जग्गा नगरपालिकाद्वारा ‘रोक्का’, वन मुद्दा दर्ता, अख्तियारले फाईल माग्यो
धुलिखेल/सार्वजनिक जग्गा ब्यक्तिका नाममा दर्ता गरी वन समेत प्लटिङ्ग गरी विक्री गर्न खोजेको भन्दै धुलिखेल नगरपालिकाले वनको जग्गा रेखाङ्कन गर्न र ब्यक्तिका नामको जग्गा रोक्का राखी वदर गर्ने प्रकृया शुरु गरेको छ । वन कार्यालयमा स्थानीयहरुले मुद्दा दर्ता गरेका छन् भने जग्गा पास गर्दा तयार गरिएका कागजातहरुको फाईल अख्तियारले तानेको छ । नापी र मालपोतमा रहेका फाईलहरु अख्तियारले मागेको छ । त्यस्तै सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगले नापी र मालपोत कार्यालयमा रहेका कित्ता नं. १४ र १५ का सबै फाईलहरुको प्रतिलिपि लगेको छ ।
सार्वजनिक जग्गा तत्कालिन वडा अध्यक्ष बलराम पराजुलीले आफ्नो नाममा दर्ता गराई विक्री गरेको र विक्री पछि खरिद गर्ने समुहले थप २ रोपनी ट्रायल चेक मार्फत आफ्नो बनाई वनको सिमाना भित्रको जग्गा समेत प्लटिङ्ग गरी विक्री भएको थियो । धुलिखेल नगरपालिका वडा नम्वर १० ले नगरपालिकालाई वनको जग्गा रेखांकनका लागि निवेदन दिएको थियो । वडा कार्यालयको पत्र नगरपालिकाले नापी कार्यालयलाई पठाउँदै तत्काल जग्गाको सिमांकन गरिदिन अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताए । स्थानीयहरुले न्यायिक समितिमा उक्त जग्गा सार्वजनिक भएकाले ब्यक्तिका नाममा दर्ता भएको खारेज गर्न माग गर्दै उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा नगरपालिकाको न्यायिक समितिले मालपोत कार्यालय काभ्रेलाई २०७६ असार २६ गते समाचार प्रकाशन भएकै दिन जग्गा रोक्का राख्न पत्र पठाएको थियो । मालपोत कार्यालयले २७ गते सोमबार कित्ता नम्वर १४ मा रहेको २२ रोपनी ३ आना २ दाम जग्गा रोक्का राखेको न्यायिक समितिका कर्मचारी सरोज थापाले बताए ।
जिल्ला नापी कार्यालयले कित्ता नम्वर १५ वन क्षेत्र भएकाले नापीका लागि धुलिखेल नगरपालिकाले अनुरोध गरे पछि मंगलबार फिल्डमै गएको जानकारी दिएको छ । सूचना अधिकारी समेत रहेका सहायक नापी अधिकृत सुरेश मानन्धरले कित्ता नम्वर १५ को वन क्षेत्र कित्ता नम्वर १४ को प्लटिङ्ग गर्ने क्रममा फडानी गरेको प्रारम्भिक नाँपजाँचबाट देखिएको बताए । ‘फिल्डमा नक्सा भिडाउँदा वन मासेको देखियो’–अधिकृत सुरेश मानन्धरले भने –‘मेशिन सहितको डिजिटल नापिबाट मात्रै कति क्षेत्रफल वनको मासियो भन्न सकिन्छ ।’ डिभिजन वन कार्यालय धुलिखेलले समाचार प्रकाशन सँगै अधिकृत रामकुमार भण्डारीको संयोजकत्वमा प्रशासनका परशुराम थापा रहेको दुई सदस्यीय छानविन समिति गठन गरेको डिभिजन वन अधिकृत बद्रिकुमार कार्कीले बताए ।
