2026 August 20/ 05:39: 32pm

    धुलिखेल/बोक्सीको आरोप, झारफुक र कुटपिटसँग जोडिएको काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ भलवाडीको घटनामा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् । 
    जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पक्राउ परेकाहरूलाई साउन २२ गते धरौटीमा छाड्ने तथा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएको हो । उनिहरु साउन ५ गते पक्राउ परेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोककी सहायक जिल्ला सहन्यायाधिवक्ता निष्ठा कर्माचार्यले साउन २२ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा बोक्सी आरोपसम्बन्धी अभियोग दर्ता गरेकी थिइन् । घटनामा पक्राउ परेका चौरीदेउराली–८ सिमभलबारीका २९ वर्षीय सुरज तामाङ, ३२ वर्षीय राजु तामाङ र ५६ वर्षीय पूर्णबहादुर तामाङ धरौटीमा छुटेका छन् । ५२ वर्षीया सार्कीमाया तामाङ र ४३ वर्षीय बुद्धिलाल तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ । 
    प्रहरीमा परेको जाहेरीअनुसार घटनाको पृष्ठभूमि २०८३ असारको अन्तिम सातादेखि जोडिन्छ । पूर्णबहादुर तामाङकी श्रीमती सार्कीमाया तामाङ असार २० गतेदेखि बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि असार ३० गते गाउँकै बुद्धिलाल तामाङलाई घरमा बोलाएर झारफुक गराइएको जाहेरीमा उल्लेख छ । झारफुकका क्रममा सार्कीमाया आफैं काम्न थालेको र विभिन्न कुरा बताएको दाबी गरिएको छ । सो क्रममा आफूलाई बोक्सीका रूपमा प्रस्तुत गर्ने तथा गाउँका अन्य व्यक्तिको नामसमेत लिने अवस्था सिर्जना भएको बताइएको छ । झारफुक गर्ने क्रममा बुद्धिलालले मोबाइलमा भिडियोसमेत खिचेका थिए । 
    उक्त भिडियो पूर्णबहादुर तामाङले आफ्नी बहिनी पूर्णीमाया लामाको मोबाइलमा पठाएपछि जाहेरवालासम्म पुगेको हो । भिडियो सार्वजनिक भएपछि घटनाले थप विवादको रूप लिएको आरोप छ । जाहेरीअनुसार छयोमाया तामाङले आफू एकल महिला रहेको र विगत १५ वर्षदेखि सार्कीमाया तथा पूर्णबहादुर तामाङबाट बोक्सीको आरोप लगाउँदै मानसिक तनाव दिने गरेको दाबी गरेकी छन् । उनले आफूलाई समाजमा बाँच्नसमेत कठिन हुने गरी अपमानित गरिएको भन्दै कारबाहीको माग गरेकी थिइन् ।
    त्यस्तै, रोजिना तामाङले पनि आफूलाई बोक्सीको आरोप लगाउँदै धम्की दिइएको आरोपसहित प्रहरीमा जाहेरी दिएकी छन् । उनको जाहेरीअनुसार पूर्णबहादुर, राजु र सुरजले टुनामुना तथा तन्त्रमन्त्र गरेर पूर्णबहादुरकी श्रीमती सार्कीमायालाई बिरामी पारेको आरोप लगाउँदै परिवारलाई नै बाँकी नराख्ने किसिमको धम्की दिइएको थियो । घटनाले साउन ३ गते थप उग्र रूप लिएको जाहेरीमा उल्लेख छ । राजु तामाङ र सुरज तामाङले पासाङ दोर्जे तामाङलाई ‘तँ र तेरो श्रीमती दुवै बोक्साबोक्सी हौ’ भन्दै घरमै पुगेर कुटपिट गरेको आरोप छ । 
    कुटपिटबाट पासाङको देब्रे आँखामा चोट लागेको र टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको दाबी गरिएको छ। कुटपिट रोक्न गएकी उनकी श्रीमती रोजिना तामाङलाई समेत कुटपिट तथा लछारपछार गरिएको आरोप छ । उपचारका क्रममा पासाङ दोर्जेलाई १९ हजार ६ सय ५३ रुपैया खर्च भएको छ । विवादका क्रममा राजु तामाङले आफूले पासाङ दोर्जेलाई दुई–तीन थप्पड हानेको स्वीकार गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ ।
    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन ५ गते सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।  अनुसन्धानपछि जिल्ला सहन्यायाधिवक्ता निष्ठा कर्माचार्यले साउन २२ गते जिल्ला अदालतमा अभियोग दर्ता गरेकी थिइन् । अदालतले सोही दिन पक्राउ परेकामध्ये पाँच जनालाई धरौटीमा छाड्ने र फरार रहेका सार्कीमाया तामाङ तथा बुद्धिलाल तामाङलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन आदेश दिएको हो । 
    घटनाले गाउँमा अझै पनि अन्धविश्वास, बोक्सीको आरोप र झारफुकका नाममा हुने व्यवहारले कसरी व्यक्तिगत विवादलाई हिंसात्मक अवस्थासम्म पु¥याउन सक्छ भन्ने प्रश्न उठाएको छ । अदालतमा विचाराधीन रहेको यस घटनामा आरोपित व्यक्तिहरू दोषी ठहर भइसकेका भने छैनन् । उनीहरूमाथिका आरोप प्रमाणित हुने वा नहुने विषय न्यायिक प्रक्रियाबाटै टुंगो लाग्नेछ । झाँक्रीले भिडियो खिचेर पठाउनु नै विवादको रुप शुरु भएको तथ्य देखिएको छ ।