बनेपा/बनेपा–१३ भैसेपाटीस्थित विकटेश्वर इङ्गलिस सेकेण्डरी स्कूलले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए प्राप्त गर्ने छात्रा जिया खत्रीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्यामबहादुर भुजेलले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले विद्यार्थीहरूलाई विगतको मेहनत र अभ्यासलाई निरन्तरता दिँदै भविष्यमा अझ बढी परिश्रम गर्न आग्रह गरे । ‘विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको हो’–उनले भने – ‘विद्यार्थीहरू आत्मनिर्भर, अनुशासित र असल नागरिकका रूपमा स्थापित हुनुपर्छ ।’
प्याब्सन काभ्रेका अध्यक्षसमेत रहेका भुजेलले सरकारले संस्थागत विद्यालयप्रति ल्याएको बजेट तथा नीतिले निजी विद्यालयहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे । उनले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कार्यक्रममा प्याब्सन नेपालका उपमहासचिव भिमसेन केसीले विकटेश्वर विद्यालयलाई बधाई दिँदै गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गरेकोमा प्रशंसा गरे। उनले सरकारले शिक्षा क्षेत्रमा लगाएको करले विद्यार्थी र अभिभावकलाई थप आर्थिक भार परेको भन्दै उक्त कर फिर्ता लिन सरकारसँग आग्रह गरे ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना तथा वडा अध्यक्ष रामलाल दुवाललगायत वक्ताहरूले विकटेश्वर विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा एसईई २०८० की उत्कृष्ट विद्यार्थी श्रद्धा भुजेल, २०८१ की जिया खत्री तथा २०८२÷०८३ शैक्षिक सत्रकी उत्कृष्ट विद्यार्थी सिस्रिका भुजेललाई सम्मान गरिएको थियो । ४.० जीपिए प्राप्त गर्ने जिया खत्रीलाई विशेष रूपमा नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थीहरूले नियमित मेहनत, अनुशासन र लगनशीलताबाट मात्र सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गर्दै अन्य विद्यार्थीलाई पनि निरन्तर अध्ययनमा लाग्न प्रेरित गरेका थिए । कार्यक्रममा अन्य एसईई उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनोसहित बधाई तथा शुभकामना प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयमा कार्यरत शिक्षक सजन शाक्यलाई विषयगत रूपमा उत्कृष्ट शिक्षकका रूपमा प्याब्सनले सम्मान गरेको थियो । विद्यालयले पनि उनलाई विशेष सम्मान प्रदान गरेको जनाएको छ ।
कार्यक्रममा वडा जनप्रतिनिधि राजु मधिकर्मी, सरिता शाक्य, लक्ष्मी मिजार, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका भाइस प्रिन्सिपल नारायणबाबु पाल्पालीले सञ्चालन गरेका थिए ।









