2026 May 15/ 07:29: 20pm

    श्रीखण्डपुर/एसओएस हर्मन माइनर विद्यालयले यस वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले शतप्रतिशत (१०० प्रतिशत) नतिजा सहित दुई जना विद्यार्थी जिल्लामै उत्कृष्ट चार जिपिए ल्याई सम्मानित भएका छन् । 
    परीक्षामा सहभागी ७२ जना विद्यार्थीमध्ये २ जनाले ४ जिपिए प्राप्त गरेका छन् । त्यस्तै ३.६१ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीको संख्या १९ रहेको छ भने ३.२१ भन्दा माथि जिपिए ल्याउने ३२ जना छन् । साथै २.८० भन्दा माथि जिपिए ल्याउने १९ जना विद्यार्थी छन् । विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको प्रिन्सिपल नरेश्वर आचार्यले बताए । 
    त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षाफलमा जिल्लाका ८ विद्यालयबाट ११ विद्यार्थीहरुले चार जिपिए प्राप्त गरेका छन् । अधिकांश विद्यालयले उत्कृष्ट चार जिपिए ल्याउने विद्यार्थीलाई मंगलबार नै एक कार्यक्रमका बीच सम्मान गरेका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको सामुदायीक विद्यालय बनेपा नाला ४ बाट चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका दुईजना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । निजी अर्थात संस्थागत तर्फ बनेपाको विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालय बनेपाबाट एक जना, पनौतीको नवरत्न अंग्रेजी माध्यमिक विद्यालयबाट एक जना, पाँचखालको नवप्रतिभा माध्यमिक विद्यालयबाट एक जना, बनेपा साँगाको नेपाल प्रहरी स्कुलबाट एक जना, श्रीखण्डपुरको एसओएस बालग्रामबाट दुई जना, बनेपाको सिद्धार्थ एकेडेमीबाट दुई जना र पनौतीको मल्पी इन्टरनेशनल स्कुलका एक विद्यार्थीले चार जिपिए प्राप्त गरेका थिए । सबै विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेका छन् ।