धुलिखेल/पनौती नगरपालिकाको वैशाख १७ गते बसेको कार्यपालिका बैठकले साविकको पनौती नगरपालिका क्षेत्रको कुनै पनि संरचना नबदल्ने निर्णय गरेको छ । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यद्यपि, उक्त निर्णय नगरसभामा प्रस्तुत हुनेछ । नगरसभाको दुईतिहाइ मतले संरचना बदल्ने निर्णय गरेको अवस्थामा बाहेक परिवर्तन हुन नसक्ने कानुनी तथा संवैधानिक व्यवस्था छ । पनौती नगरपालिकाको कार्यपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिहरू विजयी भएका थिए । कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । अघिल्लो कार्यकालमा साविक पनौती–१ लाई दुईवटा बनाउने निर्णय पनि यस पटक हुन सकेन । साविकका १२ वटा वडालाई यथावत् राख्ने तथा उप–महानगर अथवा महानगरपालिका बनाउने प्रस्तावमा पनि सहमति नजनाउने निर्णय गरिएको छ ।
जिल्लाका बनेपा, पनौती र धुलिखेल नगरपालिका सहित बेथान्चोक गाउँपालिकालाई समेटेर उप–महानगरपालिका बनाउने विषयमा छलफल सुरु भएको थियो । पनौतीको उक्त निर्णयपछि यो प्रस्ताव त्यत्तिकै सेलाउने अवस्थामा पुगेको छ । बनेपाले पनि अघिल्लो कार्यकालमा अलग्गै रहने निर्णय गरेको थियो । त्यतिबेला लक्ष्मीनरसिं बादे नगर प्रमुख थिए । धुलिखेलमा अघिल्लो कार्यकालमा तीनवटा नगरपालिका एकीकरण गर्ने प्रस्ताव नगरसभाले पास गरेको थियो । धुलिखेलमा अशोक व्याञ्जु नगर प्रमुख हुँदा सर्वसम्मतिले पास गरिएको निर्णय अन्य पालिकाहरूले सहमति नजनाएका कारण अघि बढ्न सकेको थिएन । खानीखोला र महाभारत, रोशी, तेमाल र नमोबुद्ध, पाँचखाल र मण्डनदेउपुर, भुम्लु र चौरीदेउराली तथा बनेपा, पनौती, धुलिखेल र बेथान्चोक गाउँपालिकालाई एकीकरण गर्ने गरी छलफल सुरु भएको थियो । सरकारले स्थानीय तहको पुनर्संरचनाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरी परिपत्र गरेको थियो ।









