बनेपा/काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित वासुकी स्थानमा नागपञ्चमीको अवसर पारेर विशेष धार्मिक तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । नागपञ्चमीका अवसरमा वासुकी स्थानमा नवर्निर्मित भगवान् शिवको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ ।
श्री चुनाताल खैजेडी भजन तथा सांस्कृतिक मञ्चको आयोजना तथा चुनाताल वासुकी टोल विकास संस्था लगायत स्थानीय संघ–संस्थाको सहकार्यमा मेला आयोजना गरिएको हो । मेलामा धार्मिक अनुष्ठानसँगै स्थानीय जातजातिका मौलिक सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा तथा राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहेको थियो । स्थानीय मौलिक धार्मिक परम्परा, बहुसांस्कृतिक पहिचान र लोकसंस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिँदै आएको स्थानीय ईवनारायण दाहालले बताए ।
वडा अध्यक्ष रमेश दाहालका अनुसार १६ औं शताब्दी देखि सोहि क्षेत्रमा निरन्तर बासुकी नागको पुजा गरिदै आएको छ । समुन्द्री सतहबाट १९ सय मिटर अग्लो स्थानमा रहेको बासुकी नागको स्थानमा पुजा गर्दा प्रकृतिले प्रदान गर्ने सबै बस्तुहरु सहज रुपमा प्राप्त हुने विश्वास छ । उनले ११ किलोमिटर सडक निर्माणका लागि तीन तहकै सरकारको समन्वयात्मक भूमिकाको खाँचो रहेको बताए । पर्यटकिय हिसावले समेत आर्कषक रहेको उक्त स्थानमा दशै, नागपञ्चमी लगायतका विशेष दिनहरुमा मेला लाग्ने गरेको पूजा समिति तथा चुनाताल खैजडी भजन तथा सांस्कृतिक मञ्चका अध्यक्ष देवीप्रसाद दाहालले बताए ।
वासुकी नागसँग जोडिएको धार्मिक इतिहास
नेपालमा नागपूजा र नागपञ्चमीको परम्परा प्राचीन धार्मिक तथा सांस्कृतिक विश्वाससँग जोडिएको छ । हिन्दू धार्मिक परम्परामा वासुकीलाई प्रमुख नागमध्ये एक मानिन्छ । समुद्र मन्थनको पौराणिक कथामा वासुकी नागलाई मन्दराचल पर्वतमा बाँधिएको नेती अर्थात् डोरीका रूपमा प्रयोग गरिएको उल्लेख पाइन्छ । भगवान् शिवसँग पनि वासुकी नागको घनिष्ठ सम्बन्ध रहेको धार्मिक मान्यता छ ।
टौदह तथा काभ्रेको पनौती र आसपासको क्षेत्रमा समेत वासुकी नागसँग सम्बन्धित अनेकौं स्थानीय किंवदन्ती र धार्मिक विश्वास पाइन्छन् । पनौतीलाई वासुकी नागसँग जोड्ने स्थानीय धार्मिक कथनअनुसार वासुकीको जन्मथलो यही क्षेत्र भएको र पछि उनलाई पाटनतर्फ लगिएको विश्वास छ । पनौती क्षेत्रकै धार्मिक परम्परासँग जोडिएको अर्को कथनमा वासुकी नाग गरुडबाट बच्दै पुण्यमाता र रोशी खोलाको आसपासका क्षेत्रमा पुगेको र हालको वासस्थानमा सुरक्षित भएर बसेको जनविश्वास पाइन्छ । यस्ता किंवदन्तीले काभ्रे क्षेत्रमा वासुकी नागप्रतिको धार्मिक आस्था र सांस्कृतिक सम्बन्धलाई अझ गहिरो बनाएको देखिन्छ ।
बनेपाको सांस्कृतिक पहिचानस“ग जोडिंदै
वासुकी मेला
बनेपा आफैंमा प्राचीन धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण केन्द्र हो । नगर क्षेत्रमा चण्डेश्वरी जात्रालगायतका ऐतिहासिक पर्व तथा जात्रा लामो समयदेखि निरन्तर चल्दै आएका छन् । हालै सम्पन्न चण्डेश्वरी जात्रा करिब २ हजार ५०० वर्ष पुरानो परम्परासँग जोडिएको उल्लेख गरिएको छ । जात्राका क्रममा भजन, परम्परागत सांस्कृतिक गतिविधि र समुदायको व्यापक सहभागिता हुने गरेको छ । यही सांस्कृतिक परिवेशमा चुनातालस्थित वासुकी स्थानमा आयोजना गरिएको नागपञ्चमी मेला पनि स्थानीय धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षण गर्ने प्रयासका रूपमा हेरिएको छ ।
आयोजक श्री चुनाताल खैजेडी भजन तथा सांस्कृतिक मञ्चको स्थापना वि.सं. २०७८ मा भएको थियो । मञ्चले स्थानीय भजन, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवद्र्धनलाई आफ्नो गतिविधिको महत्वपूर्ण हिस्सा बनाउँदै आएको जनाएको छ । नागपञ्चमीको अवसरमा आयोजना गरिएको मेला धार्मिक पूजाआजा र मूर्ति प्राणप्रतिष्ठामा मात्र सीमित नरही स्थानीय कला, संस्कृति र परम्परागत पहिचानको प्रदर्शन गर्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य रहेको बताईएको छ ।
स्थानीयको बाक्लो उपस्थिती
उक्त कार्यक्रमा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको छ । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण भएका पुर्वाधारहरुको सम्पन्नता र दिर्घकालिन विकासका लागि वडा अध्यक्ष रमेश दाहालले नगर प्रमुख, उपप्रमुख, प्रदेश र संघीय सांसदहरुलाई अनुरोध गरेका छन् । आयोजकहरुले उक्त क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न अनुरोध गरेका छन् ।









