2026 June 05/ 01:19: 40am

    बनेपा/बनेपा नगरपालिकाले बनेपा बहुप्राविधिक शिक्षालय परिसरभित्र रहेका कर्मचारी आवासका रूपमा प्रयोग हुँदै आएका ६ वटा भवन संरचना खाली गर्न शिक्षालयलाई निर्देशन दिएको छ । खाली गर्न दिएको समयसीमा भित्र भने कुनै भवन खाली भएका छैनन् । 
    नगरपालिकाले ती भवनलाई अस्थायी प्रशासकीय कार्यालयका रूपमा प्रयोग गर्ने तयारी गरेको जनाएको छ । नगरपालिकामा भएको २०८२ भदौ २४ गतेको आगजनी घटनापछि प्रशासनिक सेवा हाल वडा नम्वर  १०, जनागालस्थित कार्यालयबाट सञ्चालन हुँदै आएको छ । तर वर्षायाम तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक पूर्वाधारको अभाव भएको भन्दै नगरपालिकाले वैकल्पिक व्यवस्थाको खोजी गरेको हो । उक्त कार्यालयमा पनि नगरपालिकाले करिब ५७ लाख भन्दा धेरै रुपैया कार्यालयका लागि खर्च गरिसकेको थियो । अधिकांशले पटक–पटक अस्थायी कार्यालय सार्ने भन्दा पुरानै स्थानबाट जलेका कार्यालयहरु मर्मत गरी संचालनमा ल्याउन सुझाव दिएका छन् । 
    नगरपालिकाले विद्यालयलाई कर्मचारी आवास खाली गर्न अल्टिमेटम दिएसँगै आवासमा रहेका २२ परिवार भने त्रासमा छन् । ‘एकल, गर्भवती, जेष्ठ नागरिक र काखे बच्चाहरु छन्’–कर्मचारीका परिवारले भने–‘तत्काल कहाँ डेरा सर्नु ?’ नगरपालिकाले पठाएको पत्र सहायक प्रिन्सिपल सरोज बाँनियाले सबै कर्मचारीलाई म्यासेन्जरमा पठाए पनि विद्यालयले भने औपचारिक रुपमा आवास खाली गर्न नभनेको उनिहरुले बताए । ‘हामीलाई शिक्षालयले औपचारिक पत्र दिएर आवास उपयोग गर्न दिएको हो । आवास उपभोग गरे बापत तलबाट कट्टि हुने गरी मर्मत खर्च लिने गरेको छ भने विजुली उपभोग गरेको पैसा पनि आफै तिर्ने गरेका छौं’–उनीहरुले भने–‘यो नगरपालिकाकै सम्पत्ति हो । हामी छाड्न तयार छौं । तर तत्काल डेरा पाउने अवस्था भएन । पत्र आएको जानकारी लगत्तै डेरा खोज्न हिडेका छौं ।’
    ‘शिक्षालय आसपासका कुनै घरमा पनि उपयुक्त कोठा पाउन नसकिएको उनिहरुले बताए । ५ जनाको परिवार छ भन्ने वित्तिक्कै घरधनीले डेरा छैन भन्न थाले । एउटा कोठा बाहेक अर्काे कोठा फेला परेको छै्रन । परिवार बस्न जहाँ पायो त्यहि भएन । पानी पनि आवश्यक छ । सबै मिल्ने गरी डेरा पाउन सकिएको छैन’–उनिहरुले भने–‘एकल महिलाको परिवार कहाँ जाने ? गर्भवती महिला अन्तिम महिना भएको छ । कसरी डेरा सर्ने ? उहाँका आफन्त नजिक छैनन् । जेष्ठ नागरिक र साना साना बालबालिकाहरु छन् । कहाँ लैजाने ?’ कर्मचारीहरुले आवासमा प्रयोग गरिएका भवन र डेरा नगरपालिकाका लागि उपयुक्त नभएको बताए । ‘प्रत्येक कोठा एट्याच बाथरुम र किचन जडान गरिएको छ । यो सबै फुटाउनु पर्छ । त्यसो गर्दा पनि तत्कालका लागि उपयुक्त कोठा हुन सक्दैनन्’–कर्मचारीहरुले भने–‘अर्काे तर्फ सिंढी चढेर सेवा लिन जान सकिने अवस्था छैन । विद्यार्थीहरुलाई जति डिस्टर्ब हुँदैन भने पनि असर देखिन्छ ।’ शिक्षालय र परिषद्ले भने अझै निर्णय गरेको छैन । 
