2026 August 06/ 03:53: 09pm

    बनेपा/काभ्रेपलाञ्चोक तथा काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा लुटपाटको आतंक मच्चाउने ‘कर्मा समूह’ का मुख्य नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल २ रविओपीमा हिडिरहेको समयमा मोटरसाईकलमा आएका दुई ब्यक्तिले महिलाको सिक्री लुटपाट गरी मोटरसाईकल छाडेर फरार भएका थिए । 
    इलाका प्रहरी कार्यालय बनेपाले मोटरसाईकल छाडेर फरार ब्यक्तिहरुको खोजि गरिरहेको समयमा उनिहरुको समुह नै काठमाडौमा पक्राउ परेको हो । डिएस्पी राकेश थापाले मोटरसाईकलका आधारमा उनिहरुको पहिचान गर्न सहज भएको बताए । सिसिटिभी फुटेजका आधारमा उनिहरुको खोजि तिब्र पारिएको थियो । सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३४ वर्षीय कर्मा तामाङको नेतृत्वमा रहेको यो गिरोहले काभ्रेपलाञ्चोक जिल्लालाई समेत आफ्नो आपराधिक क्रियाकलापको मुख्य रणनीतिक केन्द्र बनाउने गरेको खुलेको छ । पक्राउ पर्नेमा कर्मा तामाङसहित काभ्रेपलाञ्चोकका तीन जना प्रमुख सदस्य रहेका छन् । जसमा धुलिखेल नगरपालिका–१० का ३० वर्षीय प्रतिमान गोले, पनौती नगरपालिका–९ का ३० वर्षीय पासाङ घिसिङ र भुम्लु गाउँपालिका–९ का ३६ वर्षीय मनोज तामाङ रहेका छन् । त्यस्तै समूहका अर्का सदस्य कास्की सराङकोटका २९ वर्षीय आले गुरुङ पनि पक्राउ परेका छन् ।
    पक्राउ परेका सदस्यहरूको पृष्ठभूमि र उनीहरूको कार्यशैलीले काभ्रे क्षेत्र कसरी यो गिरोहको निशाना र आश्रयस्थल बनेको थियो भन्ने प्रष्ट पार्छ । लुटपाटमा प्रयोग हुने मोटरसाइकल चोरी गर्ने पासाङ घिसिङ पनौतीका हुन् । पासाङ मोटरसाइकल चोरी गर्न पोख्त मानिन्छन् । उनले अहिलेसम्म करिब २० वटा मोटरसाइकल चोरी गरिसकेको खुल्न आएको छ । काभ्रे र उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर लुटपाट गर्ने समूहलाई उपलब्ध गराउने मुख्य जिम्मेवारी उनैको थियो । उनीविरुद्ध यसअघि बौद्ध वृत्तमा चारवटा डाँका चोरीका मुद्दा दर्ता भइसकेका छन् । लुटपाटमा बाइक राइडरको भूमिका खेल्ने प्रतिमान गोले धुलिखेलका हुन् । प्रतिमान लुटपाटको समयमा मोटरसाइकल चलाउने (राइडर)का रूपमा सक्रिय थिए । ललितपुरको नख्खु कारागारमा सजाय भोगिरहेका उनी गत भदौ २४ गतेको घटनापछि फरार भएका थिए । त्यसबेला बनेपाबाटै पक्राउ परेका उनी कैद सजाय सकेर छुटेको तीन साता नबित्दै फेरि कर्मा समूहमा आबद्ध भएका थिए । महाराजगञ्ज र चापागाउँ वृत्तमा समेत उनीविरुद्ध डाँका चोरीका मुद्दा रहेका छन् । 
    सुनको स्वरूप परिवर्तन गर्ने पसले मनोज तामाङ बनेपामा स्थायी बसोबास गर्दै आएका थिए । मनोज तामाङ यो समूहका लागि ‘रिसिभर’ को रूपमा काम गर्दथे । समूहले काठमाडौं उपत्यका र बनेपा आसपासका क्षेत्रमा लुटपाट गरी लुटेका सुनका सिक्री, रिङ तथा टपहरू उनै बनेपाका मनोजलाई बिक्री गरिन्थ्यो । मनोजले ती गरगहनालाई गालिबनाई स्वरूप परिवर्तन गरेर सजिलै बजारमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यो गिरोहले काठमाडौंमा मात्र सीमित नरही बनेपा आसपासका क्षेत्रमा समेत वृद्धाहरू र असहायलाई निशाना बनाउँदै आएको थियो । २०८३  १५ असारको राति बनेपास्थित सेतीदेवी दुग्ध सहकारी गाई फार्म नजिकै दूध लिन हिँडेकी एक महिलालाई यही समूहले मुख छोपेर, घाँटी समाती लछारपछार गर्दै १ तोला २० लालको सुनको सिक्री लुटेको थियो । बाटो सोध्ने बहाना बनाउने र अचानक आक्रमण गरी सिक्री लुटेर मोटरसाइकलमा फरार हुने यो समूहको शैली काठमाडौं र काभ्रे दुवैतर्फ एकैखालको रहेको पाइएको छ ।
    प्रहरीले २०८३ साउन १५ मा बनेपा क्षेत्रबाटै चार जना सदस्य (प्रतिमान, पासाङ, मनोज र आले) लाई पक्राउ गर्न सफल भएको थियो । तर, मुख्य नाइके कर्मा तामाङ भने त्यहाँबाट उम्कन सफल भएका थिए । छिमेकी जिल्लाहरूमा समेत आतंक मच्चाउँदै आएका मुख्य नाइके कर्मालाई भने प्रहरीले १६ साउनको राति बुढानीलकण्ठको चुनिखेलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबै आरोपीहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।