2026 July 24/ 05:24: 29am

      बनेपा/बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, प्रमुख उपसचिव सविता दंगालको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्दु थापा, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, महासंघका पूर्व अध्यक्षहरू, विद्यालयका विभिन्न विभागका प्रमुख, शिक्षकहरू, विभिन्न क्षेत्रका व्यक्तित्व तथा प्याब्सनका विभिन्न पालिकाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए । साथै, विद्यालयले आयोजना गरेको डिजिटल सामग्री निर्माण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । विद्यालयले डिजिटल सीप, सिर्जनशीलता र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा नवीन सोच र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । विद्यालयले अध्यापन हुने विषयहरूमा आधुनिक शिक्षण पद्दति, दक्ष शिक्षक, प्रयोगात्मक सिकाइ, सूचना प्रविधिको प्रभावकारी प्रयोग र विद्यार्थी केन्द्रित वातावरणमा अध्यापन गराइने जानकारी दिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै नेतृत्व विकास, अनुसन्धान, नवप्रवर्तन, सञ्चार सीप तथा नैतिक शिक्षामा पनि जोड दिइने विद्यालयको भनाइ छ । प्रमुख अतिथि सविता दंगालले विद्यार्थीलाई जीवनको महत्वपूर्ण चरणमा प्रवेश गरेको उल्लेख गर्दै लक्ष्य स्पष्ट बनाएर अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययन गर्न आग्रह गरिन् । उनले केवल परीक्षामा राम्रो अंक ल्याउने मात्र नभई व्यवहारिक ज्ञान, सीप र जिम्मेवार नागरिक बन्ने दिशामा अघि बढ्नुपर्ने बताईन् । गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाई थियो । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल एकेडेमीले स्थापनाकालदेखि नै गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने लक्ष्यका साथ काम गर्दै आएको बताए । विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आधुनिक प्रविधिसहितको शिक्षण प्रणाली, अनुभवी शिक्षक र अनुशासित वातावरण उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले अभिभावकको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे । विद्यालयकी प्रिन्सिपल इन्दु थापाले नयाँ विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकास, अतिरिक्त क्रियाकलाप, करियर परामर्श, डिजिटल शिक्षण, प्रयोगशाला तथा अनुसन्धानमुखी सिकाइलाई विशेष प्राथमिकता दिएको बताईन् । विद्यार्थीलाई समयको सही सदुपयोग गर्न, नियमित अध्ययन गर्न, प्रविधिको सकारात्मक प्रयोग गर्न र असल चरित्र निर्माणमा ध्यान दिन आग्रह गरिन् । 
    प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै पछिल्लो समय सरकारले निजी विद्यालयमाथि लगाएको ३ प्रतिशत शिक्षा सेवा करले शिक्षा क्षेत्र थप दबाबमा परेको बताए । शिक्षा सेवा नाफामुखी व्यवसाय मात्र नभई राष्ट्र निर्माणसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले यस्ता नीतिहरू पुनर्विचार गर्नुपर्ने उनले बताए । निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले शिक्षासँगै सूचना र सञ्चारको सही प्रयोगको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई सत्य, तथ्य र जिम्मेवार डिजिटल अभ्यासमा जोड दिन आग्रह गरे । प्रविधिको प्रयोग सिकाइ, अनुसन्धान र सिर्जनशीलताका लागि हुनुपर्नेमा अध्यक्ष न्यौपानेको जोड थियो । 
    कार्यक्रमका वक्ताहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै अनुशासन, नैतिकता, समय व्यवस्थापन, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा डिजिटल साक्षरतामा विशेष ध्यान दिन सुझाव दिएका थिए । साथै, अभिभावक र विद्यालयबीचको निरन्तर सहकार्यले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने धारणा पनि व्यक्त गरिएको थियो । कार्यक्रमले नयाँ विद्यार्थीलाई विद्यालयसँग परिचित गराउनुका साथै उच्च शिक्षाप्रति प्रेरित गर्ने, आत्मविश्वास अभिबृद्धि गर्ने र भविष्यप्रति सकारात्मक सोच विकास गराउने विश्वास विद्यालयले व्यक्त गरेको छ ।