१९ पटक पक्राउ गरेर प्रहरीले अदालत बुझाएका चोरहरु पुनः पक्राउ
बनेपा/चोरी, डाँका तथा विभिन्न अपराधमा संलग्न भएको अभियोगमा तथ्य र प्रमाण सहित पक्राउ पछि १९ पटक अदालत बुझाईएका युवाहरु पुनः सोहि धन्दामा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । ति युवाहरु बसमा लुटपाट र यात्रुहरुलाई अभद्र ब्यवहार गरेको अभियोगमा पक्राउ परे पछि पुराना अभियोग र घटनाका बारेमा सार्वजनिक भएको हो ।
साता अघि प्रहरीले बसमा यात्रा गरिरहेकी महिलाको ब्याग लुटेको अभियोगमा पक्राउ परेसँगै सोहि समुहका अर्का दुई युवा यात्रुलाई अभद्र ब्यवहार गरेको अभियोगमा पक्राउ परे । भुम्लु गापा वडा नम्वर ३ बस्ने श्यामबहादुर भण्डारीका छोरा १९ बर्षिय राहुल भण्डारी बनेपा ७ मा यात्रुहरुलाई अभद्र ब्यवहार गरेको अभियोगमा पक्राउ परे । उनी जिल्ला प्रहरी परिसर काठमाडौ र भक्तपुरबाट चोरी तथा डाँका मुद्दामा १९ पटक मुद्दा दर्ता गरी पक्राउ परेको अनुसन्धानबाट खुलेको छ । उनिसँगै पक्राउ परेका महाभारत गाउँपालिका ७ का २८ बर्षिय सुरज तामाङ भन्ने सुरोच ध्वज मोक्तानलाई जिल्ला प्रहरी परिसर काठमाडौ र भक्तपुरबाट डाँका चोरी कसुरमा एक पटक र प्रहरी बृत्त नयाँ बानेश्वरमा ज्यान मार्ने उद्योगमा एक् पटक मुद्दा दर्ता भई पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान गरेर पक्राउ गरी अदालत बुझाए लगत्तै छुट्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकामध्ये बिशाल तामाङविरुद्ध मात्रै चोरी तथा डाँका सम्बन्धी कसुरमा १९ पटकसम्म मुद्दा दर्ता भइसकेको देखिएको छ । साधुराम भुजेलविरुद्ध यस्तै प्रकृतिका ४ वटा र सुदीप भण्डारीविरुद्ध ६ वटा चोरी तथा डाँका सम्बन्धी र एक पटक ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ । बनेपामा सार्वजनिक बसभित्र नगद चोरी गरेको आरोपमा पक्राउ परेका तीन जनाको विगतको आपराधिक इतिहास सार्वजनिक भएपछि संगठित चोरी र डाँका गिरोहको जालोबारे नयाँ प्रश्नहरू उठ्न थालेका छन् । इलाका प्रहरी कार्यालय बनेपाले पछिल्लो घटनालाई मात्र होइन, विगतका अपराध र सम्भावित नेटवर्कसम्म पुगेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
२०८३ जेठ १० गते बनेपा-१० पुलबजार क्षेत्रमा काठमाडौंबाट पनौतीतर्फ जाँदै गरेको बसमा सवार ललितपुर माहाङ्काल गाउँपालिका–३ की पार्वती सञ्जेलको ब्यागबाट ३२ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । घटनापछि फरार रहेका व्यक्तिहरूमध्ये तीन जनालाई प्रहरीले जेठ १६ गते सिसिटिभी फुटेज र प्राविधिक अनुसन्धानका आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका निवासी सुदीप भण्डारी (सुमन क्षेत्री), साधुराम भुजेल तथा रामेछापका बिशाल तामाङ (पासाङ लामा) रहेका छन् । उनिहरुले नाम र ठेगाना लुकाएका थिए । नागरिकता लगायतका कागजात प्राप्त भएपछि मात्र उनीहरूको वास्तविक विवरण खुलेको बताइएको छ । टिकटक लगायतका आईडिहरुमा उनिहरुको बास्तविकता छर्लङ्ग भएको प्रहरीले बताएको छ । पक्राउ पश्चात उनिहरुको टिकटक प्राईभेट गरिएको छ । प्रहरी अभिलेखमै पटक–पटक पक्राउ परेको इतिहास भएका व्यक्तिहरू पुनः समान प्रकृतिको अपराधमा संलग्न देखिनुले कानुनी प्रणालीको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ ।
पक्राउ, अनुसन्धान, धरौटी वा सजायपछि पुनः अपराधमा फर्किने चक्र कसरी दोहोरिन्छ भन्ने विषयमा सुरक्षा निकायभित्र समेत बहस हुन थालेको छ । इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ परेकाहरूको विगतका घटनाहरू, सम्भावित संगठित सञ्जाल, आर्थिक गतिविधि तथा फरार रहेका अन्य सदस्यहरूको खोजीलाई तीव्र बनाएको जनाएको छ । प्रहरीका अनुसार अनुसन्धान केवल एउटा चोरी घटनामा सीमित नरही पुराना र नयाँ घटनाबीचको सम्बन्ध केलाउने दिशामा केन्द्रित छ । स्थानीयवासीले भने वर्षौंदेखि विभिन्न जिल्लामा सक्रिय रहेको भनिएको यस्तो गिरोहको सम्पूर्ण सञ्जाल उजागर गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रवक्ता डिएस्पी रविन विष्टले पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ । उनिहरु काठमाडौमा बृद्ध महिलाहरुको कानमा लगाएको सुन लुटपाट देखि अन्य अपराधिक घटनामा पनि संलग्न भएको पुष्टी भएको छ ।









