2026 May 25/ 07:23: 56pm

६६ शिक्षक कर्मचारी रहेको उक्त विद्यालयमा आन्तरिक श्रोतबाट ३३ जना शिक्षक कार्यरत छन् । 
    पनौती/भालेश्वर माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षता तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
    सोहि अवसरमा विद्यालयलाई चन्दादान गरी छात्रबृत्ति कोषको स्थापना गर्ने ५ जना ब्यक्तिहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति पुरस्कार वितरण गरेका थिए । विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले २०७४–२०८२ सम्मको शैक्षिक, भौतिक, आर्थिक तथा विद्यार्थीहरुहरुको गुणस्तरको विश्लेषणका बारेमा जानकारी गराएका थिए । २०७४ सालमा १४ आना जग्गामा रहेको विद्यालयमा ४ सय १२ जना विद्यार्थी अध्ययन गर्दथे । हाल ३४ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा २७ करोड बराबरको पूर्वाधार निर्माण भएको छ । कक्षा कोठा, नर्सिङ स्टेशन, परामर्श कक्ष, आइ.सी.टी.ल्याब, लाईब्रेरी, विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला, नृत्य कक्ष, साँस्कृतिक गायन कक्ष, खेलकूद कक्ष, सि.जि. ल्याब, क्याफेटेरिया, कार्यक्रम हल, अफिस तथा प्रशासनिक कक्ष, रिसेप्सन, शिक्षक आवास, सुरक्षित र ब्यवस्थित घेराबार, शौचालय युरिनल, शौचालय, स्कुल बस, स्मार्ट बोर्ड, कम्प्युटर लगायतका पूर्वाधारहरुको ब्यवस्थापन गरिएको प्रधानाध्यापक थापाले बताए । 
    प्रत्येक कक्षामा इन्टरनेट कनेक्टिभिटी, प्रत्येक कक्षामा स्पिकरणको ब्यवस्था, कम्प्युटर, प्रोजेक्टर, सि.सि.टि.भि.को ब्यवस्था, खेलमैदानहरुको ब्यवस्था गरिएको छ । भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, टेबलटेनिस, मिनी फुटबल, धारा शौचालयको उचित प्रबन्ध, बगैंचा, प्रार्थना स्थल, प्ले स्टेशनको ब्यवस्था रहेको छ । रेट्रोफिट गरेको भवनमा बालविकास मन्टेश्वरी मोडलमा संचालन गरिएको छ । बालविकासमा १४२, कक्षा १–५ मा ३०३, कक्षा ६–८ मा २५१, कक्षा ९–१० मा २४२ र ११–१२ मा २ सय ८४ गरी १२२० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । नयाँ विद्यार्थी २ सय २३ जनालाई स्वागत गरिएको छ । कक्षा ११ मा भर्ना हुन बाँकी छ भने कक्षा १२ बाट १ सय ३७ जनाले परीक्षा दिएका छन् । सोहि विद्यालयबाट कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरु इन्जिनियरिङ, चिकित्सा शास्त्र, चार्टड एकाउन्टेट जस्ता क्षेत्रहरुमा पुगेको प्रधानाध्यापक थापाले बताए । 
    एसईईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा नगर र जिल्ला प्रथम हुँदै आएको विद्यालयले ३३ जना शिक्षक कर्मचारीलाई विद्यालयको आन्तरिक श्रोतबाट रोजगार दिएको छ भने ३३ जना दरबन्दी अनुसारका शिक्षक कर्मचारी कार्यरत छन् । अभिभावकको सहयोगबाट संचालन भएको विद्यालय जिल्लाकै नमूना विद्यालयमा पर्दछ । २०७३÷०७४ सालमा १ करोड २० लाख ३८ हजार २ सय ४८ रुपैयाँ कारोवार भएकोमा २०८१÷०८२ मा ६ करोड ८७ लाख ३१ हजार २ सय २० रुपैया कारोबार भएको छ । १३ लाख मौज्दातबाट १ करोड ३८ लाख ९४ हजार पुगेको छ । खरिद प्रकृया खरिद ऐन तथा नियम पूर्ण कार्यान्वयन गरिएको प्रधानाध्यापक थापाले बताए । राष्ट्रपति रनिङ शिल्ड, जिल्ला, प्रदेश र नगर स्तरीय खेलकूद, अतिरिक्त कृयाकलाप, निःशुल्क तेक्वान्दो प्रशिक्षण लगायतका कार्यक्रमहरुले विद्यार्थीहरुलाई शिक्षणसँगै अन्य क्षेत्रमा पनि सक्रिय गराएको उनले बताए । 
    योजना सहित शिक्षण, पञ्चवर्षे एसआईपी निर्माण गरी विद्यालय विकासको योजना तर्जुमा गरिएको छ । नियमित सामाजिक परिक्षण, समयमै विद्यालय ब्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघ गठन, नियमित आर्थिक लेखा परिक्षण, अनलाईन लेखा प्रणाली, विद्यार्थीको अनलाईन हाजिर प्रणाली, प्रोक्सि कक्षाको प्रबन्ध, सबै कक्षाकोठमा सिसिटिभीको सर्भिलेन्स, लाईभ अडियो ब्रोडकास्टिङको ब्यवस्था, विद्यालय क्लबहरु गठन लगायतका कृयाकलाप मार्फत विद्यालयमा रहेका शिक्षकहरुलाई प्रशासनिक जिम्मेवारीको बाँडफाँड गरिएको छ । बार्षिकोत्सव कार्यक्रममा प्रमुअ अतिथी अणप्रसाद न्यौपानेले सामुदायिक विद्यालयको लोभलाग्दो ब्यवस्थापन र शैक्षिक गुणस्तर रहेकोमा बधाई र धन्यवाद ब्यक्त गरे । कार्यक्रममा उपप्रमुख गिता बञ्जाराले पनौती नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि समन्वय गरेको बताईन् । 
    शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता उप्रेती, नगरपालिका शिक्षा शाखाका महेश्वर जंगम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, शिक्षक संगठनका अध्यक्ष भिमसेन हुमागाई, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, शिक्षक अभिभावक संघकी अध्यक्ष शारदा न्यौपाने, शिक्षक हरिप्रसाद तिमल्सिना लगायतले भालेश्वर माध्यमिक विद्यालयले प्रदान गरेको शैक्षिक कार्यक्रमका बारेमा धारणा राखेका थिए । १८ वर्ष देखि निरन्तर विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेका राजेन्द्र केसीले विद्यालयलाई नयाँ उचाईमा पु¥याउने निरन्तर शिक्षक, कर्मचारी, अभिभावक, सरकोरावाला निकायसँगको समन्वय गरिरहेको बताए ।