2026 August 15/ 12:17: 41am

    धुलिखेल/धुलिखेल नगरपालिका–६ मा रहेको सिद्धार्थ बालगृह संस्थाले स्थापनाको १४औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
    धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न गतिविधिमा संलग्न भई सिद्धार्थ बालगृहलाई सहयोग पु¥याउने व्यक्तिहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बालगृह सञ्चालन, यसले खेलेको भूमिका तथा राज्यका पछिल्ला नीति, नियम र ऐनभित्र रहेर सिद्धार्थ बालगृहले पु¥याएको योगदानको चर्चा गरे । उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सिद्धार्थ बालगृहले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । 
    कार्यक्रममा बालगृहकी व्यवस्थापक रविना पौडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्था स्थापनादेखि हालसम्म संस्थाले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिका बारेमा जानकारी गराइन् । बालगृह सञ्चालन समिति सदस्य शान्ति सापकोटाले स्वागत गरेको कार्यक्रममा प्रा. डा. लक्ष्मीमैया प्रजापतिले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका सचिव खेमराज निरौलाले संस्थाको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णराम श्रेष्ठले आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । बालगृह सञ्चालनका क्रममा आइपरेका चुनौती तथा आगामी योजनाका बारेमा अध्यक्ष शर्मिला श्रेष्ठले सभामा जानकारी गराएकी थिइन् ।
    कार्यक्रममा बालगृहका बालक वार्डेन तथा सुपरभाइजर विनोद थापाले बालगृह सञ्चालनका क्रममा हुने विविध विषयवस्तुका साथै बालगृहबाट बिदाइ हुने बालबालिका तथा पुनर्मिलन कार्यक्रमका बारेमा जानकारी गराएका थिए । थापा र वडा नं. ६ का वडा सदस्य सुनेश श्रेष्ठले बिदाइ तथा पुनर्मिलन कार्यक्रमको सहजीकरण गरेका थिए । राष्ट्रिय बाल अधिकार परिषद्की मिना केसीले नयाँ बालबालिकालाई स्वागत गर्दै बालगृह सञ्चालन, बालबालिकाको हक–अधिकार तथा विविध विषयमा धारणा राखेकी थिइन् । बालगृहलाई सहयोग पु¥याउने अर्जुन भुषाल र केशवप्रसाद दाहाललाई प्रमुख अतिथि मोहनप्रसाद मरासिनीले कदरपत्र प्रदान गरेका थिए भने धुलिखेल नगरपालिकालाई संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठले कदरपत्रसहित सम्मान गरेकी थिइन् । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू, जनप्रतिनिधि, बाल क्लब तथा बालकल्याण अधिकारी, प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । सिद्धार्थ बालगृहमा ३० जना बालबालिका बस्न सक्ने क्षमता रहेको छ ।