2026 July 31/ 04:43: 35am

    पनौती/काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका–१ मा रहेको मदानी डेरी प्रालिले आफ्ना गुणस्तरीय दुग्धजन्य उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउने उद्देश्यले पनौती नगरपालिका–४ ठाडोबाटो चोकमा सिताराम डेरी नामक आधिकारिक बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।
    गुणस्तर प्रमाणपत्र प्राप्त मदानी डेरी तथा राजधानी डेरीबाट उत्पादन भएका विभिन्न दुग्धजन्य सामग्री उक्त बिक्री कक्षबाट खुद्रा तथा होलसेल मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बिक्री कक्ष उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष एवं डेरी उद्योग संघका संचालक सदस्य माधव दाहाल, बेथान्चोक गाउँपालिका–१ का वडा अध्यक्ष मधुसुदन तिमल्सिना, पनौती नगरपालिका–४ का वडा अध्यक्ष दिपक दाहाल, ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, मदानी डेरीका प्रमुख कार्यकारी अधिकृत मधु दाहाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित दुग्धजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले आधिकारिक बिक्री कक्ष सञ्चालनमा ल्याइएको बताए । उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरी स्वच्छ, ताजा र स्वास्थ्यका दृष्टिले सुरक्षित सामग्री उपलब्ध गराउने प्रतिबद्धता अध्यक्ष माधव दाहालले व्यक्त गरे । 
    बिक्री कक्षमा मदानी डेरीबाट उत्पादन हुने आठ प्रकारका चीज, पनिर, खुवा, नौनी र घिउ उपलब्ध छन् । त्यस्तै राजधानी डेरीबाट उत्पादन हुने दूध, दही र मही पनि बिक्रीका लागि राखिएको छ । दही चिनी मिसिएको र बिना चिनीको गरी दुई प्रकारमा उपलब्ध छ भने दूध पनि उपभोक्ताको आवश्यकता अनुसार तीन फरक प्रकारमा बिक्री गरिने कम्पनीले जनाएको छ । मदानी डेरीले काभ्रेपलाञ्चोक, ललितपुरलगायतका विभिन्न स्थानमा आफ्ना आधिकारिक बिक्री कक्षमार्फत गुणस्तरीय दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार पनौतीमा सञ्चालनमा आएको नयाँ बिक्री कक्षले स्थानीय उपभोक्तालाई गुणस्तरीय उत्पादन सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय कृषि तथा दुग्ध व्यवसायको प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
    दक्षिण पडाडी भू–भागका बेथान्चोक, खानीखोला, महांकाल र बागमती गाउँपालिका भित्र बसोबास गर्ने कृषि तथा पशुपालन पेशामा निर्भर स्थानीयहरुलाई आर्थिक समृद्धी हासिल गराउने उदेश्यले बेथान्चोक गाउँपालिका वडा नम्वर १ मा मदानी डेरी शुभारम्भ गरिएको थियो । ७ सय ५० लिटर दैनिक दुध संकलन गरी प्रारम्भ भएको मदानी डेरीले हाल ४२ वटा संकलन केन्द्र मार्फत दैनिक ८ हजार लिटर दुध संकलन गरिरहेको छ । आगामी पाँच वर्षमा दैनिक ४० हजार लिटर दुध संकलन गर्ने महत्वकाँक्षी योजना समेत अघि सारेको छ । कृषकहरुलाई ब्यवसायीकरण, न्यून लागतमा धेरै उत्पादन लगायतका विविध योजनाका साथ मदानी डेरीले कृषि क्षेत्रमा पशुपालनबाट आर्थिक समृद्धि सम्भव छ भन्ने प्रमाणित गर्ने गरी कार्य गरेको अध्यक्ष माधव दाहालले बताए । 
    ‘किसानले उत्पादन गरेको दूधलाई उचित मुल्यमा संकलन गर्ने, गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादन र बजार विस्तार गर्ने कार्यमा प्रगति भएको छ’–अध्यक्ष दाहालले भने–‘यो सफलता केवल ब्यवस्थापन वा प्रविधिका कारण मात्रै नभई स्थानीय सरकारको पूर्ण सहयोग, कृषकहरुको समर्पण र विश्वास, कर्मचारीहरुको मेहनत र शेयरधनीहरुको धैर्यता सहितको विश्वास हो ।’ ‘राजजधानी र आसपासका जिल्लाहरुमा बाहेक अहिले विराटनगर, पोखरा र बुटवलका प्रमुख शहरमा मदानी डेरीका उत्पादन पुगेका छन् । कृषकहरुलाई घाँस धेरै हुने समयमा त्यसलाई काटेर भण्डारण गर्ने प्रविधि र ब्यवस्थापनमा पनि मदानी डेरीले कार्य प्रारम्भ गरेको छ ।