2026 June 19/ 01:16: 00am

बेथान्चोक/बेथान्चोक गाउँपालिका वडा नं. ३ स्थित श्रीकृष्ण गोपाल माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ । शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको शिविरमा ६ सय १ जनाले सेवा लिएका छन् ।
    राष्ट्रिय सेवा दलको आयोजनामा आयोजित शिविरमा नेपाली सेनाको श्रीमेहर गण धुलिखेल, बेथान्चोक गाउँपालिका लगायत अन्य संघसंस्थाहरूको समन्वय रहेको थियो । ‘नेपाली सेनासँग नागरिकहरूको सम्बन्ध गहिरो बनेको छ’– गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने – ‘विपद्का हरेक घटनामा नेपाली सेनाले नागरिकप्रति गरेको सहयोग गाउँबासीहरूले भुल्ने छैनन् । स्वास्थ्य परीक्षण शिविरले नागरिकहरू थप लाभान्वित हुने अवसर प्राप्त गरेका छन् ।’ गाउँपालिकाका तर्फबाट शिविरमा सहयोग गर्ने विभिन्न संघसंस्था, नेपाली सेनाको टोली तथा राष्ट्रिय सेवा दललाई अध्यक्ष अधिकारीले धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
    बेथान्चोक गाउँपालिका २०८१ असोज १०–१२ मा भएको विपत्तिबाट प्रभावित पालिका हो । सडक, विद्युत्, खानेपानी लगायतका पूर्वाधारमा मात्रै ७ देखि ९ अर्ब रुपैयाँको क्षति भएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार विपत्तिमा परी सोही समयमा १२ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । विपत्तिका बेला नेपाली सेनाले पु¥याएको सहयोगको स्मरण गर्दै अध्यक्ष अधिकारीले स्वास्थ्य शिविरबाट नागरिकहरू थप लाभान्वित भएको बताए ।
    कार्यक्रममा नेपाली सेनाको धुलिखेलस्थित श्रीमेहर गणका प्रमुख सेनानी गणपति झलक सुवेदीले नागरिकहरूलाई सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन नेपाली सेनाले सहयोग गर्न पाएकोमा धन्यवाद व्यक्त गरे । नागरिकहरूको हरेक दुःख–सुखमा नेपाली सेनाको टोली सक्रिय रहने बताउँदै गणपति सुवेदीले स्वास्थ्य परीक्षणमा सहभागी भएकाप्रति आभार व्यक्त गरे । राष्ट्रिय सेवा दलमार्फत नागरिकहरूले प्राप्त गरेको सेवा गुणस्तरीय रहेको उनले बताए ।
    कार्यक्रममा एनसीसीका केन्द्रीय सदस्य समिर घिमिरेले सैनिक र नागरिकबीचको सम्बन्धलाई जनस्तरसम्म पु¥याउन शिविर र राष्ट्रिय सेवा दल महत्वपूर्ण रहेको बताए । बेथान्चोकमा ६ सयभन्दा बढी नागरिकलाई सेवा उपलब्ध गराउन पाएकोमा उनले खुसी व्यक्त गरे । एनसीसी काभ्रेका आयुषमान लामाले बेथान्चोकमा शिविर आयोजना गर्न पाएकोमा गाउँपालिका र वडा कार्यालयलाई धन्यवाद व्यक्त गरे ।
    शिविरमा नेपाली सेनाको राष्ट्रिय सेवा दलका तालिम तथा योजना अधिकृत कर्णेल बिमल केसी, वडा अध्यक्ष कुवेर ढकाल, श्रीकृष्ण गोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिना, वीरेन्द्र सैनिक अस्पताल तथा २६ नं. बाहिनी लगायत नेपाली सेनाका विभिन्न स्थानका चिकित्सकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा राष्ट्रिय सेवा दलका सदस्यहरूको सहभागिता रहेको थियो। समापन कार्यक्रमको सञ्चालन प्रविना खड्काले गरेकी थिइन् । कार्यक्रममा सहयोगीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
    शिविरमा सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकबाट परामर्श, रक्तचाप, सुगर तथा बडी मास इन्डेक्स (बीएमआई) जाँच लगायतका सेवा प्राप्त गरेका थिए । साथै आवश्यक बिरामीलाई निःशुल्क औषधि वितरण गरिनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराइएको थियो । स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एनसीसी स्वास्थ्य शिविर–२०८३ आयोजना गरिएको हो । शिविरमा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण सेवा प्रदान गरिएको आयोजकले जानकारी दिए । ग्रामीण तथा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा सर्वसाधारण नागरिकहरूका लागि लक्षित गरी सञ्चालन गरिएको यस शिविरले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्य शिविरहरूले समयमै रोग पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । स्वास्थ्य परीक्षणसँगै रोगको प्रारम्भिक पहिचान, परामर्श तथा औषधि वितरण भएकाले शिविरबाट नागरिक लाभान्वित भएको सहभागीहरूले बताएका छन् ।