बनेपा/बनेपा नगरपालिका क्षेत्रमा खाद्य सुरक्षा र खाध्य सामाग्रीहरुको कृतिम अभाबलाई न्युनिकरण गर्न बजार अनुगमन टोलीले बजार क्षेत्रका खाद्यका होलसेल पसल, ग्याँस पसल र होटल तथा रेष्टुरेन्ट हरुको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयकी प्रशासकिय अधिकृत सुनिता थापाको नेतृत्वमा उद्योग वाणिज्य कार्यालयका प्रमुख रविन घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी प्रमुख मनिषा चापागाईं, उद्योग वाणिज्य कार्यालयका रविन्द्र चौलागाई, नेपाल पत्रकार महासघंका अध्यक्ष बिनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य सघंका महासचिब रजित पलाञ्चोके, नेपाल प्रहरी लगाएतको सहभागिता रहेको थियो । टोलिले व्यवसाय दर्ता नगरी पसल सञ्चालन गरेको, खरिद÷बिक्रि बिल प्रयोग नगरेको, म्याद नाघेको खाद्य पदार्थ छुट्टै भण्डारण नगरेको पाईएकोले पसल दर्ता गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । अनुगमन टोलिले बजार क्षेत्रमा खाद्य वस्तुको गुणस्तर, सरसफाइ, म्याद गुज्रिएका सामग्रीको प्रयोग, होटलको भान्साको अवस्था तथा उपभोक्ता स्वास्थ्यसँग सम्बन्धित मापदण्डहरूको निरीक्षण गरेको हो ।
संयुक्त बजार अनुगमन टोलीले उपभोक्तालाई पनि सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री मात्र प्रयोग गर्न, कुनै पनि शंका लागेमा र अनियन्त्रीत भाउ बृद्धि भएको पाईएमा सम्बन्धित निकायमा जानकारी गराउन तथा उपभोक्ता अधिकार प्रति सचेत रहन आग्रह गरेको छ । बजारमा चिनिको अभाव, चामल लगाएत खाध्य सामाग्रीहरुको भारी मुल्य बृद्धि जस्ता गुनासा आएपछि बजार अनुगमन गरिएको सुनिता थापाले बताईन् । बजार अनुगमनमा थापाले पृथ्बि राजमार्ग अबरुद्धका कारण भाडा बृद्धिका कारण मात्रै मुल्यमा केहि तल माथी भएको र अहिले त्यस्तो नभएको पाईएको बताईन् ।
चिनी बजारमा १ सय १० मा विक्री वितरण भएको पाईएको र अभाव नरहेको, त्यस्तो भएमा प्रशासनमा तुरुन्तै खबर गर्न उपभोक्ताहरुलाई थापाले आग्रह गरेकी छिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी प्रमुख मनिषा चापागाईंले होलसेल पसलमा समेत म्याद नाघेको खाद्य पदार्थ छुट्टै भण्डारण नगरेको, लेवल विना सामान विक्री गरेको पाईएकोले सचेत गराईएको बताईन् । उद्योग वाणिज्य कार्यालयका प्रमुख रविन घिमिरेले नियमित बजार अनुगमन भएकाले उक्त अनुगमनलाई निरन्तरता दिने बताए । स्थानीयवासीले पनि नियमित बजार अनुगमनले खाद्य सुरक्षामा सुधार आउने बताएका थिए ।









