2026 July 06/ 04:04: 40am

    बुच्चाकोट, नमोबुद्ध/धुलिखेल–विपी राजमार्गअन्तर्गत बुच्चाकोटदेखि कटुञ्जेसम्म सञ्चालनमा रहेका होटल तथा भोजनालयहरूको अनुगमन तथा निरीक्षण गरिएको छ । जिल्ला बजार अनुगमन समितिले उक्त क्षेत्रमा रहेका ११ वटा व्यवसायको अनुगमन गरिएको जानकारी दिएको छ ।
    अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि करिब १५ हजार ८ सय रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ । त्यस्तै, विभिन्न मापदण्ड उल्लंघन गरेको पाइएपछि पाँच वटा भोजनालयलाई जरिवाना गरिएको छ । जरिवानाबापत कुल ४० हजार रुपैयाँ राजस्व संकलन गरिएको अनुगमन समितिले जनाएको छ । यसैबीच, आवश्यक अनुमति तथा मापदण्डबिना बेकरीजन्य उत्पादन बजारमा बिक्री वितरण गरिरहेको एक उद्योगलाई बन्द गराइएको छ ।
    निरीक्षणका क्रममा अधिकांश भोजनालय तथा होटलहरूमा खाद्य स्वच्छता र सुरक्षासम्बन्धी गम्भीर कमजोरीहरू भेटिएका थिए। भान्सामा कार्यरत कामदारहरूले एप्रोन तथा हेयरनेट प्रयोग नगरेको, फोहोर व्यवस्थापनका लागि आवश्यक डस्टबिन नराखिएको वा राखिएका डस्टबिनमा ढकनी नलगाइएको पाइएको थियो । त्यसैगरी, फ्रिजभित्र काँचो मासु, पकाइएका खाद्य पदार्थ तथा दुग्धजन्य सामग्री एकै ठाउँमा राखिएको, खाद्य पदार्थहरू नछोपी लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गरिएको तथा सडेगलेका तरकारी र किराले असर गरेका गेडागुडी प्रयोग गरिएको अवस्था फेला परेको छ । केही स्थानमा खाद्य सामग्री तयार पार्न प्लास्टिक उप्किएको चपबोर्डसमेत प्रयोग गरिएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं को नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख मनिषा चापागाईं, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख रविन घिमिरे, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमन टोलीले होटल तथा भोजनालय सञ्चालकहरूलाई खाद्य स्वच्छता, उपभोक्ता स्वास्थ्य सुरक्षा तथा गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन दिएको छ । साथै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।