‘वन फडानी गरी प्लटिङ्ग गरेको जानकारी भए लगत्तै पुरानो मुद्दाको फाईल समेत हेरेर प्रतिवेदन बुझाउन आदेश गरेको छु’–डिभिजन वन अधिकृत कार्कीले भने –‘वन फडानी गर्ने समुहलाई वन ऐन अनुसार कारवाही हुन्छ ।’ कित्ता नम्वर १५ मा क र ख ब्लक गरी ११ रोपनी जमिन वन क्षेत्रमा रहेको छ । वडा अध्यक्ष पुष्पराज राउतले सार्वजनिक जमिन र वन क्षेत्र जोगाउनु स्थानीय सरकारको काम भएकाले स्थानीयहरुले समेत दिएको उजुरीका आधारमा जग्गा संरक्षण गर्ने अभियानमा लाग्ने बताए । स्थानीयहरु १ सय १९ जनाले उक्त जग्गा रोक्का गरी दर्ता वदर गर्न माग गरेका थिए भने वन क्षेत्रको जग्गा सिमांकन गर्न अनुरोध गरेका थिए । कित्ता नम्वर १४ तत्कालिन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन हालको वडा कार्यालयको सिफारिस विना २२ रोपनी २ आना ३ दाम गरिएको थियो ।
पञ्चायतमा वडा अध्यक्ष समेत रहेका बलराम पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रविन्द्र अधिकारीका नाममा सगोलनामामा पास गरि दिएका थिए । लालपुर्जामा २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिस बिना २२ रोपनी २ आना ३ दाम पास गरिएको छ । जग्गा किन्ने र वन अतिक्रमण गर्नेहरुलाई वन मुद्दा दर्ता हुने छ भने जग्गा दर्ता गर्ने पराजुलीलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको छ । जग्गा खरिद गर्ने मध्येको विदुर बस्नेतले कानुन अनुसार नै जग्गा खरिद र ट्रायल गरिएको बताए । ‘कानून विपरीत भए र वनको परेमा सजायँ भोग्न तयार छौं ’–बस्नेतले भने ।
यसरी पुष्टी हुन्छ वन
साविक शारदा बतासे पञ्चायत ३ हालको धुलिखेल नगरपालिका वडा नम्वर १० घर भएका ईन्द्रबहादुर भुजेलले कित्ता नम्वर १५ को जग्गालाई पाटा पाटा बनाई बन क्षेत्रमा खेति गर्न शुरु गरेपछि बनेपा इलाका वन कार्यालयले २०४१ साल पौष ५ गते हाजिर हुन आउने गरी पौष ३ गते इन्द्रबहादुर भुजेललाई पत्र काटेको थियो । दोश्रो पटक पौष २१ गते, तेश्रो पटक माघ २३ गतेलाई कार्यालय डाकेको थियो । उक्त मुद्दा २३ नम्बर डायरी अन्र्तगत २०४२ साल साउन २ गते दर्ता भएको थियो । शारदा बतासे गाउँ पञ्चायत वडा नम्वर ३ हाल वडा नम्वर ५ बस्ने इन्द्रबहादुर भुजेलको मुद्दामा २०४६ साल माघ २४ गते फैसला भएको थियो । उक्त मुद्दामा पूर्वमा प्रेमबहादुर समेतको खरबारी साँध, पश्चिम डिल्लीप्रसादको साँध, उत्तर बृक्षारोपण र दक्षिण शिवप्रसाद पराजुलीको साँध रहि चार किल्ला भित्रको पर्ति जग्गामा पानी घाट, गौचरणको रुपमा भएको जग्गा इन्द्रबहादुर भुजेलले खनजोत गरी, गौडा बन्द गरी गाई बस्तुलाई पानी खुवाउन बाधा परेकाले हक नपुग्ने जग्गा फेरबदल गरेकाले गाउँ पञ्चायतले कारवाहीको माग गरेको