2026 June 05/ 01:18: 05am

    बनेपा/बनेपास्थित होल्डिङ सेन्टरमा अहिले सयौं विस्थापित सुकुम्बासीहरूको जीवन कष्टकर बनेको छ । काठमाडौंका विभिन्न स्थानबाट हटाइएका परिवारहरू यहाँ अस्थायी रूपमा बसिरहेका छन् । 
    उनीहरूको दैनिक जीवन केवल छानामुनिको बासले मात्र चल्ने कुरा होइन । रोजगार गुमेको छ, बालबालिकाको पढाई अन्योलमा परेको छ, ज्येष्ठ नागरिकहरू उपचारको अभावमा छट्पटाइरहेका छन्, दीर्घरोगीहरू नियमित औषधि र स्वास्थ्य परीक्षणबाट वञ्चित छन् । खानपानदेखि व्यक्तिगत खर्चसम्मको समस्या छँदैछ । त्यसमाथि समाजको हेपाई र राज्यको अमानवीय व्यवहारले उनीहरूको पीडा अझ गहिरो बनाएको छ । यही पीडाको भीडमा एउटा कथा छ–दृष्टिविहीन आमा–छोरीको । एउटा यस्तो कथा, जसले मानिसको भन्दा पशुको माया कहिलेकाहीँ कति निस्वार्थ हुन्छ भन्ने अनुभूति गराउँछ ।
    ४० वर्षीया प्रमेश्वरी मुखिया र उनकी २० वर्षीया छोरी मञ्जीला मुखिया दुवै दृष्टिविहीन हुन् । उनीहरूको स्थायी घर सिराहा हो । तर गाउँमा जीविकोपार्जनको कुनै आधार नहुँदा उनीहरू वर्षौं अघि काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्न आएका थिए । आँखाले संसार देख्न नसक्ने उनीहरूका लागि जीवन कहिल्यै सहज थिएन । रोजगारीको अवसर थिएन । परिवारका सदस्यहरू मागेरै जीवन धान्थे । बिहानदेखि साँझसम्मको संघर्षले पेट त भरिन्थ्यो, तर भविष्य कहिल्यै सुरक्षित बन्न सकेन ।
    थापाथलीको बस्ती उनीहरूका लागि केवल बसोबासको ठाउँ थिएन, त्यो उनीहरूको संसार थियो । त्यहाँका गल्लीहरू, छिमेकीहरू र सानो झुपडीमै उनीहरूले आफ्ना सपना र दुःखहरू सँगालेका थिए । तर एकदिन त्यो संसार अचानक भत्कियो । राज्यले उनीहरूलाई त्यहाँबाट हटायो । पहिले बालाजु पु¥याइयो ।  त्यसपछि बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा ल्याइयो । तर उनीहरू एक्लै आएका थिएनन् । उनीहरूसँग एउटा विरालो पनि थियो । त्यो विरालो उनीहरूको साथी थियो । उनीहरूको परिवार थियो । उनीहरूको एकमात्र सहारा थियो । मानिसहरूले धेरै पटक बेवास्ता गरे, अपमान गरे, तर त्यो विरालोले कहिल्यै साथ छाडेन । थापाथलीबाट निकालिँदा पनि ऊ उनीहरूसँगै आयो । बालाजुसम्म साथ दियो । बनेपासम्म पनि पछ्याउँदै आइपुग्यो । 
