बनेपा/बनेपा नगरपालिका–४ नालामा रहेको सृष्टिकान्त लोकेश्वर योग साधना केन्द्रको १८ औं वार्षिकोत्सव तथा नवनिर्मित योग भवनको उद्घाटन गरिएको छ ।
कार्यक्रम पतञ्जलि योग समिति बागमती प्रदेशका अध्यक्ष गुवेन तौजलेको प्रमुख अतिथ्यतामा तथा भवन निर्माण संयोजक एवं युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुव्रेन तौजलेले योग साधना केन्द्रले समाजमा स्वास्थ्य, अनुशासन र सकारात्मक जीवनशैली प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले योगलाई केवल शारीरिक अभ्यासका रूपमा मात्र नभई मानसिक शान्ति, सामाजिक सद्भाव र समग्र जीवनशैली सुधारको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । तौजलेले जिल्लामा मुख्य केन्द्र सहित ३ वटा योग भवन रहेको बताए । तौजलले योग केन्द्रहरू समुदायको स्वास्थ्य सुधारका लागि महत्वपूर्ण आधार भएको बताउँदै योगले मानिसलाई शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि सशक्त बताए । योगलाई घरघरमा पु¥याउन सके समाज स्वस्थ र समृद्ध बन्न सक्ने तौजलले बताए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले योग केन्द्रले वडास्तर मै स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान दिएको बताए । श्रेष्ठले स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य भएमा समुदायको समग्र विकास प्रभावकारी हुने बताए । वडाले विकासका पुर्वाधरसँगै वडावासीहरुको स्वास्थ्य, शिक्षा, खेलकूदलाई समेत प्रथमिकतमा राखी काम गर्दै आएको बताए । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने, पतञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष इन्दिरा तौजले, जग्गादाता बालकुमार श्रेष्ठ लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य भवन निमार्ण समितिका कोषाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले राखेका थिए भने भवनको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
जग्गादाता बालकुमार श्रेष्ठबाट ६ आना जग्गा प्राप्त गरे पश्चात विभिन्न सहयोगी संघ संस्था र वडा कार्यालयको सहयोगमा योग भवन तयार भएको बताए । योग भवन निमार्णका लागी ४२ लाख रुपैयाँ संकलन भएको तथा ४१ लाख खर्च भएको श्रेष्ठले बताए । कार्यक्रमका सभापति भवन निर्माण संयोजक रमेश श्रेष्ठले योग भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा केन्द्रलाई अझ व्यवस्थित र सक्रिय बनाइने प्रतिबद्धता जनाए । श्रेष्ठले योग साधना केन्द्रलाई समुदायको स्वास्थ्य र चेतनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा स्थानीय योग साधक, सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त कार्यक्रममा रक्तदानको आयोजना गरिएको थियो भने ३२ जनाले रक्तदान गरेका थिए ।