उल्लेख छ । १३ जनाले भुजेल विरुद्ध उजुरी दिएका थिए । क) लम्बाई ६० मिटर, चौडाई २५ मिटर, जग्गाको हैसियत नाङ्गो ख) लम्बाई १५० मिटर, चौडाई ८० मिटर, नाङ्ग कित्ता नम्वर १५ को जग्गा र बन सिमानाको जग्गा समेत अन्दाजी १२ रोपनी जग्गा सन्धी सर्पणको आधारमा इन्द्रबहादुर भुजेलले आवाद गरेका थिए । तत्कालिन प्रधानपञ्च पदमध्वज थापा क्षेत्री समेतले सर्जमिन गरी उक्त जमिन बन क्षेत्र भित्र पर्छ भनी मुचुल्का गरिदिएका थिए ।
इन्द्रबहादुर भुजेलले नयाँ आवाद गरेको वन क्षेत्र भएकाले प्रधानपञ्च पदमध्वज खत्री समेतको बकपत्र, उजुरी निवेदन, घटनास्थल सर्जमिन मुचुल्का एकै प्रकारको देखिएकाले शारदा बतासे गाउँपञ्चायत वडा नम्वर ३ (ख) को फिल्डबुकमा समेत जंगल जनाई नाप, नक्सा भएको जग्गा इन्द्रबबहादुर भुजेलको हक दावी नलाग्ने र निजले आफ्नो नाममा रहेको कित्ता नम्वर १६ को १६ रोपनी ३ आना जग्गा बाहेकको अन्य जग्गामा निजको हक नपुग्ने फैसला गरेको छ । कित्ता नम्वर १५ को क्षेत्रफल धनहर ०–१४–३–२, भिर पाखो ९–१५–१ को जग्गा सरकारी वन जंगल पर्ति जग्गा अरु दर्ताको नाताले र वन आवाद गरि प्रतिवादी भुजेललाई वन ऐन २०२४ को दफा ३ को (ख) अन्र्तगत कसुर प्रमाणित भएकाले सोहि ऐनको दफा ९ (१) को उप दफा (ख) अनुसार प्रति रोपनी ५० रुपैयाँका दरले ५ सय ४४ रुपैयाँ ७२ पैसा दण्ड जरिवाना गर्नु पर्ने ठहर गरेको छ । उक्त कित्ता नम्वर १५ को जग्गा आवाद गरेको भए पनि सच्याउन ईलाका वन कार्यालय बनेपालाई लेखी पठाउन र उक्त निर्णय चित्त नबुझे ३५ दिन भित्र बागमती अञ्चल कार्यालयमा पुनरावेदन गराउन दिने गरी गरिएको २०४६ साल माघ २४ गतेको फैसला सुनेको भनी स्वयं इन्द्रबहादुर भुजेलले सहि छाप गरेका छन् ।
उत्तर १० नम्वर कित्ता, दक्षिण १६ नम्वर कित्ता, पश्चिम सिमाना शारदा बतासे पञ्चायत ३ (ख) मा रहेको यो जग्गा डिमारकेशान भित्रको जंगल सिमानाको जगल हो भनी तत्कालिन वडा अध्यक्ष बलराम पराजुली स्वयंले प्रमाणित गरेका थिए । उनै पराजुलीले इन्द्रबहादुर भुजेल थुनाउन उजुरी गरे भने उनैले त्यहि वनलाई आफ्नो नाममा दर्ता गराए । २०४४ साल असार ३० गते बलराम पराजुली र कृष्णप्रसाद पराजुलीको आमा रेशमकुमारी पराजुलीले छुट जग्गा दर्ताका लागि मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा १७८४ नम्वरमा निवेदन दर्ता गराउनु भएको थियो । कित्ता नम्वर १४ को २०–८–१–२ क्षेत्रफलको जग्गा भुलबस छोरा कृष्णप्रसाद पराजुलीका नाममा दर्ता भएकाले आमा रेशमकुमारी पराजुलीको नाममा दर्ता गरि पाउँ भनी २०४४ असार ३१ गते शारदा बतासे गाउँ पञ्चायत कार्यालयमा निवेदन दर्ता गराई फागुनमा आमाको नाममा दर्ता गराएका थिए । कृष्णप्रसाद पराजुलीका नामबाट आमा रेशमकुमारी पराजुलीको नाममा दर्ता भएको उक्त जग्गा छोरा बलराम पराजुलीका नाममा २०५५ साल असोज ९ गते नामसारी भएको छ । गाउँपञ्चायतको सिफारिस, जग्गा दर्ता गर्ने ब्यक्ति रेशमकुमारीको निवेदनका आधारमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मितिमा गरेको टिप्पणी, अभिलेख र नाप जाँचका आधारमा भन्दै छुट जग्गा दर्ता गरिदिएको छ । वडा कार्यालय मार्फत धुलिखेल नगरपालिकाले जालसाँझीपूर्वक आफै वडा अध्यक्ष भएको समयमा सार्वजनिक जग्गालाई ब्यक्तिगत बनाई दर्ता गरेको दर्ता खारेज र वन क्षेत्रलाई समेत प्लटिङ्ग गरेकाले कानुन अनुसार कारवाहीका लागि निवेदन दर्ता गराएको छ ।
घटना यस्तो छ
‘जुग देखि सर्वसाधारणले सार्वजनिक जग्गाको रुपमा उपयोग हुँदै आएको जग्गा ब्यक्तिका नाममा बनाईएको छ, जुन वन प्रयोग गरेको अभियोगमा स्थानीय जेल परे त्यहि जमिन धमाधम प्लटिङ्ग भएको छ’–स्थानीय धुव्र्र कार्कीले भने । शारदा बतासे गाविस वडा नम्वर ५ हाल धुलिखेल नगरपालिका वडा नम्वर १० मा रहेको कित्ता नम्वर १४ मा उल्लेख भएको २०–८–१–२ क्षेत्रफलको प्लट पनि पञ्चायतकालमा आफै वडा अध्यक्ष भएको बखत बलराम पराजुलीले शुरुमा भाई कृष्णप्रसाद पराजुलीको नाममा नपाई आमाको नाममा नामसारी गरी २०४५ सालमा छुट जग्गा दर्ता गराएका थिए । २०४५ साल फागुनमा आमाको नाममा दर्ता गरेको उक्त जग्गा २०५५ सालमा आफ्नो नाममा नामसारी गरी २०७५ सालमा ४८ लाख रुपैयाँमा विक्री गरेका थिए । विक्री गरेको जग्गामा खरिद गर्ने विदुरबहादुर बस्नेत सहित चारजनाको समुहले ट्रायल चेक गरी २२ रोपनी २ आना ३ दाम बनाएको छ । उक्त जग्गासँगै कित्ता नम्वर १५ मा उल्लेख भएको वन क्षेत्रको ९ रोपनी १५ आना र थप १४ आना समेत प्लटिङ्ग गरिएको छ । स्थानीयहरुले उक्त प्लटिङ्ग र दर्ता विरुद्ध वडा कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरी उपर वडा कार्यालयले जग्गाको रेखांकन र सार्वजनिक जग्गा दर्ता विरुद्ध खारेजीका लागि प्रकृया शुरु गरेको छ । जिल्ला नापि कार्यालय, जिल्ला वन कार्यालय र सरकारी कार्यालयहरुले सार्वजनिक जग्गा, वन मिचिएको विषयमा अनुसन्धान शुरु गरेका छन् । चलचल्तिको मुल्य अनुसार उक्त जग्गाकोे मुल्य अहिले झण्डै ७ करोड रुपैया पर्नेछ ।
धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै रहेको सार्वजनिक २ रोपनी जमिन ट्रायल चेक गरी कित्ता नम्वर १४ मा मिसाएर प्लटिङ्ग गरिएको छ । सरकारी जमिनलाई दर्ता गरी भाई, आमा हुँदै आफ्नो नाममा पास गरेका तत्कालिन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिस विना २२ रोपनी २ आना ३ दाम बनाईएको छ । सार्वजनिक २ रोपनी जमिन पुनः मालपोत र नापी कार्यालयको सहयोगमा पास गरिएको छ । पञ्चायतमा वडा अध्यक्ष समेत रहेका बलराम पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रविन्द्र अधिकारीका नाममा सगोलनामा पास गरि दिएका थिए । लालपुर्जामा २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिस बिना २२ रोपनी २ आना ३ दाम पास गरिएको छ ।
बलराम पराजुलीले बंैकमा राखेको उक्त जग्गा लिलामी हुन लागेपछि उक्त समुहले खरिद गरी आफ्नो नाममा बनाएको थियो । आफ्नो नाममा पास गरे लगत्तै डिमारकेशन भित्र रहेको वन सिमानाको जमिनलाई ट्रायल चेक गरी थपिएको हो । ट्रायल चेक गर्न कसैसँग सल्लाह लिनु नपर्ने नापी कार्यालयले बताएको छ । जग्गा प्लटिङ्ग गर्ने मध्येका रविन्द्र अधिकारीले आफुहरुले कानुन अनुसार नै जग्गा खरिद गरी प्लटिङ्ग गरेको बताए । ‘यो जग्गा भित्र वन भएको हामीलाई जानकारी छैन, छुट भएको जमिनलाई हाल साविक गराएका छौं, कानून विपरीत रहेछ भने छाड्न तयार छौं’–अधिकारीले भने । शारदा बतासे वडा नम्वर ५ अन्तर्गत इन्द्रबहादुर भुजेलले बारीका पाटा बनाएको सेतिमाटी सापकोटाको पाखो नामाकरण सार्वजनिक रुपमा हुँदै आएको जग्गा ब्यक्तिगत रुपमा प्रयोग हुन गएको हुँदा उक्त पाखो के, कसरी र को मार्फत ब्यक्तिगत हुन गएको हो ? एकिन रुपमा छानविन गरियोस भन्दै २०७६ जेष्ठ ३ गते १ सय १९ जना वडाबासीहरुले वडा कार्यालयमा निवेदन दर्ता गराएका थिए । चारकिल्ला र मोठ अनुसारकोे जग्गा कहाँ गयो ?
शारदाबतासे वडा नम्वर ३ मा रहेको उक्त जग्गा धनी कृष्णप्रसादका बाबु डिल्लीप्रसाद र बाजे प्रेमलाल हुन् । सोहि कित्ताको पूर्वमा सिमाना, पश्चिममा १० नम्वर कित्ता, उत्तरमा १३ नम्वर कित्ता र दक्षिणमा पनि सिमाना उल्लेख गरिएको छ । जसमा २० रोपनी ८ आना जग्गा २०३२ सालको नापीमा नाप गराई २०४५ सालमा दर्ता गरिएको छ । कृष्णप्रसाद पराजुलीले बलराम पराजुलीसँग परिवारको बर्षाै देखि सम्पर्क नभएको बताए । आमा रेशमकुमारी पराजुलीका नाममा दर्ता कायम गरिएको १४ नम्वर कित्तालाई बलराम पराजुलीले विक्री गरेका थिए । ७७ वर्षिय स्थानीय प्रेमबहादुर केसीले कित्ता नम्वर १५ को पुरै भाग बन जंगल भएको र सोहि कित्ता १४ र १६ नम्वरको बीचमा रहेकाले आफुले जाने देखि नै बस्तुभाउ चराउने सार्वजनिक पाखोको रुपमा प्रयोग भएकाले प्लटिङ्ग हुनु र ब्यक्तिका नाममा जानु दुखद् भएको बताए । ‘कि भगवान् जान्दछन्, कि गर्नेले जान्नु प¥यो’– उनले भने– ‘गाई चराउने पाखो कसरी ब्यक्तिगत हुन सक्छ ?’ स्थानीय रामकृष्ण विष्टले कित्ता नम्वर १७९ सँग साविकको कित्ता नम्वर १५ जोडिएकाले १४ नम्वर कित्ता भित्र वन कसरी पस्यो ? अनभिज्ञ भएको बताए ।
