2026 October 30/ 04:06: 49pm

    पनौती/पोलियो रोग उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व पोलियो दिवस २०८३ का अवसरमा पनौतीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । रोटरी इन्टरनेसनलको पहलमा हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसका अवसरमा रोटरी क्लब अफ पनौतीको आयोजनामा कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, रोटरी क्लब अफ पनौतीका अध्यक्ष राजेश सुन्दर सैंजु, रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष बासुदेव अधिकारी, रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष मोहन श्रेष्ठ तथा रोटरी क्लब अफ नमोबुद्धका अध्यक्ष टाँसी डोल्मालगायतले रोटरी अभियानका बारेमा धारणा राखेका थिए । 
    त्यसैगरी बालबालिका र पोलियो रोगसम्बन्धी विषयमा बालरोग विशेषज्ञ डा.नारायण श्रेष्ठ, रोटरी क्लबका पोलियोसम्बन्धी कार्यक्रम संयोजक विनिता हाडा, भरत श्रेष्ठ, रोटरी क्लबका विभिन्न पदाधिकारी तथा विभिन्न क्लब र संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रमको आयोजक रोटरी क्लब अफ पनौती रहेको थियो भने सहआयोजकका रूपमा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ काभ्रे बनेपा, रोटरी क्लब अफ काभ्रे भ्याली, रोटरी ई–क्लब अफ नमोबुद्ध र रोटरी क्लब अफ धुलिखेल शिखलापुर रहेका थिए ।
    कार्यक्रममा पोलियो रोग लागेपछि त्यसको प्रभाव पूर्ण रूपमा निको पार्न कठिन हुने भएकाले रोग लाग्नै नदिनु महत्वपूर्ण रहेको जानकारी गराईएको थियो । पोलियो उन्मूलनका लागि सबै बालबालिकालाई निर्धारित तालिका अनुसार पोलियोविरुद्धको खोप अनिवार्य रूपमा लगाउनुपर्नेमा जोड दिइएको थियो । पोलियो रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोपको महत्वबारे समुदायमा जनचेतना फैलाउने, अभिभावकलाई सचेत बनाउने तथा पोलियोमुक्त विश्व निर्माणको अभियानमा सामूहिक सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
    कार्यक्रमले पोलियो उन्मूलन अभियानमा स्थानीय तह, स्वास्थ्यकर्मी, रोटरी क्लब, सामाजिक संघसंस्था र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । अध्यक्ष राजेशसुन्दर सैंजुले रोटरी क्लवले सामाजिक अभियानमा सक्रियता देखाएको छ । पोलियो उन्मुलनका लागि राष्ट्रिय खोप कार्यक्रम, शंकास्पद ब्यक्तिको पहिचान र समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए ।