बनेपा/सार्वजनिक बिदा भए पनि बनेपास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकाको स्वास्थ्यलाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको छ । चिकित्सालयले १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क रूपमा स्वर्णविन्दु प्राशन गराएको हो ।
पुष्य नक्षत्रका अवसरमा आयोजना गरिएको कार्यक्रमको बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गरेका थिए । चिकित्सालयका अनुसार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म करिव डेढ सय बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डा.अर्जुन उपाध्यायले जानकारी दिए । स्वर्णविन्दु प्राशन आयुर्वेदमा बाल स्वास्थ्यसँग सम्बन्धित परम्परागत अभ्यास हो । आयुर्वेदको काश्यप संहितामा यसको उल्लेख रहेको बताइन्छ । नेपालमा विभिन्न सरकारी आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य संस्थामार्फत बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
के हो स्वर्णविन्दु प्राशन ?
आयुर्वेदिक मान्यताअनुसार स्वर्णविन्दु प्राशन भनेको स्वर्णभस्मलगायत आयुर्वेदिक औषधीय द्रव्यलाई उपयुक्त माध्यममा मिसाएर बालबालिकालाई निश्चित मात्रामा खुवाउने विधि हो । विभिन्न सरकारी तथा आयुर्वेदिक स्रोतमा यसको उद्देश्य बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिसँग जोडिएको उल्लेख छ ।
स्वर्णविन्दुमा प्रशोधित स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महलगायत सामग्री प्रयोग हुने डा.अर्जुन उपाध्यायले बताए । औषधिको गुणस्तर र सुरक्षा कायम गर्न सम्बन्धित निकायबाट स्वीकृत सामग्री प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
बालबालिकालाई के फाइदा हुन्छ ?
आयुर्वेदिक मान्यताअनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, पाचनशक्ति, स्मरणशक्ति तथा रोग प्रतिरोधात्मक क्षमतामा सहयोग पु¥याउने अपेक्षा गरिन्छ । सरकारी आयुर्वेदिक स्वास्थ्य संस्थाहरूले स्वर्णविन्दुलाई बाल स्वास्थ्य, पोषण तथा सर्वाङ्गीण विकाससँग जोडेर कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
यसबाट बालबालिकामा शारीरिक विकासमा सहयोग पुग्ने, मानसिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने, पाचन प्रणालीलाई सबल बनाउन सहयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने, स्मरणशक्ति तथा एकाग्रतामा सकारात्मक प्रभाव पार्ने, बालबालिकाको समग्र स्वास्थ्य तथा विकासमा सहयोग पुग्ने आयुर्वेदिक मान्यता रहेको चिकित्सालय प्रमुख डा. उपाध्यायले बताए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डा. अर्जुन उपाध्यायले स्वर्णविन्दु प्राशनलाई बाल स्वास्थ्य प्रवद्र्धन गर्ने आयुर्वेदिक कार्यक्रमका रूपमा लिनुपर्ने बताएका छन् । उपाध्यायका अनुसार बालबालिकाको उमेर र स्वास्थ्य अवस्थाअनुसार चिकित्सकीय सल्लाहमा स्वर्णविन्दु प्राशन गराउनु उपयुक्त हुने र कार्यक्रमको उद्देश्य बालबालिकाको स्वास्थ्य प्रवद्र्धनमा सहयोग पु¥याउनु हो । डा. उपाध्यायले स्वर्णविन्दु के हो, कति पटक खुवाउने, कुन अवस्थामा खुवाउन नहुने र यसका फाइदा के हुन् भन्ने विषयमा जानकारी लिनु पर्ने बताए ।
कुन अवस्थामा स्वर्णविन्दु खुवाउनु हुँदैन ?
स्वर्णविन्दु सबै अवस्थामा बालबालिकालाई खुवाउन मिल्छ भन्ने होइन । आयुर्वेदिक स्वास्थ्य संस्थाहरूले ज्वरो आएको, तीव्र संक्रमण भएको, झाडापखाला भएको वा आपत्कालीन स्वास्थ्य अवस्था भएका बालबालिकालाई स्वर्णविन्दु नदिन सुझाव दिएका छन् । त्यसैगरी औषधिमा प्रयोग हुने सामग्रीप्रति एलर्जी वा अन्य स्वास्थ्य समस्या भएका बालबालिकाको हकमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ । त्यसैले अभिभावकले आफ्नै तरिकाले औषधि तयार गरी खुवाउनुभन्दा स्वास्थ्य संस्थामा चिकित्सक वा स्वास्थ्यकर्मीको निगरानीमा मात्र स्वर्णविन्दु प्राशन गराउनु उचित हुन्छ ।
स्वर्णविन्दु प्राशनलाई बालबालिकालाई दिइने नियमित खोपको विकल्पका रूपमा लिनु हुँदैन । बालबालिकाले सरकारले तोकेको नियमित खोप अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ। स्वर्णविन्दु आयुर्वेदिक बाल स्वास्थ्यसम्बन्धी कार्यक्रम हो । बनेपास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गरेर बालबालिकालाई निःशुल्क स्वर्णविन्दु प्राशन गराएको हो । यो हरेक महिना खुवाउने चिकित्सालयले जानकारी दिएको छ ।









