2026 October 03/ 05:17: 53am

    धुलिखेल/पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले विश्व रेविज दिवसको अवसर पारी सप्ताहब्यापी कार्यक्रम प्रभातफेरी सहितको अन्र्तक्रिया कार्यक्रम मार्फत समापन गरेको छ । 
    धुलिखेलको सरस्वती बजारबाट प्रारम्भ भएको प्रभातफेरी कार्यक्रम पशु सेवा कार्यालय पिपलवोटमा पुगेर समापन भएको थियो । रेविज विरुद्धका सचेतनामुलक प्लेकार्ड तथा माईकिङ्ग सहित आयोजना गरिएको प्रभातफेरीमा पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा.ब्रजकिशोर ठाकुर, पुर्व कार्यालय प्रमुख राजकुमार हुमागाई, पशु चिकित्सकहरु डा.शुशिला श्रेष्ठ, डा.अनिशा श्रेष्ठ तथा पशु सेवा प्राविधिकहरुको सहभागिता रहेको थियो । प्रभातफेरी पछि आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले रेविजबाट बच्न नागरिकहरुलाई सचेतनामुलक जानकारी गराउन, समयमा नै सहज रुपमा खोप लगाउन तथा सामुदायिक कुकुर र जंगली जनावारबाट बच्न ध्यान दिनु पर्ने निश्कर्ष निकालिएको थियो । कार्यालय प्रमुख डा.व्रजकिशोर ठाकुरले विश्वमा रेविज रोगको अवस्था, नेपालमा पारिरहेको प्रभाव र काभ्रेपलाञ्चोक जिल्लाका बस्तु स्थितीका बारेमा जानकारी गराएका थिए । ४ हजार वर्ष अघि शुरु भएको रेविज रोगबाट नेपालमा बर्षेनी एक सय जनाको निधन हुने गरेको छ । खोप लगाउँदा पूर्ण रुपमा बच्न सकिने रेविज रोग लागिसके पछि मृत्युको विकल्प छैन । अधिकांश रेविज कुकुरकै टोकाईबाट हुने गरेको छ । टेकु अस्पतालमा मात्रै दैनिक ४ सय खोप लगाउन पुग्ने गरेका छन् । 
    जिल्लाको मेथिन्कोट, धुलिखेल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र बनेपा नगर अस्पतालमा निशुल्क खोप लगाउने गरिएको भए पनि खोपको अभाव हुँदा नागरिकहरु टेकु पुग्नु पर्ने अवस्था छ । नीजि क्षेत्रका क्लिनिकहरुमा पनि यसको उपलब्धतासँगै मुल्य महङ्गो छ । काभ्रेपलाञ्चोक जिल्लामा केहि वर्ष अघि चौरीदेउराली गाउँपालिकामा ८ बर्षिय बालक, ४४ बर्षिय र ८० बर्षिय पुरुषको रेविजका कारण निधन भएको थियो भने केहि महिना अघि मात्रै बनेपामा एक पुरुषको निधन भएको छ । धुलिखेलमा २२ बर्षिय युवकको निधन भएको छ भने एउटा गाई रेविजका कारण मरेको छ । जंगली जनावारबाट समेत सर्न सक्ने रेविजबाट बच्न गाईबस्तु र कुकुरलाई समेत खोप लगाउनु पर्ने डा.ठाकुरले बताए । 
    चालु वर्ष मात्रै ४२ सय डोज भ्याक्सिन विभिन्न पालिकामा पठाईएको उनले बताए । मानव शरिरका लागि आवश्यक पर्ने रेविज विरुद्धको खोप बार्षिक १० हजार प्राप्त हुने गरेको भए पनि मासिक ९ हजार भन्दा धेरै डोज आवश्यक परिरहेको तथ्यांक छ । नेपालमा पशुलाई आवश्यक पर्ने रेविज खोप उत्पादन हुने गरेको भए पनि अहिले बन्द अवस्थामा छ । जिल्लाको तथ्यांकमा बार्षिक ३ हजार भन्दा धेरै ब्यक्तिले रेविज विरुद्धको खोप लगाईरहेका छन् । प्रतिकुल मौषमका बाबजुत पनि रेविज सप्ताह मनाईएको हो । पशु सेवा कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा.ब्रज किशोर ठाकुरले स्थानीय तहका पशु सेवा शाखाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । स्थानीय तहका पशु सेवा शाखाहरूलाई सप्ताहव्यापी रेबिज दिवस मनाउन पत्राचार गरिएको थियो । अन्तरक्रिया कार्यक्रम सञ्चालन, ब्यानर र खोप वितरण गरिएको छ । कार्यक्रममा नेभ्लाका अध्यक्ष सुर्य खत्री तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले समेत रेविज विरुद्धको खोप सहज रुपमा जिल्लामा नै उपलब्ध गराउन माग गरे । 
    २०८३ असोज ६ देखि असोज १२ गतेसम्म पशु सेवा कार्यालय तथा स्थानीय तहका पशु सेवा शाखाहरूमा निःशुल्क रेबिज रोगविरुद्धको खोप लगाईएको छ । मुख्य तथा सहायक राजमार्गअन्तर्गत पनौती, धुलिखेल, बनेपा, पाँचखाल, नमोबुद्ध र दोलालघाट क्षेत्रमा माइकिङ सहित कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ । रेबिज मानिस तथा पशु दुवैका लागि घातक रोग भएकाले खोप, जनचेतना र समयमै उपचारमार्फत यसको जोखिम न्यूनीकरण गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको पशु सेवा कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा.ब्रज किशोर ठाकुरले बताए ।