‘२०३२ सालसम्म सार्वजनिक जग्ग्गा हालसम्म पनि गाई चरनका रुपमा स्थापित थियो, एकाएक कसरी प्लटिङ्ग हुन पुग्यो’–उनले भने –‘२०४५ सालमा छुट जग्गा दर्ता गराउँदा सबै वन क्षेत्रकोे जमिन आफ्नो नाममा गराएका रहेछन् । १४ नम्वर कित्तामा शुरुमा १४ रोपनी जमिन थियो २०४५ साल फागुन २४ गते २०–८–१–२ रोपनी बनाउँदै २०७५ सालमा २२ रोपनी बनाईएको छ । धुलिखेल नगरपालिका वडा नम्वर १० का अध्यक्ष पुष्पराज राउतले स्थानीयहरुले दिएको उजुरीका बारेमा अध्ययन अनुसन्धान शुरु गरिएको बताए । ‘मोठ, चार किल्ला प्रमाणित, नक्सा अनुसार जग्गा प्लटिङ्ग भएको छैन । कित्ता नम्वर १४ र १६ बीचको सिमाना उल्लेख गरेको जग्गा खोई ? स्थानीय सहित हाम्रो चासोे र अध्ययनको विषय त्यहि हो’–अध्यक्ष राउतले भने –‘वडा कार्यालयले साविकको जग्गा २०–८–१–२ रोपनीका लागि लिलामी भई विक्री वितरण हुन लागेपछि रविन्द्र्र अधिकारी र विदुर बहादुर बस्नेतलाई सिफारिस दिएको हुँ ।’ नापी र मालपोतको पनि मिलेमत्तो देखियो । सामान्य नागरिकको महिनौ काम हुन सक्दैन तर उक्त कित्तामा एकैदिन कार्य सम्पन्न भएको छ ।
उत्तर १० नम्वर कित्ता, दक्षिण १६ नम्वर कित्ता, पश्चिम सिमाना शारदा बतासे पञ्चायत ३ (ख) मा रहेको यो जग्गा डिमारकेशान भित्रको जंगल सिमानाको जगल हो भनी तत्कालिन वडा अध्यक्ष बलराम पराजुली स्वयंले प्रमाणित गरेका थिए । २०४४ साल असार ३० गते बलराम पराजुली र कृष्णप्रसाद पराजुलीको आमा रेशमकुमारी पराजुलीले छुट जग्गा दर्ताका लागि मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा १७८४ नम्वरमा निवेदन दर्ता गराएका थिए । उनले २०४२ साल चैत्र १४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट १९४५० नम्वरको नागरिकता लिएकी थिईन् । कित्ता नम्वर १४ को २०–८–१–२ क्षेत्रफलको जग्गा भुलबस छोरा कृष्णप्रसाद पराजुलीका नाममा दर्ता भएकाले आमा रेशमकुमारी पराजुलीको नाममा दर्ता गरि पाउँ भनी २०४४ असार ३१ गते शारदा बतासे गाउँ पञ्चायत कार्यालयमा निवेदन दर्ता गराएका थिए । कृष्णप्रसाद पराजुलीका नामबाट आमा रेशमकुमारी पराजुलीको नाममा दर्ता भएको उक्त जग्गा छोरा बलराम पराजुलीका नाममा २०५५ साल असोज ९ गते नामसारी भएको छ । बलराम पराजुलीले आमा भन्दा १५ वर्ष अघि २०२७ साल मंसिर ३ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ७७ नम्वरको नागरिकता लिएका थिए ।
गाउँपञ्चायतको सिफारिस, जग्गा दर्ता गर्ने ब्यक्ति रेशमकुमारीको निवेदनका आधारमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मितिमा गरेको टिप्पणी, अभिलेख र नाप जाँचका आधारमा भन्दै छुट जग्गा दर्ता गरिदिएको थियो ।





