2026 October 30/ 04:06: 56pm

         धुलिखेल/दुग्ध उत्पादनमा लाग्ने लागत कम गर्नुका साथै पशु आहारमा पौष्टिक तत्वको मात्रा वृद्धि गर्ने उद्देश्यले पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले कृषकलाई हिउँदे जै घाँसको बीउ वितरण गरेको छ । हिउँदको समयमा हरियो घाँसको अभाव कम गरी पशुपालनलाई सहज बनाउने लक्ष्यसहित कार्यालयले कृषकलाई बीउ उपलब्ध गराएको हो ।
       पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ पशु चिकित्सक डा. व्रजकिशोर ठाकुरले धुलिखेल नगरपालिका–२ मा रहेको सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था र देउराली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्षलाई हिउँदे जै घाँसको बीउ हस्तान्तरण गरेका थिए। उनले सेतीदेवी सहकारीका अध्यक्ष विदुर कोइराला र देउराली सहकारीका अध्यक्ष बलराम कोइरालालाई बीउ हस्तान्तरण गरेका हुन् ।
          जै घाँस पशुपालनका लागि उपयोगी हिउँदे घाँसमध्ये एक हो। यसलाई विशेषगरी गाईभैंसीको हरियो आहारका रूपमा प्रयोग गर्न सकिन्छ । हिउँदमा खेतबारीमा अन्य हरियो घाँसको उपलब्धता कम हुने अवस्थामा जै घाँसले पशुलाई नियमित हरियो आहार उपलब्ध गराउन सहयोग गर्छ । यसमा पाइने प्रोटिन, ऊर्जा तथा अन्य पोषक तत्वले पशुको पोषण व्यवस्थापनमा योगदान पु¥याउँछन् । पर्याप्त र सन्तुलित आहारले पशुको स्वास्थ्य कायम राख्न तथा दूध उत्पादनलाई सहयोग गर्न सक्छ ।
जै घाँसको खेतीले पशुपालक कृषकलाई बजारबाट खरिद गर्नुपर्ने दाना तथा अन्य आहारमा हुने खर्च व्यवस्थापन गर्न पनि मद्दत गर्न सक्छ । आफ्नै खेतबारीमा घाँस उत्पादन गर्न सकेमा बाह्य आहारमाथिको निर्भरता घटाउन सकिन्छ । यद्यपि, यसको प्रभाव घाँसको उत्पादन, पशुको जात, दूध दिने अवस्था र समग्र आहार व्यवस्थापनमा निर्भर हुन्छ ।
             पशु सेवा कार्यालयले उपलब्ध गराएको बीउबाट कृषकलाई राहत पुग्ने सेतीदेवी र देउराली सहकारीका अध्यक्षहरूले बताएका छन्। सेतीदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष विदुर कोइरालाले कार्यालयबाट प्राप्त बीउमा थप गरी कृषकलाई वितरण गर्न सहकारीले थप बीउ खरिद गर्ने बताए । उनका अनुसार कार्यालयले उपलब्ध गराएको तीन सय केजी बीउमा थप गरी प्रतिकृषक पाँच केजीका दरले वितरण गर्ने योजना छ । सेतीदेवी सहकारीमा दूध बिक्री गर्ने कृषकको संख्या छ सयभन्दा बढी रहेको छ भने शेयर सदस्यको संख्या एक हजार एक सयभन्दा बढी छ । सहकारीले सातवटा शाखामार्फत दूध संकलन गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिए । 
          त्यस्तै, देउराली दुग्ध उत्पादक सहकारी संस्थामा तीन सय ७२ जना शेयर सदस्य रहेका छन्। उक्त सहकारीमार्फत दुई सयभन्दा बढी कृषकले दूध बिक्री गर्दै आएका छन् । कार्यालयबाट निःशुल्क बीउ प्राप्त भएपछि कृषकलाई हिउँदमा पशु आहारको व्यवस्था गर्न सहज हुने अपेक्षा गरिएको छ । डा. ठाकुरका अनुसार जै घाँस हिउँदको समयमा उत्पादन हुने भएकाले हरियो घाँसको माग पूरा गर्न र पशु आहार व्यवस्थापनलाई सहज बनाउन उपयोगी हुन्छ । कार्यालयले प्रतिरोपनी पाँच केजीका दरले बीउ रोप्न सकिने जानकारीसहित वितरण गरेको उनले बताए ।
           जै घाँसको उत्पादन बढाउन बीउको उचित छनोट, समयमै रोपाइँ, खेतको चिस्यान व्यवस्थापन र आवश्यक मलखादको प्रयोग महत्वपूर्ण मानिन्छ । घाँस काट्ने उपयुक्त समय र पशुलाई खुवाउने तरिकामा ध्यान दिन सके यसको पोषण उपयोगिता बढाउन सकिन्छ । स्थानीय हावापानी, माटो र बीउको जातअनुसार उत्पादन फरक पर्न सक्ने भएकाले प्राविधिकको सल्लाहअनुसार खेती गर्नु उपयुक्त हुन्छ । जिल्लाभर २५ सय केजी जै घाँसको विउ वितरण गर्ने डा.ठाकुरले बताए । कार्यक्रममा पशु सेवा कार्यालयका पशु चिकित्सक डा. शुशिला श्रेष्ठलगायतको सहभागिता रहेको थियो । निःशुल्क रूपमा जै घाँसको बीउ पाएपछि कृषकहरू खुसी भएका थिए । कार्यालयको यस पहलले हिउँदमा हरियो घाँसको उपलब्धता बढाउनुका साथै पशु आहार व्यवस्थापन र दुग्ध उत्पादनको लागत न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।