2026 April 30/ 03:52: 18pm

    धुलिखेल/जिल्ला आपतकालिन कार्य संचालन केन्द्र आफै संकटमा परेको छ । बर्षातको समयमा दैनिकजसो सडक अवरुद्ध भई ब्यक्तिका घरहरु पुरिने तथा जनधनको क्षति हुँदा उद्धारका लागि खटिनु पर्ने अवस्थामा आफ्नै उद्धारका लागि पहल गर्नु पर्ने भएको छ । 
    ‘आपतकालिन केन्द्रमा टेलिफोन सेट समेत छैन’–कार्यरत कर्मचारीले भने–‘विपद्को सूचना दिन र लिन हामी ब्यक्तिगत खर्चमा आफ्नै मोवाईल फोन प्रयोग गर्ने गरेका छौं ।’ प्रकोप तथा संकटमा उद्धार गर्न गठन गरिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा उद्धारका सामाग्री समेत छैनन । ‘उद्धारका लागि कुनै सामाग्री छैनन’–कर्मचारी राजकुमार घिमीरेले भने–‘दुई जोर बुट, हेल्मेट र एक थान ज्याकेट बाहेक अरु सामाग्री छैैन ।’ भुकम्पका बेला केन्द्रमा भएका ४२ लाख ९३ हजार ४ सय ७९ रुपैयाँको सामान वितरण गरिएको थियो । उक्त सामान हस्तान्तरण भए पछि केन्द्रमा नयाँ सामान कसैले खरिद गरेर स्टोर गरिएको छैन । 
    केन्द्रमा सशस्त्र प्रहरी, जनपथ र रेडक्रसका कर्मचारी कार्यरत छन् । केन्द्रमा बस्ने र आफै टेलिफोन गरेर जानकारी लिने दिने बाहेक केहि काम छैन । असार अन्तिममा परेको अविरल बर्षातमा जिल्लामा कहाँ कति क्षति भयो एकिन तथ्याङ्क छैन । केन्द्र मार्फत तत्काल उद्धार गर्नु परेको अवस्थामा समेत कोषको ब्यवस्था छैन । जिल्ला प्रशासन मार्फत गृह मन्त्रालय मार्फत मृतक ब्यक्तिलाई १ लाख र विपद्मा घर गुमाउनेहरुलाई १० हजार र ५ हजार राहत दिने ब्यवस्था छ । प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराउने उक्त रकम बाहेक तत्काल उद्दारका लागि अन्य रकम छैन । स्थानीय सरकार गठन भए सँगै प्रत्येक वडामा उद्धार तथा प्रकोप ब्यवस्थापन समिति गठन गरी कोषको ब्यवस्था गर्न लगाईएको भए पनि प्रभावकारी छैन ।