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी उल्लेखनीय योगदान पु¥याएकोमा सम्मानित भएको छ । पाँचखाल नगरपालिका वडास्तरीय समावेशी अपाङ्ग पहिचान तथा स्वास्थ्य शिविरमार्फत सहायता सामग्री वितरण गरेकोमा सम्मानित भएको छ । मण्डनदेउपुर नगरपालिका नेपालकै पहिलो पूर्णखोप विद्यालय सुनिश्चित स्थानीय तह घोषणा गर्न सफल भएकोमा सम्मानित भएको छ । 
    चौंरीदेउराली गाउँपालिका मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य पहिचान र उपचार सेवामा निरन्तरता दिएकोमा सम्मानित भएको छ । भुम्लु गाउँपालिका परिवार नियोजनका आधुनिक साधन प्रयोग दर सिपिआर प्रबद्र्धनमा उल्लेखनीय कार्य गरेकोमा सम्मानित भएको छ । तेमाल गाउँपालिका नसर्ने रोग रोकथाम, पहिचान तथा प्रभावकारी नियन्त्रणमा प्रशंसनीय कार्य गरेकोमा सम्मानित भएको छ । रोशी गाउँपालिका स्वास्थ्य क्षेत्रको विपद् पूर्वतयारी तथा प्रभावकारी व्यवस्थापन गरेकोमा सम्मानित भएको छ । महाभारत गाउँपालिका राष्ट्रिय पोषण लेखाजोखा अभियान कार्यक्रम सबैभन्दा बढी लेखाजोखा गरी प्रशंसनीय कार्य गरेकोमा सम्मानित भएका्े छ । खानीखोला गाउँपालिका कालाजार रोग निवारण, निगरानी तथा नियन्त्रणका लागि प्रयास गरेकोमा सम्मानित भएको छ । बेथानचोक गाउँपालिका सक्रिय र खोजपडताल तथा एक्स–रे क्याम्पमार्फत क्षयरोग पहिचान र पहिचान दर बृद्धि गर्न योगदान पु¥याएकोमा सम्मानि भएको छ । 
त्यस्तै, जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीपेन्द्र काजी श्रेष्ठ उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएका छन् । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने स्वास्थ्यकर्मी, स्थानीय तह, धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, विश्व स्वास्थ्य संगठन नेपालका डा.अनुपविक्रम बि.सी.तथा जन्त्र नेपालका सुजन ताम्राकार लगायतलाई पनि सम्मान गरिएको छ ।

मण्डनदेउपुर नेपालकै पहिलो पूर्णखोप विद्यालय सुनिश्चित घोषणा
    काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका नेपालकै पहिलो पूर्णखोप विद्यालय सुनिश्चित नगरपालिका घोषित भएको छ । आर्थिक वर्ष २०८२÷२०८३ मा जिल्लाका १३ वटै स्थानीय तहले सञ्चालन गरेका कार्यक्रमहरूको वार्षिक समीक्षाका क्रममा मण्डनदेउपुर नगरपालिकालाई उक्त घोषणा गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतम र जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले नगरपालिकालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका हुन् । पूर्णखोप सुनिश्चितताका क्षेत्रमा मण्डनदेउपुर नगरपालिकाले हासिल गरेको उपलब्धिलाई जिल्लाकै महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यस घोषणाले विद्यालय तहमा खोपसम्बन्धी सचेतना र स्वास्थ्य सेवाको पहुँच विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।