    शिक्षालयमा रोहित दाहाल प्रिन्सिपल छन् । नगरपालिका र शिक्षालय बीच दुई चरणमा वार्ता भए पनि शिक्षालय भित्र नगरपालिकाको प्रशासनिक भवन राख्ने र नराख्ने टुङ्गो लागेन । नगरपालिकाले एकतर्फी निर्णयबाट जर्बजस्ति गरिरहेको शिक्षालयले बताएको छ । नगरपालिकाले गरेको जर्बजस्ती विरुद्ध शिक्षालयका कर्मचारीको टोली शिक्षामन्त्रीसमक्ष पुगिसकेको बताईएको छ । २ वटा सिंगल क्वाटर, ३ वटा फेमेली क्वाटर, एउटा प्रिन्सिपल क्वाटर र क्वाटरहरुमा नै लेडिज होस्टल राखिएको छ । सबै क्वाटर पूर्ण छन् । छात्रतर्फको होस्टल भने लथालिङ्ग छ । नियन्त्रण, अनुगमन र ब्यवस्थापन नहुँदा भवनहरु सबै थोत्रा र पुराना भएका छन् भने मर्मत सम्भार शुन्य बनेको छ । विद्यालयले आफ्ना भवनहरुप्रति पुरै वेवास्ता गरेको छ । 
    नगरपालिकाका अधिकृत विशालविक्रम कायस्थद्वारा हस्ताक्षरित पत्रमा नगरसभाको निर्णय कार्यान्वयनका लागि उक्त भवनहरू खाली गरिदिन अनुरोध गरिएको छ । पत्रमा बनेपा नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा निर्मित तथा सञ्चालित शिक्षालयले भोगचलन गर्दै आएका भवनहरूमध्ये उत्तरतर्फको गेटबाट सहज प्रवेश गर्न मिल्ने र प्रयोग गर्दा शिक्षालयको पठनपाठनमा कुनै असर नपुग्ने भएकाले हाल कर्मचारी आवासका रूपमा प्रयोग भइरहेका ६ वटा भवन खाली गर्न अनुरोध गरिएको उल्लेख छ । नगरपालिकाका अनुसार उक्त निर्णय नगरसभाको १७ औँ बैठकबाट सर्वसम्मत रूपमा पारित भएको थियो । साथै, २०८२ जेठ १२ गते बसेको नगर कार्यपालिकाको बैठकले भवन खाली गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । बनेपा नगरपालिका वडा नं. ५ स्थित बहुप्राविधिक शिक्षालयमा हाल सिटिईभिटीअन्तर्गत विभिन्न विषयमा तीनवर्षे डिप्लोमा तहका कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै छोटो अवधिका सीपमूलक तालिमसमेत सञ्चालन हुँदै आएका छन् । यद्यपि पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ ।
    नगर प्रमुख शान्तिरत्न शाक्यले भने नगरपालिकाको उद्देश्य शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध पु¥याउने नभएको स्पष्ट पारे । उनले भने–‘हामी शिक्षालय बन्द गरेर वा विद्यार्थीको पठनपाठनमा असर पारेर प्रशासनिक कार्यालय सञ्चालन गर्न खोजेका होइनौं । पठनपाठनमा कुनै असर नपर्ने गरी कर्मचारी आवासका रूपमा प्रयोग भइरहेका ६ वटा भवनबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्ने योजना बनाएका हौं ।’ नगरपालिकाले २०८३ साउन १ गतेदेखि ती भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । हाल वडा नं. १०, पुलबजारस्थित भवनबाट सेवा प्रवाह गर्दा नागरिक तथा कर्मचारी दुवैले विभिन्न असुविधा भोग्नुपरेको नगरपालिकाको भनाइ छ । स्थानीयवासीले पनि हालको अस्थायी कार्यालयको स्थान र पूर्वाधारका कारण सेवा प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो गर्दै आएका छन् । 
    यसैबीच, नगरपालिकाको निर्णय कार्यान्वयन र शिक्षालयको प्रतिक्रिया आगामी दिनमा थप चासोको विषय बन्ने देखिएको छ ।