    होल्डिङ सेन्टरको नयाँ वातावरण उसलाई मन परेन । ऊ बेचैन हुन थाल्यो । कहिले कपडा च्यात्थ्यो, कहिले यताउता दौडिन्थ्यो । मानौं उसले पनि आफ्नो पुरानो बासस्थान गुमाएको पीडा भोगिरहेको थियो । एकदिन अचानक ऊ हरायो । दिन बित्यो । अर्कोदिन पनि बित्यो । तर विरालो फर्किएन । प्रमेश्वरी र मञ्जीलाको मन भक्कानियो । उनीहरूका लागि त्यो एउटा जनावर हराएको घटना मात्र थिएन । त्यो त आफ्नै परिवारको सदस्य हराएजस्तो पीडा थियो । पहिले नै घर गुमेको थियो । जीविका गुमेको थियो । सम्मान गुमेको थियो । अब उनीहरूको सबैभन्दा प्रिय साथी पनि हराएको थियो । उनीहरू निराश भए । ‘अब यहाँ बस्नुको के अर्थ छ र ?’ उनीहरूले आफन्त र छिमेकीहरूसँग भनेका थिए । अन्ततः उनीहरूले निर्णय गरे, होल्डिङ सेन्टर छाड्ने । जेठ १ गतेदेखि सिराहा फर्किने । जे जस्तो भए पनि आफ्नै गाउँ फर्किने । उनीहरूले आफ्नो सानो सामान बाँधे । मन भारी थियो । भविष्य अन्योलपूर्ण थियो । तर त्यसभन्दा बढी पीडा विरालोको सम्झनाले दिइरहेको थियो । तर जीवनले कहिलेकाहीँ अन्तिम क्षणमा एउटा सानो चमत्कार पनि देखाउँछ । शिविर छाड्ने अघिल्लो रात, अचानक हराएको विरालो फर्कियो । ऊ कतैबाट दौडिँदै आयो र सीधै आमाछोरी भएको ठाउँमा पुगेर बस्यो । प्रमेश्वरीले उसको शरीर छामिन् । मञ्जीलाले उसलाई काखमा च्यापिन् । दुवैका अनुहारमा लामो समयपछि मुस्कान झल्कियो । उनीहरूका आँखाले संसार देख्न सक्दैनथे, तर हातले आफ्नो प्रिय साथीलाई तुरुन्तै चिने । त्यो क्षणमा न शब्द थियो, न कुनै ठूलो संवाद । केवल स्पर्श थियो । माया थियो । पुनर्मिलनको खुशी थियो ।
     भोलिपल्ट सिराहा फर्किने तयारी गर्दा उनीहरूको काखमा फेरि त्यही विरालो थियो । सरकारले उनीहरूलाई आफ्नो ठाउँबाट हटायो । समाजले उनीहरूलाई सुकुम्बासीको लाञ्छना दियो । जीवनले असंख्य पीडा दियो । तर एउटा सानो विरालोले भने अन्तिमसम्म साथ छाडेन । बनेपाको होल्डिङ सेन्टरमा बसिरहेका सयौं परिवारहरूको दुःखमध्ये यो एउटा कथा मात्र हो । तर यो कथाले एउटा गहिरो सन्देश दिन्छ, कहिलेकाहीँ मानिसभन्दा बढी माया र निष्ठा एउटा निःशब्द जीवमा भेटिन्छ । प्रमेश्वरी र मञ्जीलाको जीवनमा धेरै अभाव छन् । घर छैन, सुनिश्चित भविष्य छैन । तर उनीहरूसँग एउटा साथी अझै छ, जसले उनीहरूलाई संसारले जति नै धकेले पनि कहिल्यै एक्लो महसुस हुन दिएको छैन । किनकि सबैले छाडेको बेला पनि, त्यो विरालोले उनीहरूलाई छाडेन । विभिन्न कारणबाट सुकुम्बासीहरुको शिविर छाड्ने क्रम बढिरहेको छ । बालबालिकाहरु विद्यालय जान नपाएर छट्पटाईरहेका छन् । सरकार अझै उनिहरुको ब्यवस्थापनमा गम्भिर बनिरहेको छैन । शिविरमा मानसिक रोगी पनि छन् । घर भत्काए पछि शुरु भएको मानसिक रोग बल्झिएको छ । मादक पदार्थ सेवन गरेर अराजक गतिविधि गर्ने महेन्द्र सहनी र कान्छा सहनीले पनि शिविर छाडेका छन् । अर्का नसिम अख्तर पनि स्वेच्छाले शिविर छाडेर लहान गएका छन् ।