नाला, बनेपा/श्रीमाई उग्रचण्डी साना किसान कृषि सहकारी संस्था लिमिटेड, बनेपा–४ ले समता फाउण्डेशनसँगको सहकार्य तथा समता गुप्त रोग सेवा संस्था र समता युथ ग्रुपको प्राविधिक सहयोगमा गुप्त रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
संस्थाकी अध्यक्ष सनिता न्यौपाने बजगाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख सापकोटाले महिलामा हुने विभिन्न रोगमध्ये क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेकाले यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम महत्वपूर्ण हुने बताइन् । उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनका लागि यस्ता सचेतना कार्यक्रम प्रभावकारी हुने धारणा राखिन् ।
‘नाला क्षेत्रमा नसर्ने रोगको समस्या बढ्दै गएको छ । रोगको समयमै पहिचान, न्यूनीकरण तथा उपचारका लागि सचेतना आवश्यक छ’– उनले भनिन्–‘नगरपालिकाले सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि रोगको निदान, न्यूनीकरण तथा उपचारमा केन्द्रित छन् । अहिलेको अवस्थामा नगर अस्पतालको भूमिका पनि महत्वपूर्ण हुनेछ ।’
कार्यक्रममा संस्थाका सल्लाहकार तथा समाजसेवी मणिप्रसाद सापकोटा, संस्थापक अध्यक्ष सीता दंगाल, समता फाउण्डेशनका राजिव बस्नेत, महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिना, संस्थाकी प्रबन्धक कल्पना सापकोटा, अनिता दाहाललगायतले संस्थाले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारिता, विभिन्न रोगको न्यूनीकरण तथा उपचारका विषयमा धारणा राखेका थिए ।
संस्थाकी अध्यक्ष सनिता न्यौपाने बजगाईँले महिलाको स्वास्थ्य तथा सीपमूलक कार्यक्रममार्फत संस्थाले गर्दै आएका गतिविधि, आगामी योजना तथा आर्थिक समृद्धिका क्रममा देखिएका चुनौती र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी दिइन् । उनले आगामी दिनमा महिलाको स्वास्थ्य, सचेतना तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई संस्थाले प्राथमिकतामा राख्दै निरन्तरता दिने बताइन् ।









