मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोकमा पशुपालन तथा पशु स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र व्यवसायीकरण गर्ने उद्देश्यले पशु सेवा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । पशु रोग नियन्त्रण, खोप, कृत्रिम गर्भाधान, पशु उपचार, पशुपालन प्रवद्र्धन, कृषक तालिम तथा राहत वितरणलगायतका गतिविधिलाई कार्यालयले प्राथमिकतामा राखेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा पशु सेवा कार्यालयको प्रादेशिकतर्फ चालु बजेट ६ करोड ३८ लाख ४८ हजार रुपैयाँ विनियोजन भएकोमा ५ करोड ४६ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । यो ८५.७ प्रतिशत वित्तीय प्रगति हो भने भारित भौतिक प्रगति ९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । पूँजीगततर्फ ३ लाख १५ हजार रुपैयाँ विनियोजन भएकोमा ३ लाख १३ हजार रुपैयाँ खर्च भई ९९.३६ प्रतिशत वित्तीय प्रगति भएको छ । समग्रमा ६ करोड ४१ लाख ६३ हजार रुपैयाँ बजेटमध्ये ५ करोड ४९ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ । कार्यालय प्रमुख एवं बरिष्ठ पशु चिकित्सक डा.ब्रजकिशोर ठाकुरले चालु वर्षका कार्यक्रम, बजेट तथा योजना सहित अघिल्लो आर्थिक वर्षमा भएको प्रगतिका बारेमा जानकारी गराएका छन् ।
रोग नियन्त्रणमा खोप अभियान
पशुपन्छीमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि कार्यालयले ठूलो संख्यामा खोप अभियान सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा खोरेत विरुद्ध २ लाख २८ हजार, लम्पी स्किन डिजिज विरुद्ध १ लाख ७ हजार ४ सय, क्लासिकल स्वाइन फिभर विरुद्ध १२ हजार ४ सय र पीपीआर विरुद्ध ५ लाख ४२ हजार २ सय डोज खोप लगाइएको बरिष्ठ पशु चिकित्सक डा.ब्रजकिशोर ठाकुरले बताए ।
बर्ड फ्लु नियन्त्रणका क्रममा बनेपाका २, धुलिखेलमा एक र पनौतीका २७ वटा फार्म नष्ट गरिएको थियो । सोहि क्रममा ९० हजार २ सय ७५ पन्छी, ३८ हजार १ सय ८३ अण्डा, १० हजार २ सय १० दाना तथा ५ हजार २ सय ७५ क्रेट नष्ट गरिएको थियो । २०८३ असार ३१ गतेदेखि जिल्लामा बर्ड फ्लु नदेखिएको कार्यालयले जनाएको छ । नष्ट गरिएका पन्छीहरुको अधिकांश कृषकले अघिल्लो आर्थिक वर्ष र केहिले चालु आर्थिक वर्षमा क्षतिपूर्ति प्राप्त गरेका छन् । अघिल्लो आर्थिक वर्षमा मात्रै ४ करोड ३२ लाख ७८५ रुपैयाँ भुक्तानी भएको थियो ।
प्रभावकारी कृत्रिम गर्भाधान
पशु उत्पादन तथा उत्पादकत्व बढाउन कृत्रिम गर्भाधान कार्यक्रमलाई पनि कार्यालयले प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा गाईमा ३६ हजार ७१, भैंसीमा ७ हजार १ सय ६१ र बाख्रामा ६६ गरी कुल ४३ हजार २ सय ९८ वटा कृत्रिम गर्भाधान गरिएको छ । यसबाट वार्षिक १ करोड २९ लाख ६९ हजार ६ सय लिटर दूध उत्पादन वृद्धि हुने अनुमान कार्यालयको छ । भैंसीबाट वार्षिक ५ लाख ३७ हजार ७५ केजी मासु उत्पादन हुने अनुमान गरिएको छ । गाईभैंसीमा बाँझोपन निवारणका लागि शिविरसमेत सञ्चालन गरिएको थियो ।यस्तै प्रयोगशालामा आधारित रोग पहिचान तथा उपचार र विभिन्न रोगको नमुना परीक्षणलाई पनि कार्यालयले अघि बढाएको छ ।
चौरीदेखि बाख्रापालनसम्म
समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत चौरीपालन तालिम, कृषक भ्रमण तथा पशु स्वास्थ्यसम्बन्धी औषधि वितरण गरिएको छ । कार्यक्रममा ४० वटा चौरी, ६ वटा याक र २० वटा क्रिम सेपरेटर वितरण गरिएको थियो । कार्यक्रमपछि वार्षिक २१ हजार ९ सय लिटर दूध उत्पादन हुने छ । त्यस्तै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सञ्चालित एक जिल्ला एक विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत ८ वटा आधुनिक गोठ र ८ वटा बोका वितरण गरिएको तथा कार्यक्रमपछि मासु उत्पादन २४ हजार केजी हुने अनुमान गरिएको कार्यालयले जानकारी दिएको छ । पशु सेवा कार्यालयले पशुपन्छी उपचार सेवामार्फत गाई ५ हजार ८ सय, भैंसी ३२ हजार, बाख्रा ३० हजार, कुकुर २ सय, बिरालो ५०, कुखुरा ५० हजार र जंगली जनावर १८ गरी कुल १ लाख १८ हजार ६८ पशुको उपचार तथा सेवा गरेको विवरणसमेत सार्वजनिक गरेको छ ।
राहत तथा अनुगमन
कृषि तथा पशुपालन क्षेत्रमा क्षति पुगेका कृषकलाई राहत वितरण गरिएको छ । कार्यालयको विवरणअनुसार काभ्रेमा आर्थिक वर्ष २०८१÷०८२ मा ७७ जनालाई ७३ लाख ४५ हजार २ सय १४ रुपैयाँ तथा आर्थिक वर्ष २०८२/०८३ मा ४ जनालाई १ लाख ९६ हजार ७ सय ५० रुपैयाँ राहत वितरण भएको छ । सिन्धुपाल्चोकका एक जनालाई २० हजार रुपैयाँ वितरण गरिएको छ ।
यसैगरी मासु पसल, डेरी तथा औषधि पसलको अनुगमन, पशु ढुवानी मापदण्ड तथा पशु कल्याणसम्बन्धी चेकजाँच, म्याद नाघेका औषधि नष्ट तथा कारबाही, जुनोटिक रोगसम्बन्धी विद्यालय शिक्षा र पशुपन्छीजन्य पदार्थको उपभोग प्रवद्र्धनलगायतका गतिविधि सञ्चालन गरिएको छ ।
रोग नियन्त्रण तथा पशुपालनको असल अभ्यास
आर्थिक वर्ष २०८३/०८४ का लागि पशु सेवा कार्यालयले कुल ३ करोड ३८ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ ३ करोड १८ लाख ९९ हजार र पूँजीगततर्फ १९ लाख ८५ हजार रुपैयाँ रहेको छ । पशुपन्छी उपचारका लागि औषधि खरिद, प्रयोगशाला सामग्री तथा रसायन खरिद, रोग निदानका लागि ¥यापिड टेष्ट किट, हेमाटोलोजी एनालाइजरका लागि रिएजेन्ट तथा डाइलुएन्ट खरिदलगायतका कार्यक्रम छन् । स्थानीय तहसँग समन्वयात्मक गोष्ठी, योजना तर्जुमा तथा समीक्षा र जनप्रतिनिधि तथा सरोकारवालाबीच योजना तर्जुमा गोष्ठी पनि सञ्चालन गरिनेछ । कृत्रिम गर्भाधान कार्यक्रमका लागि आवश्यक लजिस्टिक व्यवस्थापन र तरल नाइट्रोजन खरिद तथा ढुवानी, नियमित इपिडेमियोलोजिकल रिपोर्टिङ तथा संक्रामक रोगविरुद्धको खोप कार्यक्रम पनि आगामी वर्षको प्राथमिकतामा छन् । संक्रामक रोगविरुद्धको खोप कार्यक्रमका लागि मात्रै ६८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै एपिडेमिक तथा आकस्मिक रोग नियन्त्रण, ओन हेल्थ एप्रोच सम्बन्धी समन्वय, पशुपालनमा असल अभ्यास प्रवद्र्धन, मागमा आधारित जीविकोपार्जन कार्यक्रम, जुनोटिक रोगसम्बन्धी विद्यालय शिक्षा, बर्ड फ्लु नियन्त्रण, पशुपन्छी तथा मत्स्यसम्बन्धी तथ्यांक संकलन तथा प्रेषणलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । स्वच्छ दूध उत्पादन तथा दुग्ध पदार्थ विविधीकरण तालिम, सामुदायिक कुकुर–बिरालो बन्ध्याकरण शिविर, थुनेलो रोग पहिचान तथा नियन्त्रण, एन्टिबायोटिक सेन्सिटिभिटी टेस्टका सामग्री खरिद, पशुपन्छी तथा मत्स्यजन्य पदार्थ उपभोग प्रवद्र्धन, एक पकेट खोरेत रोगमुक्त अभियान, घाँस तथा घाँसेबालीका बीउ–बेर्ना वितरण र पशुपन्छी रोग सर्भिलेन्स तथा नमुना संकलन एवं परीक्षणसमेत आगामी कार्यक्रमको सूचीमा छन् ।
कार्यालयले पशु स्वास्थ्यसँगै उत्पादन र उत्पादकत्व वृद्धि, रोग नियन्त्रण, प्रयोगशाला सेवाको विस्तार तथा कृषकको जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । यद्यपि कार्यालयले बजेट कटौती वा कार्यक्रम संशोधन गर्दा सम्बन्धित कार्यालयसँग पर्याप्त समन्वय नहुनु तथा रिक्त पदमा कर्मचारी पदपूर्ति नहुँदा कार्यसम्पादनमा कठिनाइ हुने समस्या औँल्याएको छ ।









