2026 June 19/ 01:16: 00am

विकास तिमल्सिना
खोपासी, काभ्रे

    जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेको आयोजनामा पनौती नगरपालिका–१० खोपासीस्थित जलविद्युत् केन्द्र परिसरमा विपद् पूर्व र विपद् पश्चात् उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि संयुक्त विपद् उद्धार अभ्यास ‘हातेमालो २०८३’ सम्पन्न भएको छ ।
    प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक गोपालकुमार अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेनाको धुलिखेलस्थित श्रीमेहर गण, सशस्त्र प्रहरी बल पाँचखाल र जिल्ला प्रहरी कार्यालय काभ्रेका सुरक्षाकर्मीहरूले विपद् प्रतिकार्य तथा उद्धारसम्बन्धी विभिन्न अभ्यास प्रस्तुत गरेका थिए । पनौती नगरपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरूले विपद्को अवस्थामा संयुक्त रूपमा गरिने उद्धार तथा प्रतिकार्यका विविध पक्षबारे जानकारी गराएका थिए । अभ्यासका क्रममा पानीजन्य विपद्, आगलागी, ग्यास चुहावटबाट हुन सक्ने दुर्घटना, घरभित्र च्यापिएका वा थुनिएका व्यक्तिको उद्धार, खोँचमा खसेका व्यक्तिहरूको उद्धार तथा सडक दुर्घटनापछि गरिने खोज, उद्धार र उपचारका नमुना प्रदर्शन गरिएको थियो ।
    अभ्यासका क्रममा आधुनिक प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको थियो । विशेषगरी ड्रोनमार्फत दुर्घटनास्थलको अवस्थाको निरीक्षण, आवश्यक जनशक्ति तथा उद्धार सामग्री व्यवस्थापन, खोज तथा अनुसन्धानका कार्यहरूको प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई उद्धारमा प्रयोग हुने विभिन्न उपकरण तथा तिनको प्रयोग विधिबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, धुलिखेल नगरपालिका तथा अन्य विभिन्न निकायहरूको सहयोग रहेको थियो । सोहि अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेका १३ वटै स्थानीय तहसँग समन्वय गरेर विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार र थप क्षति हुन नदिन आवश्यक तयारी भइरहेको बताए। विपद्को समयमा प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकायहरू निरन्तर सक्रिय रहेको उनको भनाइ थियो ।
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रशासकीय अधिकृत सुनिता थापा तथा श्रीमेहर गणका मेजर कृष्णबहादुर थापा क्षेत्रीले काभ्रे जिल्लाको विपद् अवस्था, विद्यमान चुनौती तथा रोकथामका उपायबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीसहित जिल्लाका अधिकांश स्थानीय तह विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै पूर्वतयारी र जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याए । अभ्यास कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जारा, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, विभिन्न वडाका अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेलगायतको सहभागिता रहेको थियो । 
    कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार काभ्रेपलाञ्चोक जिल्लामा २०८१ साल असोज १० देखि १२ गतेसम्म आएको विपद्मा ८१ जनाले ज्यान गुमाएका थिए भने हरेक वर्ष औसत १५ देखि २० जनासम्म नागरिकले विभिन्न विपद्का कारण ज्यान गुमाउने गरेका छन् । यस्ता घटनाबाट करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको पनि जानकारी गराइएको थियो । केही दिनअघि मात्रै सुरक्षा निकायले विपी राजमार्गमा फसेका ८९ जना यात्रुलाई सकुशल उद्धार गरेको उदाहरण प्रस्तुत गर्दै विपद् व्यवस्थापनमा सुरक्षा निकायहरूको समन्वय र तयारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले ‘हातेमालो २०८३’ आयोजना गरिएको आयोजकले जनाएको